logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘फानी’ चक्रवातको नाम ? के हो यो नामको अर्थ ? हेर्नुस


  • एजेन्सी
  • शुक्रबार, बैशाख २० २०७६

पोखरा– बंगालको खाडीमा निर्माण भएर विस्तारै भारतीय उपमहाद्विपको पूर्व–उत्तरतर्फ अघि बढिरहेको शक्तिशाली समुन्द्र आँधीलाई ‘फानी’ नाम दिइएको छ । यसले तय गर्ने बाटोमा पर्ने क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । यसले निक्कै ठूलो धनजनको क्षति पुर्याउने आशंका गरिएको छ ।

चक्रवातको नाम ‘फानी’ नामाकरण बंगलादेशको प्रस्तावमा विश्व मौसम–विज्ञान संगठनद्वारा भएको हो । विश्व मौसम–विज्ञान संगठनले एक संयन्त्र विकास गरेको छ, जहाँ आँधी निर्माण हुने समुद्रले छोएका देशबाट समय समयमा यसको नाम लिइन्छ । ती नाम मध्येबाट क्रमैसँग भावी दिनमा आउने चक्रवातको नामाकरण गरिन्छ ।

हिन्द महासागरमा आउने साइक्लोन (चक्रवात) को सन्दर्भमा हिन्द महासागर छोएका ८ राष्ट्रहरु भारत, श्रीलंका, बंग्लादेश, माल्दिभ्स, म्यानमार, ओमन, पाकिस्तान र थाइल्याण्डले प्रस्ताव गरेका नाम पालै पालो दिने चलन छ ।

हाल, प्रत्येक आठ देशले भावी चक्रवातको नामकरणका लागि ८ नाम प्रस्ताव गरेका छन् । फानी नाम ती ६४ नाम मध्येबाट छानिएको हो । बंगालीमा ‘फोनी’ उच्चारण हुने यस शब्दको अर्थ ‘सर्प’ भन्ने हुन्छ ।
भारतले प्रस्ताव गरेका नाम भने नेपालीहरुको लागि पनि परिचित शब्द छन् : अग्नि, आकास, बिजुली, जल, लहर, मेघ, सागर, वायु गरेर आठ नाम प्रस्ताव गरेको छ । भावी दिनमा आउने चक्रवातमा यी मध्ये एक नाम हुनेछ ।

यस्तो छ समुद्री आँधीको नामाकरणको इतिहास

चक्रवातको नामाकरण गर्ने चलन धेरै पुरानो भने होइन । प्रारम्भमा एटलान्टिक महासागरमा आउने तुफानीलाई हरिकेन नाम दिइन्थ्यो । हरिकेन, टाइफुन र साइक्लोन समान चरित्र भएका प्राकृतिक घटना हुन् । स्थान विशेषअनुसार मात्र तिनलाई नाम दिइएको हो । एटलान्टिक महासागरमा आँधीको नाम हरिकेन, प्रशान्त महासागरमा टाइफुन र हिन्द महासागरको नाम साइक्लोन भनिन्छ ।

जब कुनै समुन्द्री आँधीको गति ७४ माइल प्रतिघण्टा पुग्छ तब त्यसलाई स्थान विशेषअनुसार हरिकेन वा साइक्लोन वा टाइफून भनिन्छ । प्रारम्भमा क्यारेवियन टापूका वासिन्दाले समुन्द्री हुरी जुन दिन आउँथ्यो त्यो दिन क्यालेण्डरको सन्तको नाम दिन्थे । यो परम्परा विगत केही सय वर्ष अघिदेखि दोस्रो विश्वयुद्धसम्म चल्यो ।

त्यसपछि मौसमविज्ञले हुरीलाई महिलाको नाम दिन थाले । सन् १९५३ मा अमेरिकी मौसमविज्ञान सेवाले आधिकारिक रुपमा यस विचारलाई अंगिकार गरेपछि यसले विश्वव्यापी स्वीकार्यता पायो । सो संस्थाले अंग्रेजी भाषाको वर्णमाला अनुरुप महिला नाम सिर्जना गर्यो । यस क्रममा उसले क्यू, यू, एक्स, वाई र जेड अक्षरलाई भने लिएको थिएन ।

प्राकृतिक प्रकोपको नामाकरणमा महिलाको मात्र नाम राखिएकोमा सन् ६० र ७० को दशकका महिला आन्दोलनका क्रममा विरोध भएपछि १९७८ मा पुरुष नाम पनि समावेश गरियो । यस प्रणालीअनुसार कुनै वर्ष पहिलो ट्रपिकल आँधीको नाम ‘ए’ अक्षरबाट सुरु हुन्छ । दोस्रोको नाम ‘बी’बाट सुरु हुन्छ । पुरुष र नारी नाम कुन हुने भन्नेको पनि अलग नियम छ । जोडी अंकको वर्षमा विजोडी संख्याको आँधीले पुरुषको नाम पाउँथ्यो र विजोडी अंकको वर्षमा आउने विजोडी आँधीको नाम महिलाको नाम राखिन्थ्यो ।

माथिको नामाकरण युरोप र अमेरिका महादेशलाई छुटाउने एट्लान्टिक महासागरमा आउने ट्रपिकल आँधीको हो । चक्रवात(साइक्लोन)को नामकरण दिने परम्परा भने हालसालैको हो । हिन्द महासागरमा आउने ट्रपिकल आँधीको नामाकरण सन् २००० बाट सुरु भएको हो ।

त्यसलाई कसरी नामकरण गर्ने भन्ने सुत्र सन् २००४ मा स्वीकृत भयो । उक्त क्षेत्रका आठ देशहरु बंग्लादेश, भारत, माल्दिभ्स, म्यानमार, ओमन, पाकिस्तान, श्रीलंका र थाइल्याण्डले सबै नाम प्रस्ताव गर्छन् र जब कुनै नयाँ आँधी निर्माण हुृन्छ तब नयाँ नाम क्रमैसँग दिइने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार