logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

त्रिवि उपकुलपतिको कार्यलयमा तोडफोड


  • राजनीति
  • मंगलबार, साउन २७ २०७७

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्।

मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्। उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तोडफोड गरेका हुन्।

नेवि संघले मंगलबार शैक्षिक क्यालेन्डर फाइनल गर्ने लगायत मागबारे त्रिवि पदाधिकारीसँग बुझ्‍न जाँदा प्रहरी ल्याई बल प्रयोग गरेपछि विद्यार्थी नेताले सामान्य तोडफोड गरेको नेवि संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए।

उनका अनुसार पठनपाठनको लागि शैक्षिक क्यालेन्डर फाइनल गर्नेबारे माग राख्न विद्यार्थी त्रिविमा पुगेका थिए। ‘हाम्रा विद्यार्थी साथीहरु शैक्षिक क्यालेन्डरको लागि पदाधिकारीसँग बुझ्न गएका थिए,’ उनले भने,‘त्रिवि प्रशासनले प्रहरी ल्याई बल प्रयोग गर्न लगाउँदा सामान्य घ’ट्ना भएको हो। प्रहरीले विद्यार्थीलाई फर्काउन खोजेपछि वि’वाद सुरु भयो।’

त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोड’फोड गरेको बताइएको छ। नेविसंघले यसअघि उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो। पाटन उच्च अदालतले ताला खोल्न अनुमति दिएपछि कार्यालयको ताला खुलेको थियो।

नेवि संघ त्रिवि समितिका सभापति हरि आचार्यले विद्यार्थीहरुले तोडफोड गरेको जानकारी दिए। ‘विद्यार्थीहरुले परीक्षाको विकल्प माग गरिरहेका छन्,’ उनले भने, ‘रेक्टरसँग पनि यस विषयमा छलफल भएको थियो। त्रिविले परीक्षाको विकल्पका लागि तयार पारेको कार्यविधि नै पारित गरेन भने विद्यार्थीहरु रुष्ट छन्।’

उनका अनुसार त्रिविले अनलाइन परीक्षा विधि लगायत केही मापदण्ड तयार पारे पनि त्यसबारे चासो नदिएपछि विद्यार्थीहरु रुष्ट छन्। नेवि संघका कार्यकर्ताहरूले हिजो सोमबार रेक्टरसँग पनि छलफल गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार