राजनीति
पोखरा- राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले नीति तथा कार्यक्रममा ‘होली वाइन सम्मेलन गरेको कुरा छुटेको’भन्दै व्यंग गरेका छन।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार बिहान ११ बजेदेखि जारी छलफलमा भाग लिँदै भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विशेष पहल र सक्रियतामा मंसिर १४ देखि १७ गतेसम्म दक्षिण कोरियाली विवादस्पद संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलनको आयोजना गरेको थियो। उक्त सम्मेलनमा सरकारको सहभागीतालाई लिएर सरकारको आलोचना भएको थियो। उक्त सम्मेलनमा कोरियाली माताले होली वाइन वितरण गरेको विषयले झन आलोचना भएको थियो। सोही कुरालाई नीति तथा कार्यक्रमसँग जोडेर नेता भण्डारीले ओलीप्रति व्यंग गरेका हुन। उनले भने, ‘नीति तथा कार्यक्रममा लगानीका कुरा उठेका छन। लगानी सम्मेलन गरेका कुरा लेखिएका छन।
एउटा कुरा छुटेछ- होली वाइन सम्मेलन।’ भण्डारीले भने, ‘भोलि लगानी आउला कि नआउला भन्ने थाहा छैन। धर्म परिवर्तनका लागि होली वाइन इन्डस्ट्रीका नाममा धर्म परिवर्तनको लगानी आउने सम्भावना रहेको छ। हामी धर्म निरपेक्षताका कट्टर हिमायती हौँ तर होली वाइनका नाममा धर्म परिवर्तन हुन दिने छैनौँ।’ संविधान संशोधनको तेस्रो र चौथो ठूलो दल संविधान संशोधनको पक्षमा उभिएको बेलामा उक्त कुरा नीति तथा कार्यक्रममा नलेखिएकामा भण्डारीले आपत्ति जनाए। नीति तथा कार्यक्रम झुटको आधारमा उभिएको उनको धारणा थियो। उनले प्रश्न गरे, ‘न्यायालयको बारेमा पूर्वप्रधानन्यायाधीश बोलिरहेका छन। प्रधानमन्त्री कार्यालयमा सबै शक्ति राखेर कसरी शक्ति सन्तुलन गर्न खोजेको हो?’ राष्ट्रिय एकता र अखण्डाता किताबमा लेखेर नभइ अनुभूति गर्नेगरी सरकार अगाडि बढ्नुपर्ने भण्डारीको धारणा थियो।