योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेपछि पुनः एकपटक चर्चामा छन् । तर, उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ ।यो समाचार एलिजा उप्रेतीले रातोपाटीमा लेखेका छन। हामीले त्यसैबाट साभार गरेका छौ।
मन्त्री बनेपछि आफ्नो कार्यक्षेत्रमा सुधारको सकारात्मक प्रयासको थालनी गरे पनि छोटो समयमा नै उनी आधा दर्जनभन्दा बढी विवादमा मुछिएका छन् ।
विवाद नं। १ : बुद्ध एयर डिले
नेपालगञ्जबाट काठमाडौ फर्कन लागेको बुद्ध एयर ‘१५ मिनेट’ जहाज ढिलो गरेको विषय अहिले विवादित छ । यद्यपि, उनले आफ्नै कारण १५ मिनेट जहाज उडान डिले भएको भन्दै सामाजिक सञ्जालमार्फत् माफीसमेत मागिसकेका छन् । तर समयको पालना सबैले गर्नुपर्ने भन्दै सर्वसाधारणहरुले अभिव्यक्ति दिइरहेका छन् ।
विवाद नं। २ : हवाई जहाजको भाडामा ७० वर्ष पुगेकालाई ५० प्रतिशत छुट
उनले ७० वर्ष नाघेका बृद्धबृद्धालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने बताएपछि वायुसेवा सञ्चालक संघले विज्ञप्ति नै निकालेर यसको खण्डन गर्यो । भदौ ९ गते उनले आफ्नो एक वर्षे कार्ययोजना सुनाउँदै गर्दा हवाईभाडामा ५० प्रतिशत छुटको विषय निकालेका थिए । सर्वसाधारण र बृद्धबृद्धाले यस कदमलाई सकारात्मक भने पनि मन्त्री भट्टराईले सरोकार निकायसँग छलफल बिना र नीतिगत निर्णय नै नगरी उक्त कार्ययोजना प्रस्तुत गरेको प्रष्ट भयो । यहाँ पनि मन्त्री भट्टराई अपरिपक्व देखिए ।
विवाद नं। ३।: पशुपतिमा आरती अघि राष्ट्रिय गान
गत भदौ १३ गते पशुपतिनाथमा आरती गर्नुअघि राष्ट्रिय गान बजाउन दिएको निर्देशन पनि विवाद मुक्त बन्न सकेन । यस विषयले संसदमा समेत प्रवेश पायो । यसले सनातन हिन्दु धर्ममाथिको प्रहार भन्दै संस्कृतिविदहरुले यसको आलोचना गरे । उनको यो कदमलाई बुद्धिजिवीहरुले पनि ‘उग्रराष्ट्रवाद’ को संज्ञा दिए । यो निर्देशनलाई पनि पशुपतिनाथ मन्दिरमै पनि ‘भद्र अवज्ञा’ गरिएको छ । विभिन्न ठाउँमा राष्ट्रगान बजाउने निर्णय छिमेकी मुलुक भारतमा समेत यसअघि नै विवादमा परिसकेको विषय थियो । मन्त्री भट्टराईले त्यहीँबाट पनि पाठ सिक्न सकेनन् ।
विवाद नं। ४ : भ्रमण वर्ष २०२० को उद्घाटनमा डोनाल्ट ट्रम्प वा मोदी ल्याउने
मन्त्री भट्टराईले भ्रमण वर्ष उद्घाटनमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ल्याउने घोषणा गरेका थिए । नेपालको आमन्त्रणमा उद्घाटनमा मोदीलाई ल्याउनेसम्मको विषय सम्भव पनि छ । तर, ट्रम्पको विषयमा भने मन्त्री भट्टराईले बहकिएर बोलेको भन्दै आलोचना भयो ।
विवाद नं ५ : पर्यटन व्यवसायीलाई टुँडिखेलमा सपथ खुवाउने
भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराइले २० हजार पर्यटन व्यवसायीलाई टुँडिखेलमा राखेर सपथ खुवाउने भनेर दिएको अभिव्यक्ति पनि विवादमा तानियो । पर्यटक आउने वातावरण बनाउनुको साटो पर्यटन व्यवसायीलाई सपथ खुवाउनु फण्डा मात्र भएको टिप्पणी भयो ।
विवाद नं। ६ : निजगढ बिमानस्थलको शिलान्यास गर्न १० लाख सर्वसाधारण उतार्ने
साउन २३ गते बुटवल पुगेर निजगढ अन्र्तराष्ट्रिय बिमानस्थलको उद्घाटन गर्न १० लाख सर्वसाधारण उतार्ने भन्दै दिएको अभिव्यक्तिले निकै चर्चा पायो । मन्त्री भट्टराई विमानस्थलको निर्माण काम जे सुकै भएपनि आफैले शिलान्यासमात्र गरेर भएपनि चर्चा लिन खोजेको आरोप लाग्यो ।
नेपाल भ्रमण वर्ष २०२० को नजिकिदो छ । मन्त्री भट्टराईको सबैभन्दा ठूलो चुनौति भनेकै त्यसलाई सफल बनाउन नेपालमा पर्यटकीय वातावरण बनाउनु रहेको छ । यद्यपि, भट्टराईसँग अझै पनि काम गरेर देखाउने समय बाँकी नै छ । मन्त्री भट्टराईसँग केही सकारात्मक परिवर्तन गर्ने हुटहुटी पनि देखिएको छ तर कार्यसम्पादनमा भने उनी अपरिपक्व देखिएका छन् ।