logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जलस्रोतको दोस्रो धनि देशमा खानेपानीको हाहाकार, समस्या समाधानका लागि बस्ती सार्दै


  • रासस
  • शुक्रबार, बैशाख २० २०७६

डोटी – डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् ।

गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहुँदा उनीहरु बस्ती नै सार्न थालेका हुन् ।

झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी सङ्कलन गरेर गुजारा गरिरहेका छन् । करीब ४५ परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठुलीगाडमा झरेको स्थानीयवासी कृष्णा थापाले बताए । उनले भने, “पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको छ, पानीकै लागि बस्ती सारिँदैछ, पानीको पहल हुनसकेको छैन ।”

पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती बर्सेनि गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको ठुलीगाडस्थित विपीनगरका स्थानीय रोज कलेलले बताए ।

खानेपानीका लागि थुप्रै निकायमा पहल गरे पनि अहिलेसम्म योजनामा नपरेको थलीगाउँका स्थानीयवासीको आरोप छ ।

उनीहरुका अनुसार पानीका लागि वर्षेनी बस्ती सार्नुपरेको छ, कसैले पहल गर्दैनन् । “पानीका लागि कसको खुट्टामा ढोगेनौँ, कुन नेताकहाँ पुगेनौँ”, स्थानीय ऐनबहादुर मगरले चित्त दुखाउँदै भने, “दशकौँदेखि हाम्रा समस्या उस्तै छन्, हाम्रो पुस्ता त दुःखमै बित्यो, अर्को पुस्ताले पनि पानीको कष्ट भोग्ने छ ।” थलीगाउँमा मगर समुदायको बसोबास छ ।

अहिले ३५ परिवारका २५० जनसङ्ख्या अझै थलीमा छन् । विसं २०५८ मा हेल्भेटास संस्थाले वर्षातको पानी सङ्कलन गर्ने घैँटा बनाइदिएको छ । तर घैँटा चुहिने भएकाले वर्षात् सकिएसँगै पानीको हाहाकार शुरु हुन्छ भने अर्कोतिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा कमलपित्त रोग देखिने गरेको स्थानीयवासी बताउँछन् ।

जोरायल गाउँपालिकास्थित नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष सुरज रोकामगरले खानेपानीको अभावले विभिन्न क्षेत्रमा असर पर्दै गएको बताए ।

उनका अनुसार पढ्ने विद्यार्थीसमेत समस्यामा परेको बताए ।

गाउँमा पानी नहुँदा स्थानीयवासी बिहानैदेखि करीब दुई घण्टा टाढाको दूरीमा रहेको सकिनाखोलाको पानीले गुजारा चलाइरहेको बताइएको छ ।

उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने, “पानीको मुहान टाढा छ, गाउँमा पानीको ठूलै समस्या भएकाले योजनाका लागि प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल शुरु गरेका छौँ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार