राजनीति
राजतन्त्रको रुपमा किन शाहबंश नै चाहियो? तपाईंहरूले भनेजस्तो यदि राजतन्त्र पुर्नस्थापित नै भयो भने राजा चाहिँ को हुन्छ अब?
नेपालको एकिकरण नै शाहबंशबाट भएको हो। आधुनिक नेपालको निर्माणपछि शाहवंशीय राजसंस्था नेपालमा कायम रहँदै आयो। त्यसअघिको नेपाल फरक–फरक किसिमको थियो, मेचीदेखि महाकालीसम्मको नेपाल थिएन। साना–साना राज्य थिए। कहिलेकाहीँ अलिक ठूलो राज्य भएपनि फरक किसिमको थियो। नेपाल भन्ने त देश नै थिएन। यस्तो नेपाललाई शाहवंशले एकिकरण गरेको हुँदा राजसंस्थाको कुरा गर्दा शाहबंशीय उत्तराधिकारीकै परिकल्पना गरेका छौँ।
रह्यो, राजसंस्था पुनर्स्थापित भएपछि को राजा हुने भन्ने कुरा। यो हामीले मात्र निर्णय गर्ने विषय होइन, सबै राजनीतिक शक्तिहरु बसेर समझदारी गर्ने विषय हो। पृथ्वीनारायण शाहको बंशज हुनुपर्यो, त्यसपछि ज्ञानेन्द्र शाह राजा हुने वा नाति हृदयेन्द्र शाह राजा हुने भन्ने कुरा सबै राजनीतिक दलहरुको समझदारीमा गर्ने हो।
पारश शाह पनि ज्ञानेन्द्र र पृथ्वीनारायण शाहकै उत्तराधिकारी हुन्, उनी किन हुन सक्दैनन्?
पारश शाहको जुन किसिमको व्यक्तित्व रहेको छ, अहिलेको अवस्थामा उहाँको नाम अन्य राजनीतिक दलहरुका लागि मान्य हुन्छ भन्ने हामीलाई लाग्दैन। फेरि हामीले जुन किसिमको राजसंस्थाको कुरा गरेका छौँ, त्यो राजसंस्था २०६२–०६३ अघिको जस्तो होइन। हामीले राष्ट्रियता, राष्ट्रिय एकता र सांस्कृतिक एकताको प्रतिकको रुपमा सहमति र सम्झौताको राजसंस्थाको कुरा गरेका छौँ।
अब हुने राजगद्दी उत्तराधिकारी सम्बन्धी कानुन संसदले बनाउँछ, राजाले होइन। कुनै व्यक्ति उत्तराधिकारीका लागि अयोग्य छ भने अयोग्यताको निर्धारण संसदले गर्छ, दरवारले होइन।
‘गणतन्त्रपछि पहिलो पटक ज्ञानेन्द्रलाई राजा भनें’
भर्खरै पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गर्नुभयो, यी विषयमा पनि छलफल भयो कि?
राजसंस्थासहितको प्रजातन्त्र नेपालका लागि उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता राप्रपाको सैद्धान्तिक आस्थाको कुरा हो। त्यसैले, यो पार्टीले निर्धारण गर्ने विषय हो। स्वतन्त्र ढंगबाटै यो कुराको निर्धारण गर्छौँ। वास्तवमा हामी (राप्रपा) र मूलधारका अन्य दलहरुबीच त्यति ठूलो भिन्नता छ जस्तो लाग्दैन। आलोचनात्मक रुपमा भएपनि हामीले संविधानलाई स्वीकार गरेका छौँ, संविधानबाटै आफ्ना मान्यता स्थापित गर्ने विधि अवलम्बन गरेका छौँ।
लोकतन्त्रमा हाम्रो पनि त्यत्तिकै प्रतिवद्दता छ, जति अरु दलहरुको छ। हामीबीच असहमति ‘राजासहितको लोकतन्त्र’ कि ‘राजाविहीन लोकतन्त्र’ भन्नेमा मात्र हो। उहाँहरुले भनेबमोजिम अहिले ‘राजाविहीन लोकतन्त्र’ को अभ्यास भइरहेको छ, हामी ‘राजासहितको लोकतन्त्र चाहिन्छ’ भनिरहेका छौँ।
तपाईंले भनेजस्तै ‘मुलुकले राजाविहीन लोकतन्त्रको अभ्यास गरिरहेको छ’ तर, तपाईंले पोखरामा ज्ञानेन्द्र शाहसँगको भेटपछि ‘राजासँग भेट भयो’ भनेर ट्वीट गर्नुभयो। यो विरोधाभाष भएन?
त्यसअघि मैलेपनि ‘पूर्वराजा’ भन्ने शब्द नै प्रयोग गर्थेँ। पछि मलाई लाग्यो, राजा ज्ञानेन्द्र हटेपछि देशमा अर्को कोही राजा बनेको छैन। उहाँपछि नयाँ राजा आएको छैन। अहिले राष्ट्रप्रमुख नभएपनि अन्तिम राजा त उहाँ (ज्ञानेन्द्र शाह) नै हो नि।
त्यसैले, मलाई लाग्यो, उहाँलाई पूर्वराजा भनेर सम्बोधन गरिरहनु पर्दैन, राजा नै भन्दा हुन्छ। त्यसैले, त्यो शब्द प्रयोग गरेँ। हो, उहाँलाई ‘श्री ५’ शब्द प्रयोग गर्दा चाहिँ ‘पूर्व श्री ५’ भन्नुपर्छ। ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेँ भने, म पनि ‘पूर्व श्री ५’ नै प्रयोग गर्छु।
अहिले म संसदमा छैन। तर, म ‘पूर्व संविधान सभाको सदस्य’ होइन, संविधान सभाकै सदस्य हुँ। किनभने, अहिले संविधान सभा छैन। किनकी, त्यसपछि अर्को संविधान सभा बनेको छैन, बन्दापनि बन्दैन।
त्यसो भए पारश शाहलाई पनि ‘पूर्व युवराज’ नभनेर ‘युवराज’ नै भने भयो, हैन?
अहिलेको अवस्थासम्म त त्यही देखिन्छ।
ज्ञानेन्द्र शाह जहाँ जहाँ जान्छन्, तपाईंले त्यहीँ पुगेर भेटेको देखिन्छ। यो राजावादीहरुको संस्कार हो कि राजावादी हुनुको नाताले सिर्जित बाध्यता?
संस्कार पनि होइन, बाध्यता पनि होइन। यसमा कोहीपनि भ्रममा पर्नुपर्ने आवश्यकता छैन। उहाँ नेपालगञ्ज रहेका बेला म उपप्रधानमन्त्री थिएँ। सरकारी कामकाजको सिलसिलामा त्यहाँ पुगेको थिएँ। त्यसैले, भेटेको हुँ।
पोखरामा एक महिनाअघि नै निर्धारित प्रशिक्षणको कार्यक्रम थियो। राजा पोखरामै रहनुभएकाले शिष्टाचारका लागि जानुपर्छ भनेर गएको हुँ। त्यहाँ कोही पूर्व प्रधानमन्त्री वा अन्य कोही पूर्व राष्ट्रप्रमुख हुनुभएको भएपनि भेट्न जानु मेरो शिष्टाचारभित्रै पर्छ।
झन् मैले सम्मान गर्ने राजसंस्थाको प्रतिनिधि नै त्यहाँ भएपछि नजाने कुरा भएन।
पोखरा भेटपछि पूर्वराजा शाह देशको परिस्थितिबारे चिन्तित रहेको मात्र खुलाउनु भयो। खासमा यसपाली के के विषयमा छलफल भयो?
देशको समसामयिक अवस्थाको बारेमा विचार आदान–प्रदान भयो। पार्टीको गतिविधिका बारेमा पनि मैले जानकारी गराएँ। समग्रमा मुलुकको अवस्थाप्रति उहाँमा चिन्ता रहेको पाएँ। उहाँले ‘आफूले गद्दी छोडेर गएपछि परिस्थितिमा धेरै सुधार भएको भए, जनता धेरै खुसी भएको भए मैले चिन्ता गर्नुपर्दैनथ्यो। तर, देशको अवस्था झन् झन् जटिल देख्छु, यसले मलाई चिन्ता हुन्छ’ भन्नुभयो।
ज्ञानेन्द्र शाहमा ‘राजतन्त्र पुनर्स्थापना भएर फेरि गद्दीमा फर्कन्छु’ भन्ने आशा अझै छ?
यसबारेमा उहाँ एकदम निरपेक्ष रहेको मैले पाएको छु। यदि उहाँमा फेरि राजाका रुपमा फर्केर आउने उत्कट महत्वकांक्षा भएको भए उहाँको कार्यशैली, प्राथमिकता र योजना नै फरक ढंगबाट आउँथ्यो होला।
तपाईंहरू जसलाई फेरि राजा बनाउने एजेण्डा लिएर हिँड्नु भएको छ उनमा नै त्यस्तो महत्वकांक्षा छैन भने यो अभियानको औचित्य के त?
आफैपनि राजतन्त्र पुनर्स्थापनाका लागि राजा अलिक बढी क्रियाशील भइदिएको भए, राजनीतिक दलहरुसँग अलिक बढी सहकार्य गरिदिएको भए, राजनीतिक दलका नेताहरुसँग सम्बन्ध सुधार गरिदिएको भए हामीलाई पनि सजिलो हुन्थ्यो। तर, यतातिर उहाँ निरपेक्ष रहेको पाउँछु।
गणतन्त्र स्थापनाको १०–१२ बर्ष यता मैले उहाँलाई धेरै पटक भेटेको छु। भेटमा उहाँ भन्ने गर्नुहुन्छ– राप्रपाले राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोकेको छ, मेरो शुभेच्छा छ। मेरा लागि सबै राजनीतिक दल बराबर हुन्। नेपाली जनताले जे जिम्मेवारी दिएका छन्, त्यो निर्वाह गर्न म तयार छु। मैले देश छाडेर गएको छैन। कुनै अपराध गरेको छैन।
बारम्बार भेट भइरहेको देखिन्छ, कुरा त्यत्ति मात्रै हुन्छ?
उहाँले आफैले बोलाउने होइन, हाम्रै मान्छेले उहाँलाई भेट्न खोज्छन् क्या। अहिले पनि उहाँ पोखरामा हुनुहुन्छ, त्यहाँपनि स्वभाविक रुपमा राजसंस्थाप्रति आस्था हुने मानिसहरु नै जान्छन्। कोही उत्सुकतावस जालान्, केही आस्था राख्नेहरु जान्छन्। राजतन्त्रप्रति आस्था राख्नेहरु राप्रपाकै मानिस बढी छन्। त्यहाँ गएपछि भेटघाटको स्वभाविक आशा राख्छन्। र, भेटघाटको समय प्राप्त हुन्छ।
मलाई लाग्छ, अरु नेताहरुले पनि चाहनुभयो भने, उहाँहरुले पनि राजासँग भेट नपाउने भन्ने प्रश्न नै छैन। जहाँ जोसँग भेट भएपनि उहाँ तर्केर हिँडेको सुनेको छैन, भेटेर कुराकानी गरेकै सुनेको छु। हिजो (१० पुस) मा मात्रै नारायणकाजी श्रेष्ठसँग भेटघाट भएछ, पोखरा विमानस्थलमा। केही समय अगाडि सोल्टी होटलमा प्रकाशमान सिँहसँग भेट–कुराकानी भएको रहेछ।
भेटघाट र कुराकानीप्रति राजामा एकदम सहजता देखेको छु। हुनसक्छ, गोप्य रुपमा अरु नेताहरुले पनि भेटेका छन् कि। के ठेगान्!
पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्र अन्त्यलाई सहजरुपमै लिएजस्तो देखिन्छ, हैन?
नारायणहिटी छाड्ने दिन २९ जेठ (०६५) को उहाँको बक्तव्य हेर्दा राष्ट्रप्रतिको जिम्मेवारी र शाहवंशीय परम्पराको निरन्तरता अवरुद्ध भएकोमा पक्कैपनि चिन्ता छ। तर, राजसंस्था पुनर्स्थापनाकै निम्ति आफू सक्रिय भएर हिँड्दा मुलुक कतै भिडन्तमा जाने हो कि भन्ने चिन्तापनि भएजस्तो लाग्छ।
मलाई अहिलेपनि सम्झना छ, राजाले दरवार छाड्नुअघि, संविधान सभाको पहिलो बैठकबाट निर्णय हुनुअघि केही व्यक्तिहरुले राजासँग सम्पर्क–सम्बन्ध राखेर उहाँलाई उकास्ने प्रयास नगरेका होइनन्। तर, राजाले त्यसलाई महत्व दिनु भएन।
म त्यो बेला राजा नेतृत्वको सरकारमा थिएँ। म नाम लिन चाहन्नँ, तर, ८ बैशाख ०६३ मा राजाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको अफर गर्नुहुँदा, अहिले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगटेका एकाध व्यक्तिले ‘हामीलाई (प्रधानमन्त्री) बक्सनु पर्यो, परिस्थिति हामी सम्हाल्छौँ’ भनेका थिए।
त्यसो भन्नेहरुलाई उहाँले के भन्नुभएको थियो, म आफैँ त्यसको स्रोता हुँ। तपाईंसँग यो कुरा हुँदै गर्दा उहाँले ती नेतालाई भनेको कुरा अहिले झलझली सम्झिरहेको छु। उहाँले भन्नुभएको थियो, ‘मेरो त राजधर्म छ। त्यो राजधर्मको पालना मैले गर्नुपर्छ। आन्दोलनकारी दलहरुलाई नै मैले जिम्मेवारी दिनुपर्छ।’
२०६२–६३ अघि र पछि उहाँलाई डिमोनाइज (राक्षसीकरण) गर्ने काम भयो। उहाँबारे भ्रम सिर्जना गर्ने काम गरियो। राजा वीरेन्द्रको बंशनास गर्नेदेखि लिएर सधैँका लागि निरंकुश शासन स्थापना गर्न खोजेको भन्नेसम्मका आरोप लगाइयो।
मैले देखेको राजाहरुको बाध्यता वा समस्या के हो भने, आफूमाथि लागेको आरोपको आफैँले खण्डन गर्दै हिँड्न नमिल्ने, राजनीतिक दलका नेताहरुले चाहिँ उहाँको पक्षमा नबोलिदिने। यही कारण अहिलेपनि कतिपय मानिसमा उहाँबारे भ्रम छ। यद्यपी, समयक्रममा उहाँबारेका कतिपय भ्रम अहिले निवारण भइसकेका छन्।
पोखरामा भएको भेटबारे ट्वीट नै गरेर जानकारी दिने आवश्यकता किन देख्नुभयो?
काठमाडौँमा हुने नियमित भेटघाटलाई मैले सार्वजनिक नगरेकै हो। तर पोखरामा र नेपालगञ्जमा भएका भेटहरु नियमित भन्दा फरक भएकाले सार्वजनिक गरेको हुँ।
यी भेटघाट तपाईंकै चाहनामा बढी भएका हुन् त?
धेरै त मैले नै चाहन्छु नि!