logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

जनता,बन्दुक र सेनालाइ एकतावद्ध बनाउने कुरा नै एकीकृत जनक्रान्ती हो ।

भरत वम 'रणबिर' , पोलिट्ब्युरो सदस्य नेपाल कम्युनिस्ट पार्टी


  • राजनीति
  • शुक्रबार, असोज ६ २०७४

गएको भदौ १३ गते पार्टीका महासचिव कमरेड विप्लवले केन्द्रीय स्कुलिङको उद्घाटन गर्दै भन्नुभयो, ‘ प्रतिकूल परिस्थितिमा मालेमाको विकास भयो र क्रान्ति सफल भए तर अनुकूल परिस्थितिमा त्यसमा प्रश्न उठाइयो र ढले, किन ? नेपालमा किन क्रान्ति भएन ? के फेरि क्रान्ति सम्भव छ ? यो के समस्या हो ? वस्तुतः यो भनेको विश्व दृष्टिकोण, मालेमा र क्रान्तिको कार्यदिशा विकास र लागू गर्ने समस्या हो । त्यसैले हाम्रो स्कुलिङले विश्वदृष्टिकोण र एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा र यसलाई लागू गर्नेबारे प्रशिक्षित गर्नु पर्दछ र यसलाई तल पार्टी सदस्य हुँदै जनतासम्म लैजानुपर्छ ।’ यसरी दिशानिर्देश गरेपछि काठमाडौँको एक गाउँमा जनताको बीचमा एक सातासम्म केन्द्रीय स्कुलिङ सुरु भयो जहाँ देशैभरिका नियमित २३ जना प्रशिक्षार्थी, ७ जना प्रशिक्षक र व्यवस्थापक गरेर ३५ जनाको उपस्थिति रहेको थियो भने केही विषयगत विशेषज्ञ अथिति प्रशिक्षकलाई पनि सहभागी गराइएको थियो । यसरी जनश्रममा जोडिँदै भदौ २० गते जनतासँगको अन्तरक्रियासहित स्कुलिङ समापन भयो । स्कुलिङका विषयहरू सदाझैँ मालेमावादका तीन सङ्घटक अङ्ग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद जसअन्तर्गत सैन्य विज्ञान, सूचनासञ्चार तथा विज्ञानप्रविधि र सौन्र्दयशास्त्रका बारेमा स्कुलिङ भयो । क्रमशः स्कुलिङ विभाग इन्चार्ज कमरेड सुदर्शनले दर्शनशास्त्र, कमरेड रणवीरले वैज्ञानिक समाजवाद, कमरेड गम्भीर र अथिति प्रशिक्षक प्रा. रमेश शर्मा, डा. गोपाल शिवाकोटी ‘ चिन्तन’ ले राजनीतिक अर्थशास्त्र, कमरेड प्रज्वलनले सैन्य विज्ञान, कमरेड गुणराजले सूचना–सञ्चार तथा विज्ञान– प्रविधि र कमरेड शङ्करले सौन्र्दयशास्त्रबारे स्कुलिङ दिनुभयो । विगतका कम्युनिस्ट स्कुलिङले कम्युनिस्टप्रति आकर्षण ल्यायो र आन्दोलनको विकास त गरायो तर त्यसले न कम्युनिस्ट आन्दोलन एकीकृत गर्न सक्यो, न त सफल नै गर्न सक्यो । पछिल्लो कम्युनिस्ट आन्दोलनको उत्कर्ष माओवादी जनयुद्ध थियो । त्यो पनि सफल भएन । त्यसैले ती विगतका स्कुलिङको सकारात्मक पक्ष ग्रहण गर्दै अपूर्णतालाई पूर्ण बनाउन स्थापित यो नयाँ स्कुलिङ हो । यो नयाँ स्कुलले विगत स्कुलिङझैँ मालेमावादको अध्ययन, अनुसन्धान र प्रयोगमा मात्रै हैन, मालेमावादको विकास, अध्ययन, अनुसन्धान र प्रयोगको विशेषता बोकेको छ ।

यो उत्तरसाम्राज्यवाद, संशोधनवाद, नवसंशोधनवाद र जडसूत्रवादविरोधी स्कुल हो । यो मालेमाको विकास एकीकृत जनक्रान्तिको नयाँ स्कुलिङ हो । अहिले पार्टीले ‘संसारलाई बुझ्ने र बदल्ने मात्रै ठूलो कुरा हैन, बरु बदलिएको संसारको रक्षा र निरन्तर विकास आवश्यक छ’ भन्ने नयाँ विकसित दार्शनिक मान्यतासहित अगाडी सारेको ‘उत्तरसाम्राज्यवाद’, ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’ र ‘वैज्ञानिक समाजवादी क्रार्यक्रम’ लाई मालेमावादको विकासमा दूरगामी महत्वको सकारात्मक प्रयास मानेको छ । तर आलोचकले यसलाई मालेमाबाट विचलन भनेका छन् । इतिहासमा झैँ मालेमावादको विकासका निम्ति विरोधी विचार, सिद्धान्तविरुद्धको सङ्घर्ष अनिवार्य नै हुनेछ । त्यसैले यी विषयमा सङ्क्षिप्त रूपमा केही भन्न आवश्यक छ । सामाजिक क्रान्तिको विज्ञान तथा मानवीय ज्ञानका क्षेत्रमा आजसम्मको सबैभन्दा वैज्ञानिक विश्व दृष्टिकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै हो । यो दर्शन तथा विश्वदृष्टिकोणको संश्लेषण कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले गर्नुभयो जसमा संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्रै हैन बरु बदल्ने मुख्य कुरा हो भनियो । यसरी समाजवादी साम्यवादी दिशामा संसारलाई बदल्ने अवधारणासहित दर्शनमा माक्र्सले क्रान्ति ल्याउनुभयो । परिणामतः क्रान्ति भए विश्वको दुईतिहाइ भूभागमा समाजवाद आयो । समाजवादी नभनी कोही पनि नटिक्ने स्थिति पैदा भयो तर विडम्बना ! एकातिर समाजवादी सत्ता गुमे, क्रान्ति प्रतिक्रान्तिमा बदलिए र विजयको नजिक पुगेका क्रान्ति पनि धक्का खाँदै असफल भए । समग्रमा कम्युनिस्ट आन्दोलनले धक्का खायो । अनि साम्राज्यवादी विचारकले इतिहासको अन्त्यको घोषणा गरे भने अर्कोतिर पुँजीवादी तथा साम्राज्यवादीहरूले कम्युनिस्टहरूबाट सिक्दै आफ्नो दर्शन, विचार र राजनीतिमा निरन्तर विकास गरे । परिणामतः प्रतिक्रान्ति गर्न सफल भए । गुमेको संसार र सत्ता फिर्ता गरे र अहिलेसम्म टिकाइरहेका छन् । पछिल्लो समय माओले माक्र्सको ‘संसार बदल्ने अवधारणा’ सहितको दार्शनिक विश्वदृष्टिकोणमा विकास गर्नुपर्ने आवश्यकताबोध गर्दै ‘सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य विश्वदृष्टिकोणको समस्या समाधान गर्नु हो’ भन्नुभयो तर पनि हाम्रो विचारमा त्यो कार्यभार अधुरो नै रह्यो । त्यसैले हाम्रो पार्टीका महासचिव कमरेड विप्लवका तर्फबाट त्यो अधुरो कार्यभार पूरा गर्न र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन एक विज्ञान हुनुले यसको पनि निरन्तर विकास हुने मान्यता र विश्वाससहित ‘संसारलाई बुझ्ने र बदल्ने मात्रै हैन, बरु बदलिएको वस्तुको रक्षा र निरन्तर विकास मुख्य हो’ भन्ने अवधारणा अगाडी सारिएको छ । यो दूरगामी महत्वको नयाँ दार्शनिक संश्लेषण हो जसले प्रतिक्रान्तिको सामना गर्दै साम्यवादसम्म मानवसमाजलाई दिशानिर्देश गर्न सक्छ । आजको विश्वलाई कसरी हेर्ने र बुझ्ने त ? के साम्राज्यवाद लेनिन र माओको पालाको जस्तो छ ? अवश्य पनि छैन । त्यो निरन्तर गति र विकासमा छ र लेनिनले विश्लेषण गरेको ‘साम्राज्यवादको एकाधिकारवादी, परजीवी र मरणासन्न चरित्र’ गति र विकासको नियमानुसार नै तीव्रतर रूपमा व्यापक बन्दै गएको छ जसले वित्तीय पुँजीवादी र निगम पुँजीवादी चरित्र ग्रहण गरिरहेको छ परिणामतः सीमित व्यक्तिहरूको हातमा संसारको आधा पुँजी केन्द्रित भएको छ । तिनीहरू संसारको राजनीतिलाई प्रभावित गरिरहेका छन् अनि पुँजीको अझ धेरै केन्द्रीकरणमा अव्यस्त छन् र त्यो पुँजीको रक्षार्थ युद्धको सहारा लिन बाध्य छन् । हो, यो नयाँ अवस्थालाई साम्राज्यवादकै परिभाषाले समेट्न सक्दैन, त्यसैले पार्टीले पछिल्लो साम्राज्यवादको परिवर्तीत स्वरूपलाई उत्तरसाम्राज्यवाद भनेर परिभाषित गरेको छ । यहाँ प्रश्न पुँजीवाद तथा साम्राज्यवादको नयाँ रूप छ कि छैन ? भन्ने नै हैन, बरु साम्राज्यवादको वर्तमान नयाँ रूपलाई सबैले मानेर पनि त्यसलाई कसरी कुन रूपमा परिभाषित वा संश्लेषण गर्ने भन्ने हो । त्यसैले पार्टीले सापेक्षिक रूपले उत्तरसाम्राज्यवादको परिभाषा तथा संश्लेषण सही ठानेको छ । यहाँ शब्द तथा पदावली प्रयोगको मात्रै कुरा गर्ने हो भने उत्तरअवधारणाको प्रयोगको दुई अर्थ वा उद्देश्य बुझिन्छ ।

पहिलो हो : साम्राज्यवादलगायत सबै वस्तुहरू पुरानो अवस्थामा छैनन् र ती निरन्तर गतिशील, परिर्वतनशील छन् र तिनलाई नयाँ रूपमा परिभाषित गर्नुपर्छ भन्ने तथ्यको स्वीकारोक्ति । दोस्रो महत्वपूर्ण कुरा के हो भने यो कम्युनिस्ट दर्शन, विचार र राजनीतिको अन्त्यको घोषणा गर्दै सङ्कटग्रस्त साम्राज्यवादको रक्षार्थ कम्युनिस्टलगायत सबै विरोधीसँग लड्ने हतियारका रूपमा । यहाँ साम्राज्यवाद पनि गतिशील हुने तथ्यलाई स्वीकार्दै साम्राज्यवादले कम्युनिस्टविरुद्ध प्रयोग गरेको उत्तरअवधारणाको हतियार खोसेर उसकैविरुद्ध प्रयोग गर्दै साम्राज्यवादको अन्त्यको घोषणा गर्न आवश्यक भएकाले उत्तरसाम्राज्यवादको परिभाषा गरिएको हो । जस्तो कि राइफललाई तपाईं के भन्नुहुन्छ ? यो जनताले बनाउँछ तर शासकले जनता दमन गर्न प्रयोग गर्छ । फेरि ठीक ढङ्गले जनताले प्रयोग गरे भने शासकको अन्त्य गरिदिन्छन् । लेनिनले त झन् साम्राज्यवादको संश्लेषण गर्दा सामन्तवादी युगको प्रतिनिधित्व गर्ने शब्द प्रयोग गरेको हो तर ठीक ढङ्गले प्रयोग गर्दा अक्टुबर क्रान्ति भयो । आज हामीलाई २१ औँ शताब्दीमा नयाँ क्रान्ति आवश्यक छ– न कि बुद्धिविलास र शब्दको खेल । त्यसैले उत्तरसाम्राज्यवादको संश्लेषण गरिएको हो । एकीकृत जनक्रान्तिको कार्यदिशा पछिल्लो विकसित समाजका सातवटा विशेषतासहित संश्लेषण गरिएको नयाँ कार्यदिशा हो, गाउँ र सहरको एकीकरणद्वारा पैदा भएको भूमण्डलीकृत एकाइ, नयाँ श्रमिकवर्ग–मध्यम वर्गको उदय, सूचना सञ्चार तथा विज्ञानप्रविधिको विकास यी नेपाललगायत विश्वव्यापी विशेषता हुन् भने नेपाली समाजका विषेशता नेपाली समाजको मिश्रित सामाजिक बनोट, देशभक्त शक्तिको उपस्थिति, दलाल पुँजीवाद र भूपरिवेष्ठित मुलुक गरेर सातवटा विशेषताका कारण एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण गरिएको हो । यो कार्यदिशा सशस्त्र जनविद्रोह र दीर्घकालीन जनयुद्धका सार्वभौम मान्यतालाई लिएर पछिल्लो विकसित उपरोक्त विशेषतालाई आधार बनाइ विकास गरिएको नयाँ कार्यदिशा हो । यो कार्यदिशाको वैज्ञानिकता तीनवटा मानकद्वारा पुष्टि गर्न सकिन्छ ः एक, मालेमावादको सार्वभौम पक्ष बल प्रयोगको अनिवार्यता अथवा जनविद्रोह र जनयुद्धका सार्वभौम पक्षलाई आत्मसात गरेको छ कि छैन ? दोस्रो, पछिल्लो विकसित परिस्थितिलाई ठीक ढङ्गले सम्बोधन गरेको छ कि छैन ? र तेस्रो, नीति र नेतृत्वको अन्तरसम्बन्ध अथवा नेतृत्वको क्रान्ति सम्पन्न गर्ने उद्देश्य हो कि हैन ? यी तीनवटै मानकबाट हेर्दा यो कार्यदिशा सही र वैज्ञानिक छ । ठोस रूपमा, एकीकृत जनक्रान्तिले श्रमिक उत्पीडित जनता, बन्दुक र सेनालाई एकीकृत गर भन्छ । अन्तिम कुरा, भौतिक विज्ञानमा स्टेफन हकिन्सले सापेक्षतावाद र अनिश्चिततावादको सिद्धान्तलाई लिएर एकीकृत भौतिकीको सिद्धान्त अघि सारेका छन् जसले समाज विज्ञानमा एकीकृत जनक्रान्तिको संश्लेषणलाई एक नयाँ आधार पद्रान गरेको छ ।

नेपाली समाजको अहिलेको स्वरूप के हो ? नेपाली जनताको पध्रान अन्तरविरोध कोसँग छ ? यसबारे विचार गर्दा, नेपाली समाजको स्वरूप अर्धसामन्ती तथा अर्धऔपनिवेशिकबाट नवउपनिवेशिक बनिसकेको छ र नेपाली जनताको पध्रानअन्तरविरोध दलाल पँुजीवादसँग रहेको छ । एकातिर नेपाली समाजको यो परिवर्तन र अर्कोतिर उत्तरसामा्रज्यवादको कारण पार्टीले जनवादी कार्यक्रमका केही अंशसहित मूलभूत रूपमा समाजवादी कार्यक्रम तथा रणनीति अघि सारेको छ । अझ त आवश्यकता सामा्रज्यवादलाई परास्त गर्न साम्यवादी नीति र कार्यक्रमद्वारा हमला गर्नु पर्नेछ । समाज विकसित छ, विरोधीहरू गतिमा छन् । त्यसैले पँुजीवादको विकल्प पँुजीवाद हनु सक्दैन किनकि जनवाद भनेको राष्ट्रिय पँुजीवाद नै हो । दलाल पँुजीवादको विकल्पमा वैज्ञानिक समाजवाद अगाडी सार्नु उपयक्तु हन्ुछ । यहाँ काङ्गे्रस र माकेले समाजवाद भन्छन् भनेर रिस र चिन्ता मान्ने होइन, बरु हामी कम्युिनस्टहरूले जब सक्कली समाजवाद–वैज्ञानिक समाजवाद अगाडी सार्छौं तब उनको त्यो नक्कली समाजवाद परास्त हनुेछ । उत्तरसाम्राज्यवाद, एकीकृत जनक्रान्तिको कार्यदिशा, समाजवादी कार्यक्रम र पार्टीको नामसहितलाई लिएर पनि आलोचकहरूले जसरी १०० प्रतिशत विश्वाससहित मालेमावादको विचलन भनिरहेका छन् ठीक त्यसरी नै हामी यसलाई २०० प्रतिशत विश्वाससहित मालेमावादको विकास भनिरहेका छौँ किनकि हामीले जनयुद्धमा बगेको रगत, आँसु र पसिनाको मूल्य खोजेका छौँ । अधुरो क्रान्ति पूरा गर्न फेरि सहिद हुने कसम खाएका छौँ । यसो गर्दा हामीमाथि लगाइएका अवाञ्छित लाञ्छनाको खण्डन गर्न चाहेका छौँ र व्यवहारतः प्रमाणित र पुष्टि गर्न चाहेका छौँ ।

रातोखवर बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार