logo शुक्रबार, साउन १५ २०८३ | Friday 31st July 2026

‘जेन-जी पुस्ताले अन्तर्राष्ट्रिय सम्बन्धप्रति चासो बढाउनुपर्ने’


  • राजनीति
  • शनिबार, कार्तिक २३ २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा. खड्ग केसीले जेन-जी पुस्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिको महत्वबारे बुझाउनुपर्ने बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक केन्द्रीय विभाग अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक विषयक र परराष्ट्र नीति सेमिनारमा बोल्दै डा. केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताए ।

“राजनीतिक दल र नेताहरुले जनताप्रति गरेको अपारदर्शी व्यवहारको आक्रोशित रुपबाट जेनजी आन्दोलन जन्मिएको हो । तर, युवाहरुले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रको कुटनैतिक महत्वबारे बुझ्न जरुरी रहेको देखेको छु । युवाहरुलाई यस विषयमा बुझाउनु हाम्रो दायित्व पनि हो,” उनले भने ।

प्राध्यापक डा. युवराज सङ्ग्रौला र पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. चन्द्रलाल पाण्डे जेनजी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. सङग्रौलाले जेनजी पुस्ताले चाहेको रुपान्तरणलाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिए। डा. पाण्डेले भने जेनजी आन्दोलन समग्र समाजले भोग्दै आएको असन्तुष्टिको नतिजा रहेको बताए। उनले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय अस्तित्व बलियो बनाउनतर्फ पनि कूटनीतिक सम्बन्धको चर्चा गर्न आवश्यक रहेकामा जोड दिए। पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

डा. हरिप्रकाश चन्दले अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यका बारेमा धारणा राखे । उनले विगतदेखि शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्दै अन्तरराष्ट्रिय कूटनीतिक विज्ञसँग साझेदारी गर्न आवश्यक रहेको बताए ।

उनले भने, “परराष्ट्रनीतिमा त्यससँग सम्बन्धी विज्ञमाझ छलफल र वैचारिक विमर्श हुन जरुरी छ । तर, हामीले परराष्ट्र नीतिलाई खासै महत्त्व दिएको पाइँदैन।”

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विद्यावारिधी (पिएचडी) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्ताले देशलाई अन्तरराष्ट्रियस्तर अब्बल बनाउने ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि देखाउन थालेका बताए। त्यस्तै अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख अपेक्षा शाह लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार