logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेविसंघ नेतृत्वको लागी दौडधुप आरजु फकाउने देखी उमेरहद सम्म


  • राजनीति
  • बुधबार, फाल्गुन २२ २०७५

नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) २३ दिनदेखि नेतृत्वविहीन छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले माघ २८ गते राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन भएको हो ।

महरले २९ महिना नेविसंघको कमाण्ड सम्हाले । विधानत नेविसंघको चुनाव प्रत्येक दुई वर्षमा हुनुपर्ने हो । महाधिवेशन गराउन पार्टीले २ पटक समय थपेपछि महरले २९ महिना नेविसंघ हाक्ने मौका पाए । तर, उनी १२ औँ महाधिवेशन गर्न असफल भए ।

जसका कारण महरले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएर नेविसंघबाट विदा लिनुपर्यो । काँग्रेस केन्द्रीय समिति बैठकले फागुन २ गते महरको राजीनामा स्वीकृत गर्दै नेविसंघमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिएको थियो । तर सभापति देउवाले अहिलेसम्म नेविसंघमा नयाँ नेतृत्व ल्याउन सकेका छैनन् ।

नेविसंघमा आरजुको ‘मियो’को खोजी

काँग्रेसमा विगतदेखि नै सभापति शेरबहादुर देउवा भन्दा उनकी पत्नी आरजुु राणाको हैकम बढी चल्ने गरेको चर्चा हुदै आएको हो । नेविसंघको ११ औँ महाधिवेशनमा पनि यो विषयले निकै चर्चा पाएको थियो ।

‘आरजुको हात, गगन र प्रदीपको साथ’बाट महर ११ आँै महाधिवेशनबाट नेविसंघको नेतृत्वमा पुगेका थिए । त्यो बेला महर आफ्नै जिल्ला डडेलधुराका भएका कारण पनि देउवामाथि दबाब थियो । साथै आरजु पनि निकै सकारात्मक थिइन् । गृहजिल्लाको राजनीतिमा कर्णबहादुर मल्लको चरम असहयोग झेलिरहेकी आरजुले नैनसिंहलाई मल्लको विकल्पका रुपमा खडा गनसमेत चर्चा भएको थियो । तर यो पटक नेविसंघमा देउवा र आरजु दुबैका लागि विश्वासपात्रको संकट छ ।

आरजुुले ‘एस’ भनेको व्यक्तिले मात्र जिम्मेवारी पाउने गरेको स्रोत बताउँछ । नेविसंघमा नयाँ नेतृत्व ल्याउने तयारी भएसँगै देउवा पक्षका नेताहरु आरजुलाई रिझाउन बुढानिलकण्ठ धाउने क्रम तीव्र भएको छ ।

नेविसंघ तदर्थसमितिको संयोजक चुन्ने जिम्मा पार्टी सभापति देउवाले पाएसँगै संयोजकको दौडमा रहेकाहरुको आरजुुसँग भेटभाट बाक्लिदै गएको हो । देउवा निकटका दोस्रो तहका नेताहरु आफु निकटका निद्यार्थी नेताहरुलाई संयोजक बनाउन लागि परेका छन् । काँग्रेसमा प्रभावशाली भ्रातृ संगठनको रुपमा रहेको नेविसंघमा कब्जा जमाउन पार्टी नेता देखि विद्याथी नेताहरु समेत आरजुुलाई रिजाउन दौडधुप गरिरहेका छन् । यो पटक पनि आरजुबाट ‘एस’ भनिएको व्यक्ति नै नेविसंघको नयाँ आउने करिब पक्का जस्तै भएको एक नेताले बताए । देउवाको ‘रिमोट’ नै पत्नी आरजुको हातमा रहेको नेता अर्जुननरसिंह केसीले गत बैशाखमा निर्वाचन समिक्षा बैठकमै खुलासा गरेका थिए ।

उमेर हदको विवाद

केही महिना अघि मात्रै ३२ बर्षे उमेर हदसहितको नेविसंघको विधान पारित भएको थियो । तर, तदर्थ समिति गठन गर्दा यो उमेर हद लागु गर्ने या नगर्ने भन्नेमा निक्र्योल भएको छैन । देउवा तदर्थ समिति गठन गर्दा ३२ बर्षे उमेर हद नलगाउने पक्षमा छनन् । तर, विधान नै पारित भएपछि तदर्थ समितिमा पनि ३२ वर्ष उमेरहद लगाउनुपर्ने काँग्रेसको एक समुहको भनाई छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्ष र देउवा पक्ष धेरैजसो नेता १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भएकाले अहिल्यै ३२ वर्षे उमेरहद लगाउन नहुने पक्षमा छन् ।

वरिष्ठ नेता पौडेलले मनोजमणि आचार्यको संयोजकत्वमा समिति बनाउन दवाव दिएको बुझिएको छ भने उपसभापति विमलेन्द्र निधि निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापालाई संयोजक तोक्ने पक्षमा छन् ।

यस्तै महामन्त्री पूर्णबहादुर खड्काले शुभराम बस्नेतलाई नेविसंघको नेतृत्वमा ल्याउन देउवालाई सुझाइरहेका छन् । संस्थापनका केही नेताहरु भने तदर्थसमितिमा पनि ३२ वर्षे उम्मेरहद लगाउनु पर्ने पक्षमा छन् । नेविसंघको विधान पारित गर्दा ३२ वर्षे उम्मेरहद लगाएकोप्रति नोट अफ डिसेन्ट लेख्नेहरु विधान अनुसार नेतृत्व ल्याउन दबाब दिदा आफूहरु पछाडि हट्न नहुने उनीहरुको तर्क छ । केन्द्रीय समितिबाट बहुमतका आधारमा नेविसंघको विधान पारित भएको थियो ।

जसमा राचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहितको नेताहरुले नोट अफ डिसेन्ट लेखेका थिए । अहिले सिटौला पक्षका नेताहरु विधान अनुसार तदर्थसमिति ल्याउन दबाब दिरहेको छ । जसमा संस्थापन पक्षकै पार्टी सहमहामन्त्री डा.प्रकाशरण महतले प्रेमराज जोशी र नेता बालकृष्ण खाँणले प्रकाश घिमिरेलाई संयोजक बनाउन दबाब दिइरहेका छन् ।

देउवालाई संयोजक बन्न सिटौलाको अफर

यता काँग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएको कृष्णप्रसाद सिटौला समूहले पार्टीको अन्तरिक राजनीतिबारे आइतबार ब्रिफिङ गरेको छ । सिटौलाले आफू निकटका नेता कार्यकर्ताका तथा विद्यार्थी नेतालाई आफ्नो निवासमा बोलाएर छलफल गराएका हुन् ।

उनले नेविसंघका नेताहरुलाई संगठन विस्तारका लागि देशवयापी रुपमा लाग्न निर्देशन दिएका छन् । ‘तपाईंहरू अहिले पनि निकै क्रियाशील हुनुहुन्छ । यसरी नै लाग्नुहोस् । अब देशभर गएर संगठन विस्तारमा लाग्नुहोस् । निरास नहुनुहोस्’ सिटौलाको भनाई थियो ।

सिटौलाले नेविसंघको विषयमा देउवासँग घोचपेच भएको प्रसङ्ग सुनाएका थिए । सिटौलाको भनाईलाई उधृत गर्दै स्रोतले भन्यो, ‘देउवाजीसँग नेविसंघमा तदर्थ समिति बनाउँदा के कसरी अगाडि बढ्ने भन्ने कुरा भयो । तर देउवाजीले तदर्थसमितिको संयोजक ५० माथिको ल्याउदा पनि फरक नपर्ने आशय व्यक्त गर्नूभयो । तर मैले ५० माथिको ल्याउनु छ भने आफै संयोजक बन्दा पनि भयो भनेँ ।’

सिटौला समूहले नेविसंघमा आफूहरूको नेतृत्व आउने अवस्था आएपछि सभापति देउवा महाधिवेशन गर्न डराएर तर्दथवादतिर लागेको निष्कर्ष पनि निकालेको छ ।

के भन्छन् विद्यार्थी नेताहरु ?

सिटौला निकट नेविसंघका निर्वतमान महामन्त्री कुन्दराज काफ्ले ३२ माथिको तदर्थ समिति आफूहरुलाई मान्य नहुने बताउँछन् । उनले भने,‘नेविसंघमा विधान अनुसार नेतृत्व आउनु पर्छ । आशा छ त्यही अनुसार पार्टी सभापति अगाडि बढ्नुहुन्छ । तर ३२ माथिको नेतृत्व ल्याए हामी प्रतिरोधमा उत्रिन्छौँ । नेविसंघलाई विधि र विधान अनुसार अगाडि बढाउन अर्को समिति बनाउँन बाध्य हुनेछौँ ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार