पोखरा – पोखरामा जारी १८ औ सस्करणको आहा रारा गोल्डकपमा सशस्त्रप्रहरीको एपीएफ क्लबलाई ट्राई ब्रेकरमा ५-३ गोलको अन्तरले स्तम्भ पार्दै झापा ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
९० मिनेटको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि एक एक गोलमा खेल सकिएपछी ट्राइ ब्रेकरमा पुगेको खेलमा झापा तर्फबाट हेमन्त थापा मगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले गोल गरे। एपीएफका नवीन लामा, राजिव लोप्चन र राजु नगरकोटीले गोल गरे भने सुदिप शिख्राकारको प्रहार झापाका किपर राजकुमार लिम्बुले बचाएपछि झापा विजयी बन्यो।
खेलपछि प्रतिक्रिया दिँदै एपीएफका कोच राजेन्द्र तामाङले आफ्ना उत्कृष्ट खेलाडी लीगका हाइस्कोरर आशीष लामा नहुँदा खेलमा प्रभाव परेको बताए। ए डिभिजनको क्लबका खेलाडीले युवा खेलाडीसँगको खेलमा जसरी खेल खेल्नु पर्थ्यो त्यसरी नहुँदा हार बेहोर्नु परेको उनले सुनाए।