logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्डलाइ सेल्टर दिएका थापाको निधन, पैसाको अभावले जिवन गुम्यो


  • राजनीति
  • बिहिबार, चैत्र १३ २०७६

माओवादीले संचालन गरेको दस वर्षे जनयुद्धको बेला तत्कालीन नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु लाई सेल्टर दिएका जयबहादुर थापाको भारतको राजधानी नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको छ । ५४ वर्षको उमेरमा थापा विगत दुई वर्षदेखि मिर्गौला रोगबाट पीडित थिए । 

उनको दुवै मिर्गोलाले काम गर्न छाडेपछि नियमित रुपमै डायलसिस गर्दै आएका थिए। चिकित्सकले समयमै मिर्गौला प्रत्यारोपण गर्न सल्लाह गर्न दिए पनि आर्थिक अभावका कारण प्रत्यारोपण नहुँदा विगत केही महिनायता उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

रोगले च्यापेपछि उनलाई दुई दिनअघि दिल्लीको विनायक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार मध्यान्ह करिब १ बजे उनको निधन भएको अखिल भारत नेपाल एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काले पुष्टि गरेका छन्। खड्काअनुसार उनको बिहीबार नै दिल्लीकै हैदरपुर घाटमा अन्त्येष्टि गरिएको छ। उनका श्रीमतीसहित तीन छोरी, एक छोरा छन्।

थापा पूर्वमाओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता मन्चको केन्द्रीय सल्लाहकार थिए। माओवादी जनयुद्धको चरमोत्कर्षमा रहेका बेला पार्टीका अधिकांश उच्च तहका नेताहरु भारतमा प्रवासमा रहेका बेला उनीहरुको बासस्थानदेखि सुरक्षाको जिम्मा थापाकै काँधमा थियो।

पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईलगायत अधिकांश नेताहरुलाई भारतको राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षित सेल्टरको व्यवस्था गर्ने जिम्मा थापाकै काँधमै थियो। तर, त्यस्तो निकै चुनौतीपूर्ण समयमा नेताहरुलाई साथ दिएका थापाले रोगविरुद्धको संघर्ष भने कसैबाट पनि साथ पाएनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार