राजनीति
मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्याली आयोजना गरेका छन् ।
तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बिच सामाजिक सद्भाव सन्देश प्रवाह गर्न यो र्याली निकालिएको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबिच भएको झडपमा परी दुई जनाको मृत्यु भएको थियो ।
त्यसैगरी सिराहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर थप एक जनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बनेको छ । उक्त घटनाहरूपश्चात् तराईका केही क्षेत्रहरूमा अझै पनि निषेधाज्ञा जारी रहेको र सामाजिक वातावरण असहज बनेको पृष्ठभूमिमा कांग्रेसका भ्रातृ संस्थाहरूले काठमाडौँमा प्रदर्शन गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका हुन् ।
र्यालीमा सहभागीहरूले समाजमा विद्यमान सबै धर्म र जातिबिच आपसी मेलमिलाप र भ्रातृत्व कायम हुनुपर्नेमा जोड दिएका छन् ।