logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लाेकसेवामा कसरी लेख्ने ? हेर्नुस बिज्ञका महत्त्वपूर्ण सुझाव


  • चक्रबहादुर बुढा सहसचिव
  • शनिबार, साउन १८ २०७६

लोकसेवा आयोगको प्रश्नमा परीक्षार्थीले गर्ने अक्सर गल्ती के–के हुन् ?

परीक्षामा परीक्षार्थीले सर्वप्रथम त प्रश्न नै बुझेका हुँदैनन् । प्रश्नले मागेको के हो सो कुरा नबुझी लेखेको पाइन्छ । प्रश्नले मागेको उत्तर एउटा हुन्छ, तर परीक्षार्थीले मागेको कुराभन्दा पनि आफूले जानेको बढी लेखेको पाइन्छ । परीक्षार्थी परीक्षा हलमा गएपछि हतार गर्छन् जसले गर्दा उनीहरूले प्रश्न नै राम्ररी पढ्दैनन् र बुझ्दैनन् । प्रश्नले मागेको भन्दा आफूले जानेको कुरा धेरै लेख्ने र आफूले राम्रो गरेँ भन्ठान्छन् ।

लोकसेवामा आउने प्रश्नको पार्ट–पार्ट हुन्छ । जसमा पक्ष विपक्षमा छलफल गर्नुस् वा गुण–दोष दिनुहोस् भनेको हुन्छ, जसअनुसार कुन पार्टले कति वेट लिन्छ भनेर परीक्षार्थीले जान्न सक्दैनन् । त्यसैले, कम अंकभार भएको ठाउँमा धेरै समय दिन्छन् र धेरै अंकभार भएको ठाउँमा कम समय दिन्छन् । यसो हुँदा परीक्षार्थीले समय व्यवस्थापनमा ख्याल नगरेको पाइन्छ । कति अंकको प्रश्नलाई कति समय दिने यसबारे समयलाई व्यवस्थापन गर्न नसकेको पाइन्छ । जसले गर्दा परीक्षार्थीले प्रश्न नै छाड्नुपर्ने हुन्छ । जब समय सकिन लाग्छ तब चाहिँ हतार गरेर प्रश्नको उत्तर आधा–आधा लेखेको पाइन्छ ।

बढी अंक ल्याउन परीक्षार्थीले के–के कुरामा ध्यान पुर्‍याउनुपर्ला ?

बढी अंक प्राप्त गर्नका लागि परीक्षार्थीले प्रस्टसँग प्रश्नले कुन–कुन कुरालाई केन्द्रित गरेको छ, त्यो कुरा बुझ्न जरुरी हुन्छ । त्यसपछि जुन प्रश्नमा जति फोकस गरेको छ, त्यसलाई ध्यान दिएर त्यति नै फोकस गरेर लेख्नुपर्छ । उत्तर लेख्दा जानकारी र डाटाले उत्तरलाई समेटेर पुष्टि गर्नुपर्छ । उत्तर लेख्दै जाँदा उदाहरण र तर्क दिएर प्रश्नले मागेको कुरालाई पुष्टि गर्न सक्नुपर्छ । भाषा पनि सरल र मिठासपूर्ण हुनुपर्छ । उत्तर लेख्दा छोटो वाक्य, ठीक्कको अनुच्छेद र शुद्ध लेख्ने गर्नुपर्छ । लेख्दा अक्षरको सन्तुलन मिलाएर लेख्नुपर्छ । त्यसका साथसाथै तर्क, डाटा र उदाहरणले प्रश्नलाई पुष्टि गर्नुपर्छ ।

जाँचकीले कस्तो उत्तरको अपेक्षा गर्छन् ?

परीक्षार्थीबाट जाँचकीले लामो उत्तरभन्दा पनि सटिक उत्तरको अपेक्षा राख्दछन् । जाँचकीले परीक्षार्थीको उत्तरमा विषयवस्तुको स्पष्ट प्रस्तुति खोजेको हुन्छ । उत्तर छोटो वाक्य र राम्रो अक्षर, विषयवस्तुको सान्दर्भिक प्रस्तुति, सिलसिलेबार रूपमा बगेको र शुद्ध हुनुपर्छ । र, त्यसपछि विषयवस्तुले मागेको यथेष्ट जवाफ हुनुपर्छ ।

ह्यान्डराइटिङले अंकमा प्रभाव पार्छ कि पार्दैन ?

परीक्षार्थीले पाउने अंकमा ह्यान्डराइटिङले फरक पार्छ । जस्तै कसैले सफा चिटिक्क लेखेको हुन्छ र कसैले फोहोर लेखेको हुन्छ । लेखेको उत्तर नबुझ्ने, अंग्रेजीमा लेख्दा स्पेलिङ मिस्टेक र नेपाली अक्षर पनि बिगारेर तलमाथि पारेको छ भने यस्तो अवस्थामा अंकमा धेरै प्रभाव पार्छ । वाक्यको संगति, विभक्ति मिलेको हुनुपर्छ र सिलसिलाबद्ध रूपमा आएको हुनुपर्छ ।

सफल हुन कस्तो अध्ययन विधि अपनाउनुपर्छ ?

सबैभन्दा पहिले विषयवस्तु बुझ्न जरुरी छ । कुन किताबमा के लेखेको छ ? कुन विद्वान्ले के लेखेको छ भन्दा पनि सबै पढेर आफैँले बुझ्न जरुरी छ । आफूले बुझेर आफ्नो बुझाइलाई स्पष्ट पार्नुपर्छ । त्यसपछि पढ्दै गर्दा एकअर्काे विषयलाई तुलना गरेर पढ्नुपर्छ । पढेका कुराहरूलाई असल पक्ष र खराब पक्षलाई विश्लेषण गर्दै बुझ्ने तरिकाले पढ्नुपर्छ ।

पढेका कुरालाई सरल भाषामा बुझ्ने र प्रश्नलाई तर्क, उदाहरण दिएर प्रस्तुत गर्ने । घोकेर लामो–लामो वाक्य, अंग्रेजी र चित्र मिलाएर हाल्ने तर उत्तर नबुुझिने हुनुहुँदैन ।आफूले पढेको कुरालाई सरल भाषामा बुझ्न सक्ने र लेख्न सकेमा परीक्षामा धेरै सहज हुन्छ । परीक्षार्थीहरू अर्काको शैली चोर्न खोज्छन् । पढ्दा अरूबाट सुझाब लिने हो, तर अर्काको शैली चोरेर लोकसेवाको परीक्षामा परीक्षार्थी पास हुन सक्दैन । त्यसैले, परीक्षामा लेख्दा अर्काको सुझाबलाई जस्ताको तस्तै लेख्नुभन्दा पनि आफ्नो शैलीलाई परिष्कृत पार्नुप¥यो र अरूको सुझाबलाई लिएर फरक ढंगले लेख्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार