इरानले स्वदेशमा तथा विशेषगरी विदेशमा राष्ट्रियताको पक्षमा गतिविधि गर्न भन्दै इरान क्विड नामक विशेष दस्ताको स्थापना गरेको थियो । पछिल्लो समयमा उक्त दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो ।
इरानको सरकारले सन् १९९८ देखि उक्त दस्ताको नेतृत्व सुलेमानीलाई सुम्पेको थियो । तर पनि उनलाई अमेरिकाले भने आतङ्कवादी व्यक्तिको सूचीमा राख्दै आएको छ ।
उक्त दस्ताले इरानका लागि इरानबाहिरका देशहरुमा गोप्य गतिविधिहरू सञ्चालन गर्ने गरेको छ । यसैकारण अमेरिकाले सो सूचीमा राखेको थियो ।
सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धमा समेत लडेका थिए । उनलाई इरान सरकारको अति निकटका एक व्यक्तिका रुपमा पनि चिनिन्थ्यो ।
सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरुद्धमा पनि विशेष कारबाही गर्ने गर्दथे ।
उनले इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसँग नै सम्पर्क राख्न सक्थे र उनको नेतृत्वमा रहेर काम गर्ने गर्दथे ।
शुक्रबार जनरल सुलेमानी आफ्नो कारमा सवार रहेका बेला अमेरिकी सेनाले सोही क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर मारिएका हुन् ।
इरानले यस कारबाहीलाई एक निकै नै खतरनाक काम भनेको छ भने अमेरिकी सञ्चारमाध्यमहरूले भने उक्त कारबाहीको अमेरिकी पक्षबाट बचाउ गरेका छन् ।
अमेरिकी प्रतिक्रिया
ती कमाण्डर मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै कुनै प्रतिक्रिया दिएका छैनन । शुक्रबारको सो आक्रमणको घटनापछि उनले ट्वीट अकाउन्टमा अमेरिकाको झण्डा राखेका थिए । तर घटनाका बारेमा केही लेखेका छैनन ।
तर अमेरिकी रक्षा मन्त्रालयले भने शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा कासिम सुलेमानी मारिएको बताएको छ ।
यसलाई रक्षा मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको कारबाही पनि भनेको छ ।
उक्त विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयमा संसारभर रक्षात्मक रुपमा कामगर्ने र आगामी दिनमा पनि यस्ता कार्यहरु गरिरहने छ भनेको छ ।