logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा हावाहुरीको वितण्डा यस्तो छ अहिले सम्मको अपडेट

२ जनाको मृत्यु,७७ जनाभन्दा बढी घाइते


  • राजनीति
  • शुक्रबार, जेष्ठ २४ २०७६

पोखरा- बिहीबार साँझ सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्।हावाहुरीका कारण कैलालीमा २ जनाको ज्यान गएको हो। यसैगरी घटनामा ७७ जनाभन्दा बढी घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए।

प्रहरीका अनुसार हावाहुरीका कारण टीकापुर नगरपालिका-२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको हो।

यस्तै कैलालीकै गोदावरी नगरपालिका-८ मा हावाहुरीका कारण टिपरसँग से२१प ५८२१ नम्बरको मोटरसाइकल ठोक्किँदा यसका चालक स्थानीय ३१ वर्षीय वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलका अनुसार घटनाबारे क्षतिको विवरण संकलन जारी रहेको छ । शुक्रबार बिहान १० बजेसम्म हावाहुरीबाट कैलालीमा ७६ जना र कञ्चनपुरमा २३ जना घाइते भएको उनले जानकारी दिए ।

घाइतेहरुमध्ये २७ जनाको स्थानीय अस्पतालहरुमा उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए ।हावाहुरीले उडाउने तथा ढाल्ने गर्दा घरका जस्तापाता लागेर, रूख तथा बिजुलीका खम्बाले लागेर कैलालीका विभिन्न स्थानका ७७ जनाभन्दा बढी जना घाइते भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरीको अवस्था गम्भीर छ। जनक र गौतमको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत रिफर गरिएको छ। अन्य घाइतेको उपचार सेती अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीका कारण भएको क्षतिको पूरा विवरण आउन भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ।बिजुलीका खम्बा भाँचिएको, ठाउँ–ठाउँमा रूख ढलेका कारण विद्युत् ठप्प भएको छ भने कतिपय क्षेत्रका सडक पनि बन्द भएका छन्।

यसैगरी हावाहुरीका कारण कञ्चनपुरको वेदकोट र भीमदत्त नगरपालिकामा गरी २३ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एक जना गम्भीर घाइते छन्। अन्यको जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात बन्द भएको छ।

कैलाली र कञ्चनपुरका विद्यालय बन्द
भीषण हावाहुरीले विद्यालयहरूमा क्षति भएका कारण आज (शुक्रबार) कैलाली र कञ्चनपुरका अधिकतर शिक्षण संस्था बन्द गरिएका छन्। बिहानै विद्यालय पुगेका विद्यार्थी त्यसै फर्केका थिए। पठनपाठन गर्ने अवस्था नभएपछि विद्यार्थीलाई घर फर्काइएको हो।

कहाँ चुक्यो मौषम पूर्वानुमान महाशाखा ?

मौसमविद सुवास रिमालका अनुसार, पश्चिमी न्यून चापिय प्रणालीकै प्रभावले ठूलो हुरी आएको हो। न्यून चापीय प्रणाली, भूमध्य सागरबाट विकसित भएर उत्तर पश्चिम भारत हुँदै पश्चिमी भागबाट नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त प्रणाली हो। पश्चिमी न्यू चापीय प्रणालीको वायुले आद्र्रता बोकेको हुन्छ।

यही प्रणालीभित्र पनि सानो सानो प्रणाली विकसित हुनेगर्छ। वायुमा जलवाष्प विकसित हुने बित्तिकै यस्ता साना प्रणाली तत्काल र दु्रत गतिमा विकास भएर अघि बढ्ने गर्छ। त्यसैले कुनै निश्चित क्षेत्रमा बन्ने यस्ता साना साना वायुका प्रणाली कहाँनेर विकसित हुन्छ भन्ने चाहँ पूर्वानुमान गर्न गाह्रो हुने मौषमविद रिमालको भनाई छ।

बिहीबार राति कैलाली कन्चनपुरमा देखिएको हुरीको स्वरुप बाह्रमा करीब ३० जनाको ज्यान जाने गरी आएको टोर्नाडोको प्रकृतिसँग मिल्दो जुल्दो समेत देखिएको छ। किनकि यो एक्कासी आएको छ र यसले पर्खाल, रुख, बिजुलीका पोल, घरका छाना र सवारी साधन समेत ढलाएको छ। तर बाराकै जस्तो टोर्नाडो हो, होइन भन्नेबारे अहिल्यै भनिहाल्नसक्ने अवस्थान नरहेको रिमालले बताए।

पश्चिममा एकाएक विकास भएको यो प्रणाली पूर्वतिर सर्दै जाने क्रममा आज बिहान काठमाडौं उपत्यकामा समेत केहीबेर हावाहुरी चलेको थियो। शुक्रबार यो प्रणाली मध्य र पूर्वी क्षेत्रमा बढि सक्रिय देखिने मौषम पूर्वानुमान मशाखाले जनाएको छ। विशेषरी मनशुन शुरु हुने बेलातिर र मनसुन सक्रिय भएका केही दिनसम्म यस्तो गतिविधि देखिने मौषमविद सुबास रिमालको भनाइ छ। सामान्यतया नेपालमा जुन १० बाट मनसुन सक्रिय हुन्छ। तर यतिबला मनसुन सक्रिय पार्ने बायु श्रीलंकातिरमात्रै देखापरेकोले, नेपाल भित्रिन अझै केही दिन लाग्ने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार