राजनीति
काठमाडौं । पार्टी सदस्यता नवीकरण गरेर पूर्ण राजनीतिमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता पेन्डिङ अवस्थामा रहेको नेकपा (एमाले) ले जनाएको छ।
शनिबार एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका निर्णय सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पेन्डिङ (स्थगन) अवस्थामा रहेको जानकारी दिए।
भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने भन्दै गौतमले भने, “अहिले नवीकरण पेन्डिङ अवस्थामा छ। धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो पेन्डिङ स्थगन अवस्थामा छ भन्ने बुझ्नुपर्छ।”
राष्ट्रपति हुनको लागि भण्डारीले पार्टीको सदस्यता त्यागेकोले उनको सदस्यता नवीकरणको लागि आवश्यक छलफल गर्नुपर्ने प्रचार विभाग प्रमुख गौतमको भनाइ रहेको छ।
“गरिमामय पदमा पुगेको व्यक्ति पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ ? भन्ने विषयमा गम्भीर छलफल भयो। आउने कुराले के प्रभाव पार्छ भन्ने विषयमा धेरै कुरा उठे । पोलिटब्यूरो बैठकको गम्भीर ध्यान आकर्षण भयो। अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौंला भन्नुभयो,” उनले भने ।