राजनीति
बेंसीसहर – थोरै भवन, साना कक्षा कोठा। कोठा अभावमा भुँइमा गुन्द्री हालेर पढ्नुपर्ने बाध्यता थियो लमजुङको विकट सिङ्दीस्थित हिमालय माध्यामिक विद्यालयका विद्यार्थीलाई। तर, आजभोली यो समस्या हटेको छ। कक्षा कोठा ठूला बनाइएका छन्। कम्युटर, विज्ञान र पुस्तकालय कक्षासमेत थपिएपछि विद्यार्थी खुसी छन्।
बेलायतका एक नागरिकले डेढ करोड बढी सहयोग गरेपछि विद्यालयको मुहार फेरिएको हो। क्व्होलासोंथर गाउँपालिका-५ सिङ्दीमा रहेको सो विद्यालयमा पहार ट्रष्ट युकेका संरक्षक डा। टिम मिचेलले डेढ करोड बढी सहयोग गरेका हुन्।
विकट गाउँको बालबालिका पढाइबाट बञ्चित हुन नपरोस् र शैक्षिक गुणस्तरका लागि सहयोग पुगोस् भनी सहयोग गरेको उनले बताए। उनले विद्यालयको भौतिक संरचनासँगै शिक्षकलाई तालिम, निजी शिक्षकको तलव तथा विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्दै आएको विद्यालयले जनाएको छ। विद्यालयलाई आवश्यकता अनुसारको थप सहयोग गर्दै जाने मिचेलले बताएका छन्।
विद्यालयका प्रधानाध्यापक शुभराज खनालका अनुसार मिचेलले २ तले विद्यालय भवन निर्माण, पुस्तकालय निर्माण, विज्ञान सामाग्री, निजी शिक्षकको तलव, विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामाग्रीलगायत सहयोग गरेका छन्।
बेलायतस्थित वेस्टवेरी अन ट्राइम सिई एकेडेमी र ब्रिटोल फ्रि स्कुलका विद्यार्थीबाट चन्दा संकलन गरी यहाँका विद्यार्थीको पठनपाठनमा सहयोग गरिएको हो। मिचेलको सहयोगले विद्यालयको शैक्षिक गुणस्तरमा सघाउ पुगेको प्रअ खनालले बताए। ‘मिचेलले विद्यालयको लागि ठूलो सहयोग गर्नुभएको छ।बालकालिकालाई आफ्नो बच्चा जस्तै गरी माया गर्नुभएको छ, उनले भने, ‘विद्यार्थीमा नियमितता छ। पढाईमा ध्यान केन्द्रित हुँदा शैक्षिक गुणस्तर पनि बढेको छ।’ रकमको हिसाबमा तुलना गर्ने हो भने टिम मिचेलले एक करोड ५० लाख रुपियाँ बराबरको सहयोग प्रअ खनालले बताए।
मिचेलले उक्त विद्यालयमा २० वर्षदेखि सहयोग गर्दै आएका छन्।अन्नपुर्ण पोश्टबाट साभार