logo शुक्रबार, साउन १५ २०८३ | Friday 31st July 2026

छ जना राजदूतको म्याद थपियो


  • राजनीति
  • आइतबार, साउन १० २०८३

सरकारले एकातिर १३ मुलुकमा नयाँ राजदूत नियुक्त गर्न नसकिरहेको बेला म्याद सकिएर स्वदेश फर्कन लागेका आधा दर्जन राजदूतको म्याद थपिएको छ ।

बन्द गरिने निर्णय भएको ब्राजिलका लागि राजदूत निर्मलराज काफ्ले,अष्ट्रियाका लागि भरतराज रेग्मी, बंगलादेशका लागि घनश्याम भण्डारी, बहराइनका लागि तीर्थराज वाग्ले, इजिप्टका लागि सुशील लम्साल र म्यानमारका लागि हरिश्चन्द्र घिमिरेको कार्यकाल सरकारले एकमुष्ठ लम्ब्याएको छ । ल्याटिन अमेरिकाको एक मात्र मुलुक ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय बालेन सरकारले गरिसकेको छ । दूतावास बन्द गरेर सबै राफसाफ गर्न थप केही समय लाग्ने भएकाले पनि त्यहाँको हकमा राजदूतको म्याद थपिएको बताइन्छ ।

परराष्ट्र मन्त्रालयले क्याबिनेट निर्णयका नाममा ती दूतावासमा पठाएको पत्रमा भनिएको छ, ‘नेपाल सरकारको मिति २०८३ साउन ६ को निर्णयानुसार महामहिमको पदावधि नयाँ राजदूतको नियुक्ति सिफारिस भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त भएको १५ दिनसम्म कायम रहने ।’

गत भदौ २३ को प्रदर्शन र भोलिपल्टको विध्वंशपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले हतार हतार डेढ दर्जन मुलुकबाट राजदूत फिर्ता बोलाएको थियो । चैतमा गठित बालेन सरकारले खुल्ला प्रतिस्पर्धाबाट नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया थालेको महिनौं हुँदा पनि व्यक्ति छनौट गरेर नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन ।

अहिले थपिएका राजदूतहरुको म्यादले कार्की सरकार र बालेन सरकारको उद्देश्य,रवैया र कार्य पद्धतिमाथि नै प्रश्न चिन्ह उठाएको छ । हिजो हटाउन हतार,अहिले नियुक्ति गर्न अलमलको अवस्थाले छिमेकी मुलुकहरु भारत, चीनलगायत बेलायत, अमेरिका, जापानलगायत मुलुकमा नेपालका राजदूत महिनौंदेखि खाली छ ।

अहिले म्याद थपिएका छ जना राजदूतको पदावधि सकिन लागेको भन्दै परराष्ट्र मन्त्रालयले नयाँ राजदूत नियुक्ति प्रक्रियाका लागि सिफारिस पठाएको धेरै भइसकेको छ । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फाइल रोकेर राखेको अवस्थामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौमा म्याद सकिन लागेका परराष्ट्र सेवाका छ जना राजदूतको कार्यकाल लम्ब्याउने निर्णय गरेको हो ।

कार्यकाल पूरा हुन लागेका राजदूतको स्थानमा परराष्ट्र मन्त्रालयबाटै राजदूतको लाइनमा रहेका कुमार खरेल,भृगु ढुंगेल, गणेश ढकाल,दिलिप पौडेल र विष्णु गौतमको नाम पर्ने पक्कापक्की झैं छ । प्रधानमन्त्री कार्यालयको पछिल्लो निर्णयप्रति परराष्ट्रका कर्मचारीले आक्रोश पोखेका छन् । भन्छन्, ‘एकातिर म्याद नसकिँदै राजदूतहरूलाई ताकेता गरेर फिर्ता बोलाइयो । अर्कोतिर म्याद सकिन लागेकाहरूको कार्यकाल थपियो । नियुक्तिका लागि पालो कुरेर बसेकाहरुको फाइल अड्काइयो ।’

बालेन्द्र शाह नेतृत्वको सरकारले ६ जनासमेत गरी गत १० महिनामा १७ जना राजदूत फिर्ता बोलाइएको छ । विभिन्न राजदूतावासमध्ये चार वटा खारेज गरिएको छ । जेठ १४ गते राजदूत छनोटका लागि आह्वान गरिएको विज्ञापनमा चार हजारभन्दा बढीको आवेदन परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार