राजनीति
नेपालले चुच्चे नक्सामा ओगटेको क्षेत्र लिपुलेकबाट आज बिहान २० जना भारतीय व्यापारी चीन गएका छन् । कैलाश–मानसरोवर यात्रा र व्यापार गर्न भारत–चीनबीच गत चैतमा भएको सम्झौताबमोजिम भारत–तिब्बत व्यापार संघका अध्यक्ष जीवन सिंह रौकलीको नेतृत्वमा १६ जना व्यापारी र चार जना सहयोगीहरू त्यता गएका हुन् ।
लिपुलेक नजिकैको इमिग्रेसन अफिसमा अध्यागमन प्रक्रिया पूरा गरेर ती व्यापारीहरु सहयोगीसहित बिहान ९ बजे चिनियाँ भूमिमा प्रवेश गरेको बताइन्छ । कालापानी र नाबीढांगमा व्यापारीहरू र सहयोगीहरूले हिजोको रात बिताएका थिए ।
यसअघि असार २४ गते चीनको तिब्बत जान चाहने भारतीय व्यापारीका लागि नाका खोलिने अनौपचारिक खबरपछि व्यापारीहरुको टोली गुञ्जी हुँदै कालापानी पुगेको थियो । तर चीनबाट नाका खुल्नेबारे प्रष्ट जानकारी नआएपछि त्यहाँ पुगेका तीन दर्जन व्यापारी धारचुला फर्किन बाध्य भएका थिए ।
जुलाई २१ मा चीनको पुराङ काउन्टी प्रशासनले भारतको पिथौरागढ जिल्ला धारचुला प्रशासनलाई पत्र पठाउँदै १ अगष्टदेखि भारतीय व्यापारीहरूलाई लिपुलेक नाकामार्फत ताक्लाकोट प्रवेश गर्न अनुमति दिइने जनाएको थियो ।
चीनको तिब्बत (ताक्लाकोट) मा व्यापारका लागि भारतको धारचुलामा ट्रेड अफिस स्थापना गरिएको छ । ट्रेड अफिसले ३७ व्यापारी र ४० जना सहयोगी गरेर ७७ जनाको ट्रेडपास (अनुमतिपत्र) जारी गरिसकेको छ । तर चीनले पहिलो लटमा पुराना व्यापारीहरूलाई मात्र आउने अनुमति दिएको कारण २० जना व्यापारी,सहयोगिलाई प्रवेश अनुमति दिइएको अवस्था छ ।
भारतबाट सख्खर, मिश्री, तामा र स्टिलका भाडावर्तन लगायतका सामान चीन तिब्बत निकासी हुने गरेको छ । भारत–तिब्बत सीमा व्यापारका लागि ताक्लाकोट पुगेर व्यापार गर्न भारतीय पक्षले सबै तयारी पूरा गरेको छ । गुञ्जीमा भन्सार र बैंक कार्यालय खोलिएको छ । अधिकांश व्यापारीले ठूलो परिमाणमा भारतीय उत्पादनहरु धारचुला हुँदै गुञ्जी, कालापानी र नाभीढाँगसम्म ढुवानी पनि गरिसकेका छन् ।
पछिल्लो समय सडक सुविधाका कारण सामान ढुवानीमा सजिलो र ढुवानी लागत पनि घटेको अवस्था छ । नाभीढाँगमा व्यापारिक सामान र घोडाखच्चरका लागि अस्थायी संरचनासमेत बनाइएको छ ।
लिपुलेक नाकाबाट कैलाश–मानसरोवर यात्रा र व्यापार गर्ने भारत–चीनको सम्झौताप्रति गत वैशाख २० मा नेपाल सरकारले औपचारिक रुपमा आपत्ति जनाउँदै भारत र चीन दुबै छिमेकीलाई कूटनीतिक नोट पठाएको थियो । साथै नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा आफ्नो धारणा समेत सार्वजनिक गरेको थियो । तर लिपुलेकबाट व्यापार र कैलाश मानसरोवर यात्रा गर्ने विषयमा नेपाल सरकारको दाबी र आपत्तिलाई बेवास्ता गर्दै भारतले लिपुलेकबाट कैलाश मानसरोवर यात्रा र व्यापार सञ्चालन आजदेखि पुनः थालेको हो ।