राजनीति
साउन महिना लाग्न नपाउँदै धेरैजसो महिलाहरु हरियो पोशाक, हरियो चुरा र मेहंन्दी लगाउन सुरु गर्दछन् । अन्य समयमा यस्ता सामाग्रीहरु लगाउन खासै महत्व नदिनेहरु पनि साउन महिनामा भने विषेश महत्वका साथ हरियो चुरा, मेहन्दी तथा पहिरन लगाउन चासो देखाउने गरेको देखिन्छ । यस महिनामा हरियो वस्त्र वर्षहरुमा बढ्दै जान थालेको हो।
त्यसैले पनि महिलाहरु हरियो चुरा, मेहंदी तथा हरिया वस्त्र किन लगाइएको भन्ने विषयमा फरक फरक तरिकाले विश्लेषण गर्दछन् । कोहि पतिको दीर्घायुसँग जोड्ने गर्दछन् भने कोहि सन्तानको सुखद भविष्य सँगपनि यसलाई जोड्ने गर्दछन् ।
पौराणिक कथा अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिना भरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिइन्छ ।
श्रावण महिनामा भगवान् शिवको पूजा गरी ॐ नमः शिवायः को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । अराध्यदेव महादेव खुसी हुने, सदा कृपा बनाईराख्ने र परिवारको कल्याण हुने विश्वास रहेको छ ।
त्यसैले श्रावणको सोमबारलाई विषेश बारका रुपमा लिइन्छ । श्रावणको सोमबार नेपालको लाखौं तीर्थयात्रु भारतको बैद्यनाथ धार्मिक स्थलमा भ्रमणका लागी जाने गरेका छन् । त्यस्तै विभिन्न मन्दिरहरुमा शिवका भक्तहरु बोलबम जाने प्रचलन पनि छ ।
श्रावण महिनामा शिवको आराधना, पुजा, ब्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागी पुग्ने गरेका छन् । पछिल्लो समयमा भने श्रावण महिनाको मुख्य रौनक अर्थात् आकर्षण नै हरियो चुरा तथा सोमबारे ब्रत नै हो ।
श्रावण महिनाको सोमबारको ब्रत बसे अविवाहिताले राम्रो वर पाउँछन् भन्ने जनविश्वास पनि उत्तिकै पाइन्छ र विवाहिताहरुमा श्रीमान् श्रीमतिबिचको सम्बन्ध सुमधुर बनाउन यसले सहयोग गर्दछ भन्नेहरु पनि उत्तिकै छन् ।
केहि दशक अगाडीसम्म भने श्रावण महिनामा ब्रत बस्ने, हरियो चुरा तथा मेहंदी लगाउने चलन नभएको वृद्धाहरुको दाबी छ । अहिले पनि कत्तिपय ग्रामीण भेगका महिलाहरुले श्रावण महिनालाई खासै महत्वका साथ लिने गरेको पाइँदैन तर शहरी भगेहरुमा भने यो क्रम दिनप्रतिदिन बढ्दो छ ।
वातावरणीय दृष्टिकोणले पनि श्रावण महिना बढि पानी पर्ने र सबैतिर हरियाली छाउने महिना हो । हरियो रङ्गलाई आनन्द र वातावरणको प्रतिकको रुपमा लिइन्छ भने हरियो चुरालाई हिन्दु नारीहरुको सौभाग्य र हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा लिइन्छ ।
मेहेन्दीलाई नारीको सौन्दर्यको साधनका रुपमा लिइन्छ । मेहेन्दी लगाएपछि हात सुन्दर देखिएकोले पनि महिलाहरु मेहेन्दी लगाउनतर्फ बढि आकर्षित भएका हुन् । यो महिनाभरि कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी लगाउने र हरियो तथा पहेँलो चुरा लगाउनेहरुको घुइँचो लाग्ने गरेको छ ।
पछिल्लो समयमा नेपालका विभिन्न परम्परागत संस्कृतिहरु लोप हुँदै जान थालेका छन् तर श्रावणमा लगाउने हरियो चुरा, मेहन्दी तथा हरिया वस्त्रहरु लगाउने कार्य परम्परागत संस्कृति नभएपनि महिलाहरुले विषेश महत्वका साथ मनाउने गरेका छन् ।
वा यसले विस्तारै परम्परा र सँस्कृतिकोरुप ग्रहण गर्दै गैरहेको छ । धार्मिक संस्कृति भन्दा पनि देखासिकी र फेशनको रुपमा मौलाउँदै गएको छ श्रावण महिनामा हरियो चुरा, मेहन्दी, र हरिया वस्त्र लगाउने प्रचलन । विवाहिता महिलाहरु मात्रै होइनन्, अविवाहित स्त्रीहरुदेखी बालीका तथा वृद्धाहरुले समेत हरियो चुरा र मिहेन्दी लगाएको देखिन्छ ।
धेरैजसो महिलाहरुलाई भने आफुले लगाएको हरियो चुरा तथा मेहंन्दीको महत्वका विषयमा समेत जानकारी छ्रैन । हुन त नारी र चुराको सम्बन्ध परापूर्वकालदेखि चलेको हो ।