logo शनिबार, असोज १७ २०८३ | Saturday 3rd October 2026

गाउँको मञ्चदेखि ‘कमेडी च्याम्पियन’को टप १० सम्म : अभिषेक काफ्लेको उदाउँदो यात्रा !


  • राजनीति
  • बिहिबार, असोज १५ २०८३

पर्वतको बिहादी गाउँपालिका–६, जामुनेबाट राष्ट्रिय हास्यव्यङ्ग्यको ठूलो मञ्चसम्म पुगेका १८ वर्षीय अभिषेक काफ्लेले आफ्नो प्रतिभाको अर्को महत्वपूर्ण खुड्किलो पार गरेका छन्। चर्चित हास्यव्यङ्ग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को टप १० मा प्रवेश गर्दै काफ्लेले राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाएका हुन्।

नेपालभरबाट सहभागी सयौँ प्रतिभाबीच प्रतिस्पर्धा गर्दै काफ्लेले प्रारम्भिक चरण पार गरेपछि टप २५, टप १५ हुँदै टप १० सम्मको यात्रा तय गरेका हुन्। पर्वत जिल्लाबाट यस स्तरसम्म पुग्ने सम्भवतः पहिलो प्रतियोगीका रूपमा समेत उनको सहभागितालाई जिल्लाको कलाक्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सानै उमेरदेखि हास्यव्यङ्ग्यप्रति रुचि राख्दै आएका काफ्लेले अहिले राष्ट्रिय टेलिभिजन मञ्चमा आफ्नो प्रस्तुति दिइरहेका छन्। गाउँबाट सुरु भएको उनको कलायात्रा अहिले देशभरका दर्शकमाझ परिचित हुने अवसरसम्म पुगेको छ।

काफ्ले हाल काठमाडौंस्थित सरस्वती मल्टिपल क्याम्पसमा बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत छन्। अध्ययनसँगै हास्यव्यङ्ग्यलाई अघि बढाइरहेका उनले आफ्नो प्रस्तुतीमार्फत मनोरञ्जनसँगै सामाजिक तथा समसामयिक विषयलाई समेत अभिव्यक्त गर्ने प्रयास गर्दै आएका छन्।

टप १० सम्मको यात्रामा दर्शक, परिवार, साथीभाइ र शुभेच्छुकको साथ महत्वपूर्ण रहेको काफ्ले बताउँछन्। आगामी चरणमा अझ प्रभावकारी प्रस्तुति दिन आफूलाई दर्शकको साथ र भोट आवश्यक रहेको उनको भनाइ छ।

“अहिलेसम्म यहाँसम्म आइपुग्न दर्शक, परिवार, साथीभाइ र शुभेच्छुकहरूको साथले ठूलो भूमिका खेलेको छ। आगामी चरणमा पनि मेरो प्रस्तुति हेर्न चाहनुहुन्छ भने सक्दो भोट गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,” काफ्लेले भने।

अभिषेकको यात्रा अहिले व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि जिल्लाको युवा प्रतिभाको प्रतिनिधित्व गर्ने यात्राका रूपमा समेत हेरिएको छ। पर्वतको एउटा गाउँबाट सुरु भएको उनको हास्यव्यङ्ग्य यात्रा राष्ट्रिय मञ्चमा पुगेपछि जिल्लावासीमा पनि उत्साह थपिएको छ।


अब उनको लक्ष्य टप १० बाट अझ अगाडि बढ्दै प्रतियोगिताको अर्को चरणमा पुग्नु हो। त्यसका लागि उनको प्रस्तुति र प्रतिभासँगै दर्शकको भोट पनि महत्वपूर्ण बन्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार