logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको ब्यास १४ का ३९१ घरधुरीमा धारा जडान


  • राजनीति
  • सोमबार, असार १६ २०७६

पोखरा – तनहुँको ब्यास नगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४७५ देखि चालु आवको हालसम्म ती धारा जडान गरिएको हो ।

एक घर एक धारा अभियान अन्तर्गत योजना प्राथामिकतामा राखेर प्रत्येक घर घरमा पानीको धारा जडान गरिएको सो वडा कार्यालयले जनाएको छ । वडाको रुम्सीमा ११३, ठिन नयाँ गाउँकोटमा ७१, मास्दीमा ४५, सुडेमा ४६, हर्कपुरमा ३८, छाब्दी कैजलेमा ३६, बेलभञ्ज्याङमा २२ र राशि भञ्ज्याङमा २० वटा धारा जडान गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

गत आवमा आठ लाख र चालु आवमा ७२ लाख गरी ८० लाखको लागतमा उक्त धारा जडान गरिएको हो । “अब ७६ घरधुरीमा धारा जडान गर्न बाँकी छ”, वडाध्यक्ष श्रेष्ठले भने । आउँदो आर्थिक वर्षमा सम्पन्न गर्ने गरी आँपटोलका ४० घरका लागि रु दश लाख र नयाँ गाउँ हुस्लाङका ३६ घरपरिवारका लागि २० लाख विनियोजन गरिएको छ ।

बस्ती भन्दा तल पानीको मुहान रहेकोले लिफ्ट प्रणालीबाट पानी तानेर ट्याङ्कीमा जम्मा गरी घरघरमा पानी वितरण गरिएको छ । उक्त क्षेत्रमा ब्रिटिस वेलफेयरले प्रदान गर्दै आएको खानेपानीको मुहान २०७२ को भूकम्पले दबेपछि करीब दुई सय देखि चार सय मिटर उचाइसम्म पानी लिफ्टीङ गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

दुई घरपरिवारका लागि अलग अलग मुहानबाट पानी ल्याएर वितरण गरिएको छ । भौगोलिक विकटताका कारण बस्ती पनि छरपष्ट रहेकोले घर घरमा पानी पुर्याउन कठिनाइ भोग्नु परेको वडाध्यक्ष श्रेष्ठको तीतो अनुभव रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार