logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

साम्राज्यवाद र फासिवाद विरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुदै


  • राजनीति
  • बुधबार, भाद्र २५ २०७६

साम्राज्यवाद विरोधी, फासिवाद विरोधी संयुक्त मोर्चाको गठनका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आईसीओआरको एसियायी कोअर्डिनेशन कमिटीको हालै भारतको मुम्बईमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

विश्वब्यापी बन्दै गएको फासिवादी प्रवृत्ति तथा साम्राज्यवादका विरुद्ध सशक्त आन्दोलन उठाउनका लागि त्यसप्रकारको साम्राज्यवादविरोधी, फासिवादविरोधी संयुक्त मोर्चाको गठनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समझदारी भएको नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यो सम्मेलन र सम्मेलनद्वारा गठन हुने संयुक्त मोर्चाले अन्तर्राष्ट्रियस्तरमा नै साम्राज्यवाद र फासिवादका विरुद्ध आन्दोलन उठाउन महत्वपूर्ण योगदान दिने महामन्त्री सिंहले विश्वास व्यक्त गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ :
आईसीओआरको एसियायी कोअर्डिनेशन कमिटीको बैठक हालै भारतको मुम्बईमा सम्पन्न भएको छ । त्यसले कतिपय महत्वपूर्ण विषयहरूमा निर्णय गरेको छ । त्यसबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. प्रथम विश्व किसान सम्मेलन काठमाडौँमा भएको थियो । त्यसको दोस्रो विश्व किसान सम्मेलन २०२० को फेब्रुअरीको अन्तिम सप्ताह÷मार्चको पहिलो सप्ताहतिर बङ्गलादेशमा हुने ठेगान भएको छ । त्यसको मिति र अन्य सूचनापछि पठाइने छ । काठमाडौँमा भएको विश्व किसान सम्मेलनमा धेरै देशका प्रतिनिधिहरू आर्थिक कठिनाइका कारणले आउन सकेका थिएनन् । अहिले त्यो सम्मेलनमा बढीभन्दा बढी देशको प्रतिनिधित्व होस भन्नका लागि आर्थिक अभियान पनि सञ्चालन गर्ने ठेगान भएको छ । त्यसका लागि सबैतिरबाट सहयोगको अपील गर्दछौँ ।
२. एसियायी मजदुरहरूको विचार गोष्ठी यही सालको १८ नोभेम्बरमा मुम्बईमा हुने ठेगान भएको छ । त्यो विचारगोष्ठीका लागि औपचारिकरूपले निमन्त्रणाहरू छिट्टै पठाइने छन् । त्यो विचार गोष्ठी टीयूसीआई (ट्रेड यूनियन सेन्टर अफ इण्डिया)का तर्फबाट आयोजना हुने छ ।
३. साम्राज्यवाद विरोधी, फासिवाद विरोधी संयुक्त मोर्चाको गठनका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने ठेगान भएको छ । विश्वमा बढ्दै गएको फासिवादी प्रवृत्ति तथा साम्राज्यवादका विरुद्ध सशक्त आन्दोलन उठाउनका लागि त्यसप्रकारको साम्राज्यवादविरोधी, फासिवादविरोधी संयुक्त मोर्चाको गठनका लागि त्यसप्रकारको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समझदारी भएको छ । त्यो सम्मेलन र त्यो सम्मेलनद्वारा गठन हुने संयुक्त मोर्चाले अन्तर्राष्ट्रियस्तरमा नै साम्राज्यवाद र फासिवादका विरुद्ध आन्दोलन उठाउन महत्वपूर्ण योगदान दिनेछ भन्ने हामीले आशा गरेका छौँ ।
४. बैठकले काश्मिर र अन्य कतिपय महत्वपूर्ण विषयहरूमा प्रस्ताव पनि पारित गरेको छ । ती प्रस्तावहरू पहिले आईसीओआरमा पठाइने छ र त्यहाँबाट संसारका आईसीओआरका सबै सहभागी पार्टी वा सङ्गठनहरूलाई जारी गरिएपछि सार्वजनिक गरिने छ ।
अन्तमा बैठक अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र त्यसले एसियास्तरमा आईसीओआरको संगठन र आन्दोलनको विस्तार गर्नेबारे महत्वपूर्ण निर्णयहरू गरेको छ ।

मोहनविक्रम सिंह
महामन्त्री
२०७६ भदौ २४ गते

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार