राजनीति
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई केवल संसद्को अंकगणितमा सीमित गर्न नहुने बताएका छन्। काठमाडौंको खुलामञ्चमा आयोजित पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान संशोधन राष्ट्रिय सहमति, एकता र जनभावनासँग जोडिएको विषय भएको उल्लेख गरे।
उनका अनुसार सरकारले संविधान संशोधनको प्रक्रिया व्यवस्थित र परिपक्व ढंगले अघि बढाएमा संविधानको मर्मअनुसार हुने मूल्यांकनमा नेपाली कांग्रेसले सरकारलाई साथ दिनेछ।
शर्माले संविधान संशोधन सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक स्वार्थमा मात्र सीमित हुन नहुने स्पष्ट पारे। उनले यसलाई संसद्को बहुमत र अल्पमतको गणितभन्दा माथि उठाएर राष्ट्रिय सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
उनले संविधान संशोधनका क्रममा जेनजी आन्दोलनको भावना, मधेश आन्दोलनका माग तथा विभिन्न समुदाय र भौगोलिक क्षेत्रबाट उठेका आवाजलाई समेत समेट्नुपर्ने धारणा राखे। संविधान संशोधनले समग्र राष्ट्रिय एकता र जनताको भावनालाई प्रतिबिम्बित गर्नुपर्ने उनको भनाइ थियो।