logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नवलपरासीमा फलामकाे खानी यसरी उत्खनन गरिदै


  • राजनीति
  • सोमबार, पुष २८ २०७६

नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको छ।

नवलपुरको धौवादी क्षेत्रमा भेटिएका फलामजस्तो पदार्थको चीनमा गरिएको परीक्षणले सो क्षेत्रमा फलाम नै रहेको प्रमाणित भएको बताउँदै उनले उत्खनन, प्रशोधन तथा उत्पादनका लागि स्थापना गरिएको सो कम्पनी सञ्चालनको ‘मोडालिटी’समेत तयार भइसकेको जानकारी दिए।

उनले भने, ‘नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ। अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ।’

सरकारले नवस्थापित सो कम्पनीको अध्यक्षमा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई नियुक्त गरिएको छ। काठमाडौँस्थित खानी तथा भूगर्भ विभाग परिसरभित्र यस कम्पनीको कार्यालयसमेत स्थापना भई थप काम अगाडि बढिसकेको छ।

कम्पनीको सञ्चालक समितिमा विभिन्न मन्त्रालयको प्रतिनिधित्व रहने गरी छिट्टै नै सञ्चालक समिति गठनका लागि प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषद्को गत भदौ १, २ र ४ गतेको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको थियो । यो खबर आजको गोरखापत्रमा भउचप्रसाद यादवले लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार