राजनीति
उनी २०३१ सालमा पहिलो पटक नेकपा मसालको महामन्त्री निर्वाचित भएका थिए। त्यतिबेला उनी ३९ वर्षका थिए। पञ्चायती व्यवस्थाविरुद्ध लडिरहेको उनको पार्टी भूमिगत थियो।
५० वर्ष बित्यो। वैशाख ३ मा उनी ९० औँ जन्मदिन मनाउँदैछन्। जन्मदिनको उपहार उनले अग्रिम पाइसकेका छन्। यसैसाता उनी पुनः पार्टीको महामन्त्री चुनिएका छन्।
र, उनको पार्टी अझै भूमिगत नै छ। यो ५० वर्षको अवधिमा मोहनविक्रम सिंह निरन्तर मसालको नेतृत्वमा छन्। यसरी पाँच दशक पार्टी हाँक्ने उनी नेपालको एक मात्र नेता हुन्।
उनलाई बुढेसकालमा आराम गर्न नदिएर पार्टीले किन नेता चुन्यो त?
‘काम गरेको पृष्ठभूमिका आधारमा नीति तथा कार्यक्रममाथिको विश्वास हो,’ सिंहले भने, ‘लिएको विचार सही भएको आधारमा हो।’
सिंहलाई चैतको अन्तिम साता काठमाडौँमा भएको नवौँ महाधिवेशनले फेरि महामन्त्रीमा निर्वाचित गरेको हो। पाँच दिनसम्म चलेको महाधिवेशनमा स्वदेश तथा प्रवाससमेतबाट करिब ६ सय महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक उपस्थित थिए।
मोहनविक्रम सिंहअघि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुल्सीलाल अमात्यले कम्युनिस्ट पार्टीको नेतृत्व गरेका थिए। उनीहरु नेपालका पहिलो पुस्ताका कम्युनिस्ट नेता थिए।
त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ताको नेतृत्व सिंहले गरे र थुप्रै नेता, कार्यकर्ता जन्माए। अधिकांश शिष्य उनलाई छाडेर लाखापाखा लागे, आआफ्नै पार्टी बनाए। फुटाए, मिसाए। कहिले ठूलो, कहिले सानो पार्टीको नेता बने।
तर, त्यसले सिंहलाई कुनै फरक पारेन। उनी निरन्तर आफ्नो सानो पार्टी रुँगेर बसिरहेका छन्, पार्टीको सर्वोच्च नेता कायम छन्।
राजनीतिक लेखक खगेन्द्र संग्रौलाले भने सिंहमाथि समाजिक सञ्जालमा तिखो व्यंग्य गरेका छन्, ‘मोहनविक्रम सिंह सोह्रौँपटक मसालको महामन्त्री चुनिएछन्! चुनिने मोहनजी, चुन्ने चित्रबहादुरजी र दुर्गाजी! हे हरि!’