logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दम्पतीले ट्याक्सीमै नवजात शिशु बिर्सिएपछि..


  • एजेन्सी ह्याम्बर्ग :
  • शुक्रबार, जेष्ठ १७ २०७६

जर्मन सहर ह्याम्बर्गको एउटा हुस्सु दम्पतीले दोस्रो सन्तान पाएको खुसीयालीमा अस्पतालबाट घर फर्कंदा बिर्सेर बच्चालाई ट्याक्सीमै छोडिदिएका छन्। ह्याम्बर्ग प्रहरीले त्यो हुस्सु दम्पतीको नाम नबताए पनि उनीहरूले यो घटना सामाजिक सञ्जालमा पोस्ट गरेपछि भाइरल भएको छ।

प्रहरीले गरेको पोस्टअनुसार दोस्रो सन्तानको जन्मँदाको खुसीयालीमा बौलाहाजस्तै भएका थिए। सुत्केरी अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरू ट्याक्सी चढेर घर गए। घरछेउ ट्याक्सीबाट उत्रिए, भाडा तिरे र घरतिर लागे। तर भित्र पस्ने बेलामा केही छोडेजस्तो लाग्यो र फर्केर बोलाउन्जेल ट्याक्सी नौ दुई एघार भइसकेको थियो। त्यसपछि उनीहरू प्रहरीकहाँ गएर रिर्पोट गरे।

प्रहरी अधिकारीका अनुसार खासमा ट्याक्सीचालकले पनि आफ्नो गाडीको पछाडिको सिटमा एउटा नवजात सुतिरहेको थाहा पाएकै थिएन। उनी ती दम्पती उत्रेपछि ट्याक्सी पार्किङ गरेर लन्च गर्न गए। त्यसपछि उनी अरू यात्रु बोक्न विमानस्थल गए। त्यतिन्जेल नवजात पछाडिको सिटमा मस्त सुतिरहेको थियो, त्यसबीच प्रहरी भने ह्याम्बर्गको सडकमा बच्चाको खोजीमा भौंतारिइरहेको थियो।

ट्याक्सीचालकले विमानस्थलमा अर्को यात्रु चढाउँदा ती यात्रुले पछिल्लो सिटमा नवजात देखेर चकित परे। उनलाई लाग्यो, सायद ट्याक्सीचालकले आफूसँगै अर्को यात्रु पनि लैजाने होला। उनले गुनासो गरेलगत्तै नवजात रोएपछि मात्र चालकले दम्पतीले बच्चा ट्याक्सीमै छाडेको थाहा पाए। उनले तत्काल प्रहरीमा खबर गरे। उनलाई त्यो दम्पती बसेको प्रहरी चौकीमा जान सुझाए। उनी त्यहाँ गए र हुस्सु दम्पतीलाई नवजात जिम्मा लगाइदिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार