logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

शिक्षाको सग्लो रुप !


  • बबरजङ्ग सिंह
  • शुक्रबार, मंसिर १३ २०७६

हरेक वर्ष नेपालका सरकारी तथा निजि विद्यालयहरु बाट करीब चार-पाँच लाख बिद्यार्थीहरु माध्यमिक शिक्षा परिक्षाको (एसईई)मा सहभागी भएर नतिजाको पर्खाइमा बसिरहेका हुनेगर्छन । निजि स्कुलका अधिकांश विद्यार्थीको चिन्ता पास फेलको भन्दा उत्कृष्ट ग्रेडको देखिन्छ भने अधिकांश सरकारी विद्यालयका विद्यार्थीको चिन्ता पास फेलमा हुने गर्छ (डि भन्दा माथी) । विद्यालय छनोट गर्ने अभिभावकले अघिल्लो वर्षको नतिजा हेरेर भर्ना गर्ने हुँदा निजि विद्यालयलाई राम्रो नतिजा ल्याउनु पर्ने बाध्यता छ । सोहि अनुसार तयारी गर्दछन् , ठुलो लगानीका साथ बालबालिकाहरु लाई निजि विद्यालयमा पढाउने अभिभावकलाई पनि उसको पढाई प्रति चासो र चिन्ता हुन्छ ।

निजि विद्यालयलाई राम्रो नतिजा ल्याउनु पर्ने बाध्यता छ, किनकि यो उनिहरुको पेसा,व्यवसाय र सेवा हो । सरकारी विद्यालयमा यस्तो चिन्ता अलि कम हुन्छ । सरकारी विद्यालयमा अर्को वर्ष विद्यार्थी भर्नासँग यो वर्षको नतिजाको खासै सम्बन्ध छैन, पायक पर्ने, पढ्न मन लाग्ने आउँछन्, भर्ना हुन्छन्, नहुने हुँदैनन् । अधिकांश सरकारी विद्यालयका विद्यार्थीका अभिभावकलाई नतिजा आउने दिन मात्र छोराछोरीको पढाईको चिन्ता हुन्छ, बाँकि दिन घरको काममा सघाईदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ । नतिजा आएसँगै सबैको औंला सरकारी बिद्यालय र त्यहाँका शिक्षक तिर फर्किने गर्दछ मानौं कि बच्चा फेल हुनुको कारण शिक्षक मात्र हो । बाँकि दिन कसैलाई त्यता तिर ध्यान दिने फुर्सद हुँदैन । के सरकारी विद्यालयका विद्यार्थी असफल हुनुमा विद्यालय र विद्यालयका शिक्षक मात्र जिम्मेवार छन् ? हो एउटा जिम्मेवार पक्ष विद्यालय र त्यहाँ पढाउने शिक्षक हुन् । तर, स्वयं विद्यार्थी, अभिभावक, समाज र विशेष गरि राज्यको गैर जिम्मेवारीपन यसको प्रमुख कारण हो।

विद्यालय तथा विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना र सरकार अनि त्यसको प्रतिनिधित्व गर्ने पार्टी मालिक जस्ता भए पछि,अभिभावक र विद्यार्थीको स्वभाविक प्रश्न पढेर के गर्ने ? भन्ने छ । जब अभिभावक र विद्यार्थी पढाईबाट भबिष्य देख्दैन उसले विद्यालय छोड्छ र अन्य विकल्प रोज्दछ । विद्यालय भर्ना नहुने र विद्यालय छोड्नुका अन्य कारणमा कमजोर आर्थिक अवस्था, सामाजिक चेतनाको कमि, विद्यालयको वातावरण, भौगोलिक विकटता तथा पढाई प्रतिको अरुचि , राज्यको गैर लाहाचारिपन आदि रहेका छन । छिमेकीका छोराले आठ कक्षा पढ्न छाडेर विदेश गएर महिना दिनमा दश हजार पैसा पठाएको सुनेर हामी तथा हाम्रा अभिभावक त्यता तिर आकर्षित हुनु पर्ने बाध्यता छ । सरकारी जागीरलाई मात्र रोजगार मान्ने मानसिकताको विकास भयो । १५ वर्ष बि.ए. पढेर विदेश जान खोज्दा अदक्ष मानिन्छ । र तिन महिनाको कृषि तालिम र एक हप्तामा ड्राइभिङ्ग तालिमले दक्ष भनेर पठाउनुपर्ने अर्थात जिबिकोपार्जन गर्न सकिने हाम्रो शिक्षाको बाध्यता छ ।

शिक्षा क्षेत्रका प्रमुख दुई समस्यामा सिकाई प्रयोगात्मक हुन नसक्नु र शिक्षा व्यवहारिक हुन नसक्नु हो अर्को कुरा एउटा राज्यको दुइ शिक्षा निति त चलेकै छ । घोकन्ते शिक्षा भन्दा सिकाईमा आधारीत शिक्षालाई प्राथमिकता दिनु जरुरी छ । घोकन्ते शिक्षाले परिक्षा पास गर्न त मद्दत गर्ला तर सिकाई भने सिमित मात्रामा हुने गर्दछ । बच्चालाई ए माने एप्पल, एप्पल भनेको स्याउ त घोकायौं । बच्चाले परिक्षा पनि राम्रो गर्दछ । तर, स्याउ कता फल्छ बाबु भनेर सोध्यौ भने सिम्लामा भन्छ। किनकी नेपालको जुम्लामा फल्ने स्याउको बारेमा हाम्रो बच्चालाइ जानकारी नै छैन। प्रयोग जुम्लाको नभई सिम्लाको हुन्छ। समस्या सानो कक्षामा मात्र सिमित छैन, कलेज तहको समस्या पनि उस्तै छ । शिक्षा क्षेत्रलाई समयानुकुल सुधार गर्दै प्रयोगात्मक तथा व्यवहारीक शिक्षालाई प्राथमिकता दिन जरुरी छ । बिद्यालय तहमा ठाउँ विशेष जडिबुटी,कृषि, पशु, वन जस्ता प्राविधिक शिक्षालाई समावेस गरी व्यवाहारिक क्षमता बढाउनु पर्ने हुन्छ ।

विद्यालय जाने उमेरका सम्पुर्ण बालबच्चालाई विद्यालय पुर्याउनु र विद्यालय शिक्षामा नियमितता दिनु राज्यको पहिलो दायित्व हो । बिगतलाई हेर्ने हो भने समस्या भर्नामा भन्दा नियमिततामा देखिन्छ । प्राथमिक उमेर समुहका (५ देखि ९ बर्ष) ९७.२ प्रतिशत बिद्यार्थी बिद्यालय भर्ना हुने गरेको र २.८ प्रतिशत बिद्यालय बाहिर रहेको सरकारी तथ्याङक छ । बिद्यालय भर्ना नहुने बिद्यार्थीको दर मधेशका जिल्लाहरु सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा र कपिलबस्तुमा तुलनात्मक रुपमा बढि छ यसै गरि कतिपय हिमाल र पहाडका जिल्लाहरूमा पनि देखिन्छ । माथिल्लो तहमा त अहिले विद्यार्थी खोज्ने हो भने अलि अलि टेक्निकल क्षेत्रमा देखिन्छन। बाकी पासपोर्ट बनाएर वैदेशिक रोजगारीको खोजिमा देखिन्छन।

विद्यालय भर्ना नहुने तथा विद्यालय पढ्न छाड्ने गरेका बालबच्चा कहाँ र कुन अबस्थामा छन्, त्यसको सहि तथ्याङक खोज्नु र उनिहरुलाई विद्यालय शिक्षामा पहुँच पुर्याउनु आवश्यक छ । विद्यालय भर्ना नहुने तथा विद्यालय छोड्नेहरु घरको काममा सहयोग गर्ने गरेको तथा अन्य गन्तव्यमा बालश्रम, बालबिवाह, बैदेशिक रोजगार तथा कुलत रहेको पाईन्छ । बालबालिका बेचबिखन एउटा ठुलो समस्याको रुपमा देखा परेको छ । ठुलो सङख्यामा बालबच्चा होटल तथा रेष्टुरेन्ट, सबारीसाधन, ईट्टा भट्टी, तथा घरायसी कामदारको रुपमा काम गरीरहेका छन र विद्यालय जान बाट बन्चित भएका छन । राज्यले बालश्रम न्युनिकरणलाई प्राथमिकतामा राखि बालश्रम राख्ने होटल तथा रेष्टुरेन्ट, सबारीसाधन, ईट्टा भट्टी लगायंतलाई कडा कार्बाहि गरी बालश्रममा रहेका बालबच्चालाई बिद्यालय सम्म पुर्याउन बिशेष पहल गर्नु जरुरी छ । नेपालको कानुनले १८ बर्ष उमेर सम्मलाइ बालबच्चा मान्दै आएको छ र यो उमेर सम्मको बालबच्चालाई कुनै पनि किसिमको श्रममा लगाउन पाईदैन । तर के गर्ने राज्य नै यो बिसयको गम्भीर उलंघन गरिरहेको छ। र बेखबर छ। राज्यको शिक्षा प्रतिको उदासीन्ताले बिकरालरुप लिएको छ।

विद्यार्थी तथा अभिभावकले सरकारी विद्यालय पढेर केहि गर्न सकिदैन भन्ने मानसिकता त्यागी सरकारी बिद्यालयको गुणस्तर सुधार्न सबै पक्ष उतिकै जिम्मेबार भएर लाग्नु जरुरी छ । सरकारी विद्यालयको गुणस्तर कस्तो छ र सुधार्न के गर्नु पर्दछ भन्ने शिक्षाको निति निर्माण तहमा बस्नेलाई अनुभव र ज्ञान नभएको होईन । अधिकांश नेपाल सरकारका सचिव, सहसचिव, उपसचिव, अधिकृत सरकारी स्कुल पढेरै आएका मध्येका छन् । सरकारी शिक्षाको गुणस्तर सुधारका मापदण्ड बनाई सम्पुर्ण सरकारी बिद्यालयहरुको वर्गिकरण गरी सरकारी शिक्षा सुधारको काम अगाडी बढाउन तर्फ सरकारले विशेष योजना बनाउनुको साटो सरकारको प्रतिनिधित्व गरेका उच्छ तहका व्यक्तित्वहरुले निजि क्षेत्रमा लगानि गरि राज्यको शिक्षालाइ धरासयी बनाइरहेको पाइन्छ। यो गम्भिर विषय छ शिक्षामा देखिएको पुजि र प्रतिभा जो पलाएन भैरहेको छ। यसलाइ समयमै रोक्न जरुरी छ । विद्यालय शिक्षाको गुणस्तर सुधार्न गर्न शिक्षा क्षेत्रमा राज्यले कम्तीमा ३० प्रतिशतसम्म बजेट बिनियोजन गर्नु पर्दछ ।

राज्यको शैक्षिक दृष्टिकोण बदलिय मात्र सरकारी बिद्यालयको गुणस्तर सुदृढ बन्छ । अनि सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न सक्दछ । अन्यथा, आर्थिक अबस्थाले भ्याउने अर्थात एकछाक मकै एक छाक भोकै गरेर भए पनि अभिभावकले आफ्ना नानिबाबुलाइ छिमेकिको छोरोको प्रतिस्पर्धा गर्न देखावटीकै लागी भए पनि निजि स्कुल नै पढाउनु पर्ने बाध्यता देखिन्छ । निजि विद्यालय मध्ये पनि आर्थिक हैसियत अनुसार महङगा स्कुल रोजाईमा पर्ने गरेका छन् । अभिभाबकलाई आफ्ना बालबच्चाको भविष्यको चिन्ता हुनु स्वभाबिक हो । अधिकांश बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीहरु ९÷१० कक्षा देखि नै उच्च शिक्षाको लागी अष्ट्रेलिया, क्यानडा जाने सपना बुनिसकेका हुन्छन् । जबसम्म अभिभाबकले सरकारी बिद्यालयमा पढाउँदा बालबच्चाको भबिश्य उज्वल देख्दैनन् । तबसम्म सरकारी बिद्यालयमा भर्ना गर्न हिच्किचाउँदछन् । सरकारी बिद्यालयको आकर्षण बढाउनु राज्यको कर्तब्य हो । सरकारी कर्मचारी, शिक्षकका छोराछोरीले अनिबार्य सरकारी बिद्यालय पढाउनु पर्छ भन्ने बाध्यात्मक अबस्था ल्याउन खोज्न स्वभाबिक छ। यसो भन्दै गर्दा पहिला राज्यको चरित्र र सरकारी शिक्षा गुणस्तरीय र बैज्ञानिक बनाउन जरुरी छ। अन्यथा बझाङ को जयपृथ्वी क्याम्पसको आइयसी र काठमाडौंको पेन्टागन र रातो बङ्गलाको आइयसिको विद्यार्थीलाइ एउटै आयोगमा प्रतिस्पर्धा गराउदा कसरी समान नतिजा आउन सक्छ। त्यसैले शिक्षा बैज्ञानिक समाजबादी हुन जरुरी छ। त्यसका लागी यो ब्यवस्था नै गलत छ।

प्रत्येक सरकारी विद्यालयमा आवश्यक भवनको निर्माण गरी चौरमा बसेर पढ्नु पर्ने, एकै कोठामा दुई वटा कक्षाका विद्यार्थी राखि पढाउनु पर्ने र एकै कक्षा कोठामा धेरै विद्यार्थी राखि पढाउनु पर्ने बाध्यताको अन्त्य गर्नु पर्दछ । भवन भएका विद्यालयहरुमा कतै ढोका छैन, कतै झ्याल छैन, ढोका भएकोमा चुकल छैन । हावा लाग्दा धुलोले र पानी पर्दा पानीले बिद्यालयको कक्षा कोठा भरीन्छ । कक्षा कोठाहरु बालमैत्री र अपाङ्गमैत्री छैनन् । तराईको ४५ डिग्री सेल्सियस तापक्रममा जस्ता पाताले छाएर बनाएका बिद्यालय भित्र बसेर पढ्नु पर्ने बाध्यता त छदै छ।

अधिकांश विद्यालयमा शिक्षकको दरबन्दि पुरा छैन, दरबन्दि भएको ठाउँमा शिक्षक छैन । कतिपय स्थायी शिक्षकले गोठाला शिक्षक राखेर पढाउन लगाउने गरेको बेलाबेलामा संचार माध्यममा आउने गरेको छ । गाउँको सरकारी विद्यालयमा विज्ञान, गणित, अङ्ग्रेजी जस्ता बिषय पढाउने शिक्षक पाउन मुस्किल छ । कतिपय विद्यालयमा शिक्षक नपाएर पढाउँदै नपढाई परिक्षा दिनु पर्ने बाध्यता छ । अस्थायी शिक्षकका पनि केहि समस्या छन । अस्थायी शिक्षकको दिर्घकालिन समाधान खोजि समस्याको तत्काल समाधान गर्न तर्फ राज्यको ध्यान देखिरहेको छैन। भोलेन्टिअर जस्तै सोचेको छ। केहि स्थायि शिक्षक राजनितिक कभरमा रहेर काजका नाममा सहर केन्द्रीकृत छन। त कतिपय खेताला राखेर सुबिधा लिरहेका छन । यस्ता विकराल अवस्था छ्न।
अभिभावक र बालबालिकाहरुले पनि बिद्यालयमा पढ्न र गृहकार्य बुझाउन मात्र जाने हो भन्ने मानसिकता बदल्नु जरुरी छ । विद्यालयमा पढाईको साथसाथ अतिरिक्त कृयाकलापमा पनि ध्यान दिनु पर्दछ । खेल सामाग्री तथा अनिबार्य खेल शिक्षक राख्न सक्यौ भने विद्यार्थीको राम्रो बौद्धिक तथा शारिरिक बिकास गर्न मद्दत गर्दछ ।

विद्यालय तथा विद्यालय क्षेत्र वरीपरि सुर्ति तथा मदिराजन्य पदार्थको प्रयोग तथा बिक्रीबितरणमा रोक लगाउन जरुरी छ । विद्यार्थीलाई सुर्ति, मदिरा प्रयोग गर्नु हुँदैन भनेर पढाउने तर झ्यालको पछाडि लुकेर सुर्ती माड्ने, चुरोट सल्काउने, रक्सि खाएर बिद्यालय आउने आचरणले बिद्यार्थी पनि ए यो लुकेर खानु पर्दोरहेछ भन्ने नै सिक्दछ । राज्यको तर्फबाट बिद्यालयको नियमित अनुगमन गर्ने, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, तथा विद्यार्थीका गुनासा सुन्ने र सुधारका उपायहरु अबलम्बन गर्ने संयन्त्र निर्माण गर्नको साटो पार्टी भागबन्डामा प्र.अ र विव्यस तोक्ने र योजनामा हान्थाप गर्ने यो राज्यको चरित्र नै बनि सकेको छ यसलाइ रोक्न जरुरी छ।

कमजोर आर्थिक अवस्था कै कारण बालबच्चा विद्यालय जान बाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य गर्न गरीब तथा असहाय छात्रबृतिको ब्यबस्था गर्न पर्ने हुन्छ । भौगोलिक बिकटता र विद्यालय अपायक भए कै कारण बिद्यार्थीलाई विद्यालय शिक्षाबाट बन्चित हुनु पर्ने अवश्यकताको अन्त्य गर्न आवासिय पढाईको व्यवस्था लागु गर्नु पर्ने हुन्छ । विद्यालय क्षेत्रलाई रमणिय, हराभरा तथा स्वस्थ बनाउन हप्ताको एकदिन विद्यार्थी तथा शिक्षकले बगैचा बनाउने, सरसफाई गर्ने, फुल लगाउने, फलफुल लगाउने, वृक्षारोपण गर्ने जस्ता विद्यालयको स्वच्छ वातावरण निर्माण गर्ने राज्यसंगै हाम्रो पनि कर्तव्य हो ।

विद्यालय गएकै भरमा आफ्नो बच्चाले उत्कृष्ट नतिजा ल्याउछ, वा उत्कृष्ट नतिजा ल्याउने बनाउने जिम्मा विद्यालय र शिक्षकको मात्र हो भन्ने अभिभावकको मनोविज्ञान परिवर्तन गर्नु जरुरी छ । आफ्नो बच्चाले घरमा कति अध्ययन गर्यो, गृहकार्य गर्यो कि गरेन, उसको पढाईमा के सहयोग गर्नु पर्ने हो बुझ्नु र बिहान बेलुका मा पढ्ने वातावरणरण मिलाईदिनु अभिभावकको जिम्मेवारी हो ।

अन्त्यमा, हाम्रो देशको शिक्षामा देखिएका जति पनि सिमा कमजोरीहरु छन। यसलाइ ब्रेक गरेर थप सुधार गर्ने एउटै विकल्प हो। एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद यसबाट मात्र नेपालका नब्बे लाख विद्यार्थीको भविष्यको खाका सहितको स्वणिम यात्रा तय गर्न सकिन्छ। युवा विद्यार्थीको नेता अखिल (क्रान्तिकारी) तत्कालीन केन्द्रिय सदस्य तथा महान सहिद क.प्रज्वल शाही सहिद क.चन्द्रबहादुर सिंह (सनराइज)सहिद क.राम सिंह लगायत सम्पुर्ण महान सहिदहरु प्रती भावपुर्ण श्रद्धाञ्जली सहिद परिवार पर्ती गहिरो समबेदना तथा सहिदको सपनाको मार्ग पुरा गर्ने प्रतिवद्धता सहित वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका निमित्त संघर्ष गर्न आम युवा विद्यार्थीमा यसै लेख मार्फत हार्दिक अपिल गरिन्छ। धन्यवाद !
लेखक अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य हुन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार