‘बी’ डिभिजन लिग फुटबलको आजको खेलमा ब्याइज युनियन क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको उद्घाटन खेलमा ब्याइज युनियनले श्री कुमारी क्लबलाई २–० गोलले पराजित गरेको हो ।
ब्याइज युनियनका लागि खेलको ३९औँ मिनेटमा वर्तमान राई तथा खेलको ७६औँ मिनेटमा प्रदीप बोगटीले गोल गरेका थिए । ब्याइजले तीन अङ्क बटुलेको छ । प्रतियोगिताका लागि एन्फाले बुधबार खेल तालिका सार्वजनिक गरेको थियो । आगामी चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष टोली ‘ए’ डिभिजनमा उक्लिनेछ । पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी क्लबले खेल्नेछन् । एन्फाले ‘बी’ डिभिजन खेल्ने प्रत्येक टोलीलाई तयारी स्वरुप रु १० लाख उपलब्ध गराएको छ । ‘बी’ डिभिजन लिग विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ ।