राजनीति
काठमाडौं । लामो समय देखि विवादमा पर्दै आएको लोकसेवा आयोगको विज्ञापन विवाद अझैं साम्य भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै आज राजधानीमा प्रदर्शन गरिएको छ ।समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको ‘आरक्षण बचाऔं आन्दोलन’ ले माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।
प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दबाब दिएका छन् ।
‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका आन्दो*लनकारीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । लोकसेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ ।