राजनीति
प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका एक अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली)को जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए।
ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए।
विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुन्।
झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण भए। उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन्। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।