राजनीति
नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।
तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।
तीजसम्बन्धी पौरणिक कथामा पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंग छ । हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई ‘हरितालिका’ व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख छ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व सोमबार भग्वान महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको भएपनि पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीहरुलाई समस्या सुनाउनु भएको थियो ।
पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय विश्वासछ ।
तिजको व्रत निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई तिजको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् ।
अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ ।भाद्र शुक्ल द्वितीयाका दिन गए राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सबै महिलालाई तीज पर्वको शुभकामना दिएका छन् । तीजका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ।