logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एउटै मञ्चमा मोदी–इमरान, न हात मिलाए, न नजर


  • एजेन्सी
  • शुक्रबार, जेष्ठ ३१ २०७६

एजेन्सी । किर्गिस्तानमा बिहीबार शुरु भएको शंघाई कर्पोरेशन अर्गनाइजेशन (एससीओ) समिटमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान किर्गिस्थानको राजधानी बिश्केक पुगेका छन् ।

समिटका क्रममा दुई चिरप्रतिद्वन्द्वी मुलुक भारत र पाकिस्तानका प्रधानमन्त्री आमनेसामना हुँदा पनि सामान्य कूटनीतिक व्यवहार पनि देखाएनन् । उनीहरुबीच हेराहेर पनि भएन र हाम पनि मिलाएनन् ।

खासमा डिनरका समयमा मोदी र इमरान आमनेसामने भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । डिनरका लागि दुबै नेता एकै पटक डाइनिंग हलमा प्रवेश गरेका थिए । तर, उनीहरु न हात मिलाए न नजर । मोदीका पछाडि पछाडि इमरान हिँडेका थिए । मोदी र इमरान खानले डाइनिंग हल तीन सिटको फरकमा मात्र बसेर खान खाए । तर, त्यो बेला पनि उनीहरुबीच कुनै कुराकानी भएन ।

भारतीय सञ्चार माध्यमहरुले पाकिस्तानी स्रोतको हवाला दिँदै यो समाचार प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका छन् । सम्मेलनका क्रममा मोदी र इमरानबीच कुनै भेटवार्ता नहुने जनाइएको छ । पाकिस्तानी पक्षले वार्ताका लागि पहल गरे पनि भारतीय पक्ष तयार नभएपछि यसअघि नै सो सम्मेलनका क्रममा दुई नेताहरुबीच वार्ता नहुने निश्चित भएको थियो । भारतीय विदेशमन्त्रालयले कुनै वार्ता नहुने औपचारिक जानकारी नै गराएको थियो ।

गएको फेब्रुअरी १४ मा भारत प्रशासित जम्मू कश्मीरको पुलवामा जिल्लामा भएको आतंकवादी आक्रमणमा ४४ जना भारतीय सुरक्षा कर्मी मारिएपछि भारतले त्यसको दोष पाकिस्तानमाथि थोपारेको थियो ।

पाकिस्तानले सो आरोपको खण्डन गरेको थियो । यही विषयलाई लिएर भारत र पाकिस्तानबीच हवाई आक्रमणसमेत भएको थियो । दुबै देश युद्धका लागि अन्तिम तयारीमा जुटे जस्तो वातावरण बनेको थियो । तर, अन्तर्राष्ट्रिय समूदायको दबाबपछि दुई आणविक हतियार सम्पन्न मुलुकबीचको सम्भावित युद्ध टरेको थियो । तर, उनीहरुबीच अझै शत्रुतापूर्ण सम्बन्ध भने कायम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार