logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

परिक्षामा त्रिविकाे चरम लापरबाही साेधिएकाे प्रश्न नै गलत


  • पत्रपत्रिका
  • आइतबार, जेष्ठ ५ २०७६

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरबाही गर्ने गरेको पाइएको छ। विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनमा समेत विधि–प्रक्रिया मिचेर व्यक्तिगत निर्णय आधिकारिक हुने गरेको पछिल्लो एक घटनाले पुष्टि गरेको छ।

त्रिविले गत पुस २९ मा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टरको क्वान्टम मेकानिक्स (आइ) फिजिक्स (५०३) विषयको पुरानो कोर्सको परीक्षा सञ्चालन गरेको थियो। ४५ पूर्णाङकको यो परीक्षामा ३५ नम्बर निर्धारित पाठ्यक्रम भन्दा बाहिरबाट प्रश्न आएको भन्दै परीक्षार्थीले हल्ला गरे।

हल्लाकै बीचमा केन्द्राध्यक्षले परीक्षार्थीबाट प्रश्नपत्र फिर्ता मागेर डीनको कार्यालयमा खबर गरे। तत्कालै डीन कार्यालयबाट सहायक डीन तेजबहादुर बिसी र विषय विज्ञको रूपमा प्राध्यापक डा.नारायण अधिकारी परीक्षा केन्द्रमा आए। पाठ्यक्रम भन्दा बाहिरबाट आएको प्रश्नपत्रबाट परीक्षा दिँदा उत्तीर्ण हुन नसक्ने बताउँदै उनीहरू आइपुग्ने बेलासम्म परीक्षा केन्द्रमा नारावाजी र होहल्ला भइरह्यो। १२ बजेबाट सुरु भएको परीक्षा होहल्लाले रोकिएपछि फेरि साढे एक बजे सुचारु गरियो। त्यतिखेर विसी र अधिकारीले परीक्षार्थीलाई परीक्षामा बस्न अनुरोध गर्दै उत्तीर्ण गराउने जिम्मा आफूहरूको भएको आश्वासन दिएको पीडित विद्यार्थीको भनाइ छ।

पाठ्यक्रम भन्दा बाहिरबाट सोधिएको प्रश्नको हल नगरे पनि आफूहरूले उत्तीर्ण गराइदिने गैरकानुनी आश्वासन जिम्मेवार पदाधिकारीले दिएको भन्दै विद्यार्थीले उक्त दिनको परीक्षा रद्द गरी अर्को परीक्षा चलाउन डीन कार्यालयलाई निवेदन दिए। एक पटक बाँडेर फिर्ता लिएकै प्रश्नपत्र फेरि डेढ घण्टापछि वितरण गरिँदा त्यसको गोपनीयताको सुरक्षामाथि पनि विद्यार्थीले प्रश्न उठाएका छन्।

त्रिविका पदाधिकारीलाई पटकपटक दबाब दिँदा पनि चासो नदिएपछि विद्याथीले भौतिकशास्त्र विभागमा तालाबन्दीलगायतका आन्दोलन गरे। सँगै विद्यार्थीले छानबिन माग गर्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी पनि दिए। सोही उजुरीको आधारमा केन्द्रबाट डीनको कार्यालयमा सत्यतथ्य जानकारी दिन अनुरोध गरी पठाएको पत्रको जवाफमा सहायक डीन विसीको हस्ताक्षरसहितको पत्रमा निर्धारित पाठ्यक्रम र पाठ्यपुस्तकबाटै प्रश्न सोधिएको उल्लेख छ। तर यो जवाफमा विद्यार्थी मानेका छैनन्। गलत जवाफ दिने विसी तथा विषय समितिका अध्यक्ष विनिल अर्याललाई समेत कारबाहीको माग गर्दै केन्द्रमा अर्को उजुरी दिए। यही बीचमा डीन कार्यालयले ती विद्यार्थीको परीक्षाफल समेत प्रकाशन गरिसकेको छ।

त्रिवि विद्यार्थी हकहित संरक्षण समितिका संयोजक आशिष पौडेलले भने, ‘परीक्षामा बसेकामध्ये अधिकांश परीक्षार्थीको अंक राम्रै छ। तर पढ्दै नपढेको प्रश्नमा विद्यार्थीले कसरी उत्तर दिए। उत्तीर्ण भए भन्ने विषयमाथि पनि छानबिन गर्नुपर्ने भएको छ।’

अकस्मात नतिजा प्रकाशन भएपछि झन् विद्यार्थी आन्दोलित भएपछि त्रिविले वैशाख १७ गते भौतिकशास्त्र विभागकै पूर्वप्रमुख प्राध्यापक डा.सीतारामप्रसाद व्याहुतको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्यो। समितिले वैशाख २३ गते शिक्षाध्यक्षलाई बुझाएको प्रतिवेदनमा प्रश्नपत्रमा सोधिएका प्रश्नमध्ये तीस अंक विद्यार्थीको पाठ्यक्रम भन्दा बाहिरबाट आएको उल्लेख छ। त्यसवाहेक दश अंक बराबरको प्रश्न भने स्पष्ट नभएको पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनलाई मान्ने हो भने १५ नम्बर भन्दा बढी प्रश्न पाठ्यक्रमबाट सोधिएको छैन। व्याहुतको संयोजकत्वमा छानबिन समिति गठन भएपछि डीन कार्यालयले प्रकाशित गरे अनुसारको नतिजाको ट्रान्सक्रिप्ट वितरण, पुनर्योगलगायत सबै काम रोकिएको छ।

त्रिवि विद्यार्थी हकहित संरक्षण समितिका संयोजक पौडेलले भने, ‘आफैंले छानबिन गरेको समितिले दोषी ठहर गर्दा पनि गल्ती काम गर्नेलाई त्रिविले कारबाही नगर्नु दुखद् हो। विश्वविद्यालयमा परीक्षा सञ्चालनमा कतिसम्म लापरवाही गरिन्छ भन्ने प्रमाण यो घटनाले देखाएको छ।’

प्रश्नपत्रबारे विवाद भएपछि परीक्षा केन्द्रमा समेत पुगेका भौतिकशास्त्र विभागका परीक्षा शाखा हेर्ने सहायक डीन तेजबहादुर विसीले यस बारे प्रतिक्रिया दिन मानेनन्। ‘यस विषयमा मैले बोल्न मिल्दैन। डीनसँग कुरा गर्नु’, विसीले भने। डीन रामप्रसाद खतिवडासँग सम्पर्क गर्न खोज्दा फोन अफ थियो।

विद्यार्थीले उक्त परीक्षा स्थगित गरी फेरि सञ्चालन गर्नुपर्ने र गलत प्रश्नपत्र निर्माण गर्ने तथा सही छ भनेर गलत सूचना राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनेलाई कानुनी कारबाही तथा परीक्षा पुनः सञ्चालन गर्न माग गरेका छन्।

त्रिविका उपकुलपति डा.तीर्थराज खनियाँले छानबिन समितिको प्रतिवेदन आफूकहाँ आएको भएपनि कार्यान्वयनका लागि शिक्षाध्यक्षको कार्यालयमै पठाएको बताए। ‘यो मुद्दामा शिक्षाध्यक्ष, विभागीय प्रमुख र डीन बसेर छलफल गर्नुपर्ने हुन्छ’, खनियाँले भने। आजको अन्नपूर्ण पाेस्ट दैनिक मा प्रकाशित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार