logo बुधबार, असोज २१ २०८३ | Wednesday 7th October 2026

सिफारिस १३ राजदूतविरुद्ध परे ५ उजुरी, मंगलबार खोल्ने तयारी


  • राजनीति
  • सोमबार, असोज १९ २०८३

संसदीय सुनुवाइ समितिमा सरकारले विभिन्न १३ देशका लागि राजदूत पदमा नियुक्ति गर्न सरकारले सिफारिस गरेका व्यक्तिहरूविरुद्ध ५ वटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समितिले सिफारिस व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न आह्वान गरेको समयसीमा सकिन एक दिन बाँकी रहँदा ५ वटा मात्र उजुरी परेको समितिले जनाएको छ ।

‘आज सोमबारसम्म ५ वटा उजुरी आएका छन् । यद्यपि हिजो र अस्ति सार्वजनिक बिदा भएकाले आज पनि उजुरी लिने प्रबन्ध छ’, समिति स्रोतले भन्यो,‘मंगलबार बस्ने समिति बैठकमा ती उजुरीहरू खोलिनेछ ।

उनका अनुसार मंगलबार बिहान सवा ११ बजे समितिको बैठक बोलाइएको छ । राजदूतमा सिफारिस व्यक्तिहरूको कार्ययोजना पनि सोही बैठकमा वितरण गर्ने तयारी छ । समितिको गत असोज ८ गतेको बैठकले सुनुवाइको प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा.पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ । संसदीय सुनुवाइपछि राजदूत नियुक्ति प्रक्रिया अघि बढ्ने समितिको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार