logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

रेशम फिरिरी : ५० वर्ष पुरानो गीत कसरी संसारभरी फैलियो ?


  • एजेन्सी
  • बिहिबार, चैत्र २८ २०७५

जब दिप्ती डि’कुन्हा सन् २०११ मा सिक्किम भ्रमणमा गइन् तब आफूलाई जताततै एउटै गीतले मात्रै पछ्याएको पाइन् । एक पटक सुन्दा नै गुन्गुनाउन सकिने यो गीतको लयले प्रत्येक पटक उनको मुडलाई परिवर्तन गरेको पाइन् । उनलाई यो गीतको दुईवटा शब्द मात्रै गुन्गुनाउन आउँथ्यो ‘रेशम फिरिरी, रेशम फिरिरी’ । ‘यो गीतको लय मस्तिष्कमा बसिहाल्ने किसिमको थियो र यो जताततै छ भन्ने भान हुन्थ्यो,’ मुम्बईमा बस्ने फिल्म प्रोग्रामर दिप्तीले भनिन् । ‘मलाई यो गीतले मन्त्रमुग्ध पारेको थियो, त्यसकारण म यो जताततै सुन्न चाहन्थेँ ।’

पहाडतिर जिपमा यात्रा गर्दा दिप्तीले उनका साथी चेतनराज श्रेष्ठलाई गीत बुझाइदिन आग्रह गरिन् । दिप्तीको आग्रहले चेतनलाई सोचमग्न बनायो । सिड्नीमा बस्ने यी लेखक नेपाली लोक भाकामै हुर्किएका थिए । ‘यो लयले सबैतिर जरा गाडेको थियो,’ उनले इमेल अन्तरवार्तामा भने । ‘मलाई यो गीतको शब्द थाहा थियो तर यसबारे कहिले पनि प्रश्न गरिनँ ।’

दिप्तीका लागि गीत अनुवाद गर्ने उनको प्रयासले उनलाई उनको उपन्यास ‘ओपन एन्ड सट केस’का लागि मार्ग प्रशस्त गर्यो ।

दिप्तीजस्तै एक युरोपेली पर्यटक पनि नेपालबाट सिक्किमको यात्रामा थिए । उनलाई पनि रेसम फिरिरीले यसरी कैद गर्यो कि उनी पनि यो गीत जताततै सुन्न चाहन्थे । अरू यात्रीसँग ट्याक्सीमा यात्रा गर्दा पनि उनले ड्राइभरलाई रेसम फिरिरी नै बजाउन भन्थे र सँगै बसेका अन्य यात्रीलाई गीत बुझाइदिन भन्थे ।

जो विदेशी पर्यटकले गीतको भाव बुझाइदिन नेपाली भाषीलाई आग्रह गरे उनीहरुले आफ्नो अनुभव सुनाएका छन् । गीतको भाव बुझेपछि उनीहरु निकै हाँसेको, पत्याउनै नसकेको र निराश भएको उनीहरुले बताए । उनीहरुका अनुसार यो गीतमा अचम्मका अभिव्यक्ति छन्, अनुक्रम मिलेका छैनन् र अनावश्यक प्रतिविम्ब राखिएका छन् । यसमा कुनै तर्कसङ्गत व्याख्या छैनन् र यसको अर्थमा सहमत पनि हुन सकिँदैन । तर यति हुँदाहुँदै पनि यसलाई नेपालको सबैभन्दा चर्चित गीत बन्नबाट कसैले पनि रोक्न सकेको छैन ।

रेसम फिरिरी नेपालमा मात्रै नभई भारत विशेषगरी दार्जिलिङ, सिक्किम, आसाम र भुटानमा समेत फैलिएको छ । यी ठाउँमा हज्जारौं नेपालीभाषी भएकाले पनि यो गीतले चर्चा पाएको हुनसक्छ । तर यो गीत नेपाली भाषा बुझ्नेहरु माझ मात्रै नभई, संसारभरी नै चर्चित छ । जापानी गायिका ओई सानोदेखि दक्षिण कोरियाली सङ्गीतकार नार्साको फ्युजन होस् वा भारतका आर्को मुखर्जीको रेगाई–स्टाइल भर्सनमा होस्, रेसम फिरिरी एउटा संस्कृतिबाट अर्को संस्कृतिमा निकै सहज यात्रा गरिरहेको छ । सन् २०१८ मा जर्मनीका स्टटगार्ट च्याम्बर ओर्केस्ट्राका ४७ सदस्यले यो गीतलाई निकै शास्त्रीय ढङ्गमा प्रस्तुत गरेको थियो ।

‘यसको ट्युन (धुन) निकै उत्कृष्ट छ,’ कोलकाता ब्यान्ड फिड्लर्स ग्रिनका सदस्य मुखर्जील भने । ‘यो विभिन्न रूपमा संसारको सबै क्षेत्रमा फैलिएको छ । सुजाना (द आर्ट कम्पनीको गीत) मा पनि रेसम फिरिरी छ ।’

उत्पत्तिः

यो गीत कहिले रेकर्ड भएको थियो, त्यो कसैलाई थाहा छैन । धेरैले यो गीत सन् १९६९ मा रेकर्ड गराएको विश्वास गर्छन् । ‘रेडियो नेपालबाट प्राप्त जानकारीअनुसार यो गीतको सिरियल नम्बर २६ हो र टेप नम्बर ८४६ । यसबाट यो अनुमान गर्न सकिन्छ कि यो गीत ६० को अन्तिम वा ७० को सुरुवाती दशकमा रेकर्ड गरिएको हुनसक्छ,’ काठमाडौंका सङ्गीतकार आभाषले भने ।

रेडियो नेपालमा यो गीत सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतको आवाजमा रेकर्ड गरिएको थियो । यसलाई सारङ्गी, बासुरी र मादलले सङ्गीतबद्ध गराइयो । श्रेष्ठले सङ्गीतकार द्वारिकालाल जोशीसँग मिलेर पनि यो गीत रेकर्ड गराएको बताइन्छ तर उनीहरुबीचको यो समन्वय समयसँगै हरायो । यो गीतका कोही पनि स्रष्टा अहिले जीवित छैनन् ।

यो गीतलाई पोखराका गायक एवं सङ्गीतकार बुद्धि परियारले सम्भवतः ६० को दशकको मध्यतिर रचना गरेका थिए । परियारको नाच्ने कला देखेर भारतीय नायक जितेन्द्रले उनलाई बम्बे आउन निम्तो दिएको बताइन्छ । साथै, राजा वीरेन्द्रले उनलाई पुलिस ब्यान्डको काम सुम्पिएका थिए भन्ने जानकारी उपलब्ध छ । तर अन्त्यमा, उनले आफ्नो करियर सङ्गीतमा नै बनाए ।

‘मलाई थाहा छैन, मैले कसरी रेसम फिरिरी लेखेँ,’ परियारले अमृत गुरुङलाई भने । नेपथ्यका गायक अमृत कामअनुसार परियारसँग सन् १९९० मा भेट्दा उनले यस्तो बताएका थिए । त्यतिबेला परियारले आफूलाई गीतबारे दिएको जानकारी सम्झँदै अमृत भन्छन्, ‘पोखरा भञ्ज्याङमा आयोजित एक विवाह कार्यक्रममा सरिक हुन उहाँहरु निकै हिँड्नुपरेको रहेछ । लामो हिँडाइपछि उहाँहरु निकै थाक्नुभएको थियो । विवाह स्थल पुगेपछि बाटोमा हिँड्दाको अनुभव सँगाल्दै तत्काल उहाँले उक्त गीत रच्नुभएको रहेछ ।’

तर रेसम फिरिरीको अर्थ के हो ? यो प्रश्न अहिलेसम्म पनि व्याप्त छ । यसलाई प्रश्नोत्तर वेबसाइट कोराले पनि राखेको छ ।

एक समीक्षाका अनुसार रेसम फिरिरीको निकै रोमान्टिक मेसेज छ । रेसम भनेको एक प्रकारको ‘सिल्क’ हो र फिरिरीको अर्थ फर्फराउनु हो । रेसम फिरिरीको अर्थ कुनै रेसमको स्कार्फ वा त्यससँग सम्बन्धित वस्तु हावामा फरफराउनु हुनसक्छ अथवा मुटु रेसमझैँ हावामा झुल्नु पनि हुनसक्छ ।

तर परियारका गायक एवं सङ्गीतकार छोरा धर्मेन्द्र सेवानले रेसम फिरिरीको सम्बन्ध सिल्क वा फरफराउनुसँग सम्बन्धित नभएको बताउँछन् । ‘वास्तवमा यो एउटा किरा हो, मौरीजस्तो किरा,’ उनले फोनमार्फत् भने ।

यसबारे उनले जानकारी दिए, ‘मेरो बुबाले यो गीत निकै टाढा रहेको साथीको घर जाँदा लेख्नुभएको हो । उहाँहरु पहाड छिचोल्दै हिँड्नुभएको थियो । त्यति नै बेला एउटा किरा उनकै नजिक भएर उड्यो र उहाँले आफू पनि त्यस्तै किराजस्तो हुन पाए, फर्फराउँदै आफ्नो गन्तव्यमा चाँडै नै पुग्ने थिएँ भन्ने सोच्नुभएको थियो । ’

‘उहाँको यही सोच गीतको पहिलो तीनवटा लयमा परिणत भए,’ सेवानले भने । त्यसपछिका शब्द पछि बुनिएका हुन् ।

सङ्गीतकार आभाषका लागि रेसम फिरिरी एक आदर्श लोकगीत हो । ‘लोकगीतको मुख्य विशेषता भनेको यसको सरलता र स्थानीय जीवनलाई प्रतिविम्बित गर्ने क्षमता हो,’ उनले भने, ‘रेसम फिरिरीले हाम्रो नेपाली जीवन कैद गर्न सफल भएको छ, पहाडी जीवनलाई निकै राम्रो ढङ्गले प्रस्तुत गरेको छ । यसमा मायाको प्रतिबिम्ब पाइन्छ । निकै कष्टपूर्ण समयमा पनि हाँस्न र रम्न सक्नु नै हाम्रो विशेषता हो ।’

दिप्तीलाई गीतको अनुवादले निराश पारे पनि यो उनको लागि विशेष छ । यो गीतले उनलाई दुबईको निषेधित क्षेत्रमा डकुमेन्ट्री सुटिङ गर्न सहयोग गर्यो । ‘त्यहाँका एक कर्मचारी नेपाली थिए,’ उनले भनिन्, ‘मैले उनलाई आफूलाई रेसम फिरिरी गीत थाहा भएको र उनलाई केही लाइन गाइदिन आग्रह गर्दा उनले सहयोग गर्नसक्ने अनुमान गरिन् । उनको अनुमानले मूर्त रूप लियो ।’

श्रेष्ठको उपन्यास ओपन एन्ड सट केसमा रेसम फिरिरीलाई नेपाली ‘ट्विङकल–ट्विङ्कल लिटल स्टार’ बताइएको छ । यो अङ्ग्रेजी राइम्स सरलताका लागि चर्चित छ । सेवान र गुरुङ कुनै पनि गीत चर्चित हुन यही विशेषता आवश्यक हुने ठान्छन् । ‘यो गीत यति सरल छ कि यसलाई सबैले गाउन सक्छन्,’ सेवानले भने ।

यो गीतमा भएको विविधताका कारण पनि स्टटगर्ट च्याम्बर ओरकेस्ट्राले जर्मन–नेपाल कूटनीतिक सम्बन्धको ५०औं वार्षगाँठमा रेसम फिरिरी गीतमा नै आफ्नो प्रस्तुति दिने सोच बनायो । ‘मलाई यो गीतको लय निकै मनपर्यो । हामी एउटा यस्तो गीतको खोजी गरिरहेका थियौं जसमा एकै पटक थुप्रैले बाजा बजाउन र गीत गाउन सकून्,’ उल्राइक स्टोर्टजले भने । यो प्रस्तुतीमा नेपालका ३० र जर्मनीका १८ सङ्गीतकारको संलग्नता रह्यो ।

http:/https://www.youtube.com/watch?v=0rakAUKy67I

परियारको अर्को गीत ‘हेर्दा राम्रो माछापुच्छ्रे’ भन्ने गीत पनि चर्चित रह्यो तर रेसम फिरिरीको उचाइमा भने पुग्न सकेन । सेवान आफ्नो बुवा जति चर्चित हुनुपर्ने हो त्यति नभएकोमा दुःख व्यक्त गर्छन् । ‘विगत ५० वर्षदेखि विभिन्न देशका मानिसले यो गीत गाइरहेका छन्,’ सेवानले भने । सेवान आफैले पनि बुवालाई श्रद्धाञ्जलि दिन यो गीत गाएका छन् । ‘तर कतिले यो गीतका वास्तविक स्रष्टालाई श्रेय दिन कञ्जुस्याइँ गरेका छन् ।’ सेवानले यसविरुद्ध लड्ने बताएका छन् । उनले आफ्नो बुवा र उनको सिर्जना रेसम फिरिरीबारे जानकारी दिन डकुमेन्ट्री बनाउने सोच बनाएको बताए ।

गन्धर्वहरुले ठमेललगायतका पर्यटकीय स्थलमा सारङ्गी बजाएर यो गीत गाउनाले पनि यो संसारका विभिन्न देशमा पुगेको रेडियो नेपालका वरिष्ठ अधिकारी अमर ध्वज लामाले बताए । ‘उनीहरुले यो ट्युन बजाएर सारङ्गी बेच्छन् । ट्युन मनपरेपछि पर्यटकहरुले सारङ्गी किन्छन् । ’

यो गीतलाई विश्वव्यापी बनाउन ट्रेकिङ गाइडको ठूलो भूमिका छ । आभासका अनुसार रेसम फिरिरी ‘ट्रेकरको एन्थम’ हो । विभिन्न वेबसाइटले यो गीतको शब्द नै राखिदिन्छिन्, अङ्ग्रेजीमा उल्था पनि गरिदिन्छन् । त्यसकारण धेरैजसो पर्यटक यो गीत गाउन तयारै भएर नेपाल आउँछन् ।

अहिले ५० वर्ष बितिसक्दा पनि रेसम फिरिरी आफ्नो जन्मथलोको प्रत्येक पहाडमा गहिरो अनुभूतिसहित गुञ्जिरहको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार