राजनीति
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग पुनः सहकार्य गरेर लोकतन्त्रको संरक्षण र देशको विकासमा जुट्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आइतबार सम्बोधन गर्दै उनले कांग्रेस सभापति गगनकुमार थापासँग विगतमा पनि लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेको स्मरण गरे।
पोखरेलले त्रिचन्द्र क्याम्पसमा आयोजित सभादेखि नै आफूहरू एउटै आन्दोलनमा सँगै उभिएको उल्लेख गर्दै थापा कांग्रेसको नेतृत्वमा पुग्नु सकारात्मक भएको बताए।
उनले राणा शासन, पञ्चायती व्यवस्था र ज्ञानेन्द्र शाहको शासनविरुद्ध कांग्रेस र एमालेले मिलेर संघर्ष गरेको स्मरण गर्दै अहिले पनि लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तनका लागि दुवै दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
‘अब फेरि पनि मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको छ,’ पोखरेलले भने।
महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग संवाद र सहकार्य नगरी अघि बढिरहेको आरोपसमेत लगाए। प्रधानमन्त्रीले संसद् र जनताको आवाजलाई बेवास्ता गरिरहेको भन्दै उनले सरकारको कार्यशैलीलाई ‘स्वेच्छाचारी शासन’ को संज्ञा दिए।
उनले आगामी दिनमा कांग्रेसले यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। साथै, युवाहरूमा निराशा बढ्न नदिन र उनीहरूका आकांक्षा पूरा गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।
पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र आवश्यकतासँग जोडिएका मुद्दालाई प्राथमिकता दिँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने अपेक्षा पनि व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमाले दुवैले महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ थियो।