logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दलाल सत्ताको बासी डकारले नेकपालाइ छुदैन : ओम प्रकाश पुन

लडाइँ घोषणा नगर्दै आधा लडाइँ जितिसकेका छौं


  • अखिल बिश्वकर्मा
  • मंगलबार, भाद्र ३१ २०७६

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी वर्तमान राजनीतिक बृतमा दैनिक बहस र छलफल हुने पार्टी र एजेन्डा बनेको छ । नेकपाको बारेमा विभिन्न खाले टिका टिप्पणी र अड्कलबाजी चलिरहेको नै छ । मुलुकको राजनीतिक परिदृश्यमा नेकपाले कतै वार्ताको कुरा कतै थप कडा संघर्षको तयारी गर्दै गरेको बिस्लेषण भैरहेको छ । यो शन्दर्भमा नेकपाले के गर्दै छ र कस्तो तयारीमा छ भन्ने बारेमा नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली केन्द्रीय नेता ओम प्रकाश पुन सग राजनीति डट कम का लागी अखिल बिश्वकर्माले लिएको ताजा अन्तर्वार्ता ।

१. तपाइको पार्टी नेकपा वार्ता गर्छ की युद्धको न्यानो तयारी ?

➡️ हामी न वार्ता न युद्ध काे तयारीमा छाै । हामी त निरन्तर क्रान्तिकाे प्रक्रियामा छाै । केपी ओलिकाे सामाजिक फाँसिवादी सरकारले थाेपरेकाे अन्यायपूर्ण युद्धको प्रतिरोध गरिरहेका छाै । वार्ताको हल्ला वाहियात हाे ।

२. सोम प्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग तपाईंको भेट संवाद भएको खबर थ्यो नी ?

➡️ हाम्रो कसैसँग पनि भेटघाट भएको छैन । अहिले साेम प्रसाद पाण्डेको नेतृत्वमा वार्ता टाेली नै छैन । सरकारका तर्फबाट आएकाे बजार हल्लाकाे कुरा हाे । दमनबाट असफल र अलाेकपृय हुदै गएपछि वार्ताको हल्ला गर्ने र जनताबाट सहानुभूति बटुल्ने अनि हामीलाई वार्तामा अाएनन् भन्ने अफावह फैलाउने र दमन गर्ने चालवाजी अन्तरगत चलाईएकाे हल्ला हाे त्याे । अाकाशमा चील अायाे भनेर भुइँमा चल्ला खाने स्यालकाे चाल हाे याे सरकारको ।

३. वास्तवमा वार्ताका लागि एजेन्डा के हुन् ? के सर्तमा वार्ता गर्ने ? जनताले बुझ्ने गरि भनिदिनुस न ?

➡️ पहिलो कुरा त अहिले वार्ताको प्रसंग नै छैन । दाेश्राे कुरा यदि वार्ताको सवाल उठ्यो भनेपनि पहिले राज्यको तर्फबाट एजेन्डा अाउनु पर्छ । तेस्रो कुरा वार्ता अहिले काे माैजाद राज्य ब्यवस्थाकाे परिधिभित्र रहेर हाम्रो वार्ता हुदैन र त्यो संभव छैन । चाैथाे कुरा यदि वार्तामा वस्ने अवस्था अाएमा हामीले देशको समग्र परिवर्तन गर्ने जसभित्र अार्थिक, राजनीतिक, साँस्कृतिक , राष्ट्रियता र जनजिविका का यावत सवालहरु पर्दछन् लाई प्राथमिकतामा राख्ने छाै । मुल उद्देश्य हाम्रो क्रान्ति भएकोले वार्ता त्यसै अन्तरगत हुनेछ । तर त्यसको लागि राज्यले हामी माथिको कथित प्रतिबन्ध फुकुवा गर्नु पर्छ र बन्दी साथीहरूलाई बिनासर्त रिहाइ गर्नु पर्छ । अनि वार्ताको वातावरण बन्छ ।

“अहिलेकाे संकट कुनै पार्टी वा अमुक नेताको कारण आएकाे भन्दा पनि दलाल पुजीवादी राज्य प्रणालीको कारण आएकाे हाे । यसलाई बदलेर बैज्ञानिक समाजवाद आयाे भने याे सबै हल हुन्छ ।”

४. नेकपाको एकीकृत जनक्रान्तीको संघर्षको स्वरूप के हो ?

➡️ याे बहुआयामिक क्रान्तिकाेे माेडेल हाे । याे राजनीतिक संघर्ष र बर्ग संघर्षको एकीकृत रुप हाे । यसमा किसान, मजदुर, बुद्धिजीवी, जाती जनजाति, लिङ्ग, बर्ग, देशभक्त शक्ति, गाउँ , शहर सबैलाई जाेडेर लिने कुरा छ । यसमा सेना, प्रहरी र कर्मचारीलाई पनि सामेल गर्ने कुरा छ । किनकि क्रान्ति सबैलाई चाहिएको छ र याे हाम्रो पार्टीको मात्रै बिषय हैन । क्रान्ति देश र जनताको बिषय हाे । हाम्रो पार्टी त त्यसको पहल र उत्प्रेरक कर्ता मात्रै हाे । क्रान्ति गर्ने त जनताले हाे । अहिलेकाे संकट कुनै पार्टी वा अमुक नेताको कारण आएकाे भन्दा पनि दलाल पुजीवादी राज्य प्रणालीको कारण आएकाे हाे । यसलाई बदलेर बैज्ञानिक समाजवाद आयाे भने याे सबै हल हुन्छ । त्यसकारण हामीले यसैका बिरुद्ध संघर्ष गरिरहेका छाै । हामीले युद्ध हैन क्रान्ति गर्ने हाे तर जनताको क्रान्तिलाई दलाल सत्ताले बन्दुक मार्फत राेक्न खाेजे युद्ध पनि हुन्छ र हामी त्यसक‌ै तयारीमा छाै ।

५. तपाइहरुको कुरा सुन्दा सेना प्रहरी सग नभिडेर नै क्रान्ति सम्पन्न हुन्छ भन्ने खालको अर्थ बुझिन्छ त्यो कसरी संभावना देख्नुहुन्छ ?

➡️ हाे हामीले जे भनेका छाै त्यो सत्य हाे । सेना र प्रहरी पनि उत्पिडित र श्रमिक भित्रै पर्छन् र हाम्रो क्रान्ति काे लक्ष्य तिनलाई मुक्त गर्ने हाे । जसले गर्दा हामी माथि दमन भैरहेको छ तर हामीले सेना र प्रहरी माथि फायर खाेलेका छैनौं । लडाइँ अनिवार्य कुरा हाे तर लडाइँ लड्दा थाेरै लडेर धेरै जित्नु कुशल निति हाे । लडेर सबैले जित्छ तर नलडेरै अाधा लडाइँ जित्नु सहि सैन्य रणनीति हुन्छ । हामीले अहिले घाेषित लडाइँ लडेका छैनाै तर अाधा लडाइँ नैतिक रुपले जितेका छाै । त्यसकारण हाम्रो सेना प्रहरी संग लडाइँ नै हुदैन त्यस्तो हैन, उनिहरुले हामीलाई मार्दै अघि बढेभने हामीले पनि फायर खाेल्छाै तर हाम्रो कुरा केछ भने सेना प्रहरी पनि उत्पिडित र श्रमिक जनताका छाेराछाेरी भएकोले दलालहरुकाे सुरक्षा गर्न आफ्नै मुक्तिको निम्ति लडेका क्रान्तिकारी जनतासँग नलड भन्ने हाे । हाम्रो लडाइँ दलाल सत्ताका अपराधी र तिनका सञ्चालक संग भएकोले प्रहरी सेनासंग नलड्ने बरु एकता गर्ने भनेका छाै । याे कुरा नबुझेर एकहाेराे दमनमा अाए हामी घाेषणा गरेर नै लड्ने छाै । अहिले हाम्रो निति सुदृढ हुने प्रतिरोध गर्ने मात्रै छ ।

६. एनसेल बाहेक अन्य एजेन्डामा खास संघर्ष देखिएन बेला नभएको की एजेन्डा नभएको ?

➡️ अन्य भ्रष्टाचारका क्षेत्रमा पनि संघर्ष चलिरहेको छ । एनसेल साम्राज्यवादी दलाल पुजि भएकोले मिडियामा बढी अाएकाे हाे । अन्य सवालमा भए गरेका संघर्षको मिडिया करण नभएको मात्रै हाे । थुप्रै भएका छन् ।

७. नेता कार्यकर्ताले छोड्ने क्रम बाक्लिएको देखिन्छ , त्यसमा पनि बिभिन्न तहका नेताहरुको वरिपरि रहेकैले बढी छोडेका छन यसले के राम्रो संकेत गर्छ ?

➡️ क्रान्तिमा आउने जाने क्रम चलिरहन्छ । याे स्वभाविक नै हाे । एउटा सफल पक्ष केछ भने हामीबाट बाहिरिने वा आत्मसमर्पण गर्ने कसैले पनि याे पार्टीको निति र नेतृत्व गलत छ भनेर भनेका छैनन् । शारीरिक कारण नसकेर वा डर मानेर त हामी बाट गएका छन् तर बिचार गलत भनेर गएका छैनन् । बरु संसदवादीहरुले बिदेशी डलर पचाउन आत्मसमर्पण गराउने र पार्टी प्रवेशको कथित कला बिहिन नाटक गरिरहेका छन् , जसले उनिहरु आफैलाई गिज्याइरहेकाे छ । २०५२ सालमा जनयुद्ध सुरु भएपछि एमाले र काङ्ग्रेसले यस्तै नाटक गरेका थिए जाे अहिले केपी प्रचण्डहरुले गरिरहेका छन् । यश खाले बासी डकारले हाम्रो पार्टीलाई कुनै नाेक्सानी गर्दैन बरु सुद्धिकरण र सुदृढीकरण नै गर्छ ।

“हामीबाट बाहिरिने वा आत्मसमर्पण गर्ने कसैले पनि याे पार्टीको निति र नेतृत्व गलत छ भनेर भनेका छैनन् । शारीरिक कारण नसकेर वा डर मानेर त हामी बाट गएका छन् तर बिचार गलत भनेर गएका छैनन् । बरु संसदवादीहरुले बिदेशी डलर पचाउन आत्मसमर्पण गराउने र पार्टी प्रवेशको कथित कला बिहिन नाटक गरिरहेका छन्।”

८. पार्टी भन्दा पनि जवस मोर्चाका नेता कार्यकर्ता बढी भागदौड र लुक्ने छिप्ने चलेको छ यसले संघर्ष उठ्ने देखिन्छ ?

➡️ क्रान्तिमा यस्तो भागदाैड चल्नु स्वभाविक नै हाे र याे पनि क्रान्तिकाे नियम भित्रै पर्छ । स्वभाविक रुपमा माेर्चा र जनवर्गीय संगठनका नेता कार्यकर्तामा बैचारिक राजनीतिक दृढता र स्पष्टता पनि पार्टी नेता कार्यकर्ताकाे भन्दा केही कम्जोर नै हुन्छ । अर्को तर्फ खुुला संगठन र माेर्चामा काम गर्दा शहरिया जीवन शैली र खुला कार्यशैली का कारण चुनाैती हुने

अर्को तर्फ खुुला संगठन र माेर्चामा काम गर्दा शहरिया जीवन शैली र खुला कार्यशैली का कारण चुनाैती हुने पनि भैहाल्याे ।त्यसले पनि जवसमा काम गर्ने साथीहरूलाई केही समस्या परेको हाेला । तर फेरि दलाल सरकारको फाँसिवादी दमनका वावजुत पनि साथीहरु जसरी टिकेका छन् , त्यो नै ठुलो उपलब्धि हाे । अब खुला र शहरिया संघर्ष पार्टीले चलाउदै छ, यसले याे समस्यालाई हल गर्नेछ।

९. तपाइको पार्टीभित्र आर्थिक जिम्मेवारी पाएका वा आर्थिक हैसियत बनाएकाको अलिक बोलवाला छ भन्छन नी ?

➡️ याे कुरा सहि हाेईन किनकि हामीले पार्टीमा महासचिव देखि सामान्य सदस्य सम्म खर्च प्रणालीलाई निश्चित गरेका छाै । अनाधिकृत निजी सम्पत्ति कमाउने र पार्टीको नाममा आर्थिक अबचलन गर्ने जाेसुकैलाई पनि कार्वाही काे दायरामा ल्याउने कडा निति पार्टीले लिएको छ । अझ त्यसमा पनि पार्टीका केन्द्रीय नेताहरुले निजी सम्पत्ति कमाउन नपाउने निति तय गरिएको छ । हरेक कमिटीमा केन्द्रबाट आर्थिक अडिट गर्ने प्रणाली चलाईएकाे छ । त्यसकारण हाम्रो पार्टीमा आर्थिक हैसियत भएका वा पहुँच भएकाको बाेलावाला छ भन्ने सत्य हैन । कहि त्यस्तो भएको छ भने कार्वाही काे बिषय बन्छ ।

१०. नेकपा एजेन्डा र कार्यक्रम प्रति जनतामा आशा देखिन्छ तर कार्यशैलीले बिश्वास नगरेको जस्तो लाग्दैन ?

➡️ एकदम सहि कुरा गर्नु भयो । हाम्रो पार्टीको राजनीति एजेन्डा र पार्टीको मुल नेतृत्व प्रति जनताले बिस्वास गरि सक्यो र हाम्रो नेतृत्वलाई एक हिसाबले राष्ट्र र जनताले स्विकार गरिसक्यो । तर हाम्रो धेरै ठाउँको स्थानीय नेतृत्व र कार्यशैली प्रति जनताले प्रश्न गरेकाे छ । त्यसैले हामीले के भनेका छाै भने कार्यदिशा अनुरुपको हाम्रो कार्यशैली , कार्यदिशा अनुरुपको संगठन , कार्यदिशा अनुरुपको संघर्ष , कार्यदिशा अनुरुपको कार्यक्रम हामीले दिन सक्नुु पर्छ र त्यसमा हाम्रो चुनाैती । त्यसैलाई हल गर्न अहिले केन्द्रबाट सुद्धिकरण र सुदृढीकरण काे निति पार्टीले अघि सारेको छ । यसले अब जनताले भर गर्ने र दलालहरुले डर मान्ने पार्टी बन्नमा मद्दत गर्ने छ ।

“दलाल संसदीय पुजिवादकाे असफलता भनेकाे उहीँ वा उस्तै सारकाे अर्को दलाल ब्यवस्था आउने भन्ने हुदैन । यसको बिकल्प भनेको अब नेपालमा बैज्ञानिक समाजवाद नै हाे ।”

११. अन्त्यमा केहि थप्नु छ की

➡️ अन्तमा तपाईंको मिडिया मार्फत देश अहिले गम्भीर संकट र महान संभावनाकाे बिचमा गुज्रिएको छ । याे संकट भनेको प्रतिक्रियावादी सत्ताको संकट हाे । यसलाई हल क्रान्ति मार्फत मात्रै गर्न सकिन्छ । जनताकाे निराशालाई यथास्थितिवादी र प्रतिगामी तत्वहरुले आफ्नाे वर्ग स्वार्थ पूरा गर्ने दाउपेचकाे रुपमा लिदै छन् । अर्थात उनिहरुले धमिलो पानीमा माछा मार्ने दुस्साहस गर्दैछन् । यसमा काेहि पनि राष्ट्रवादी र क्रान्तिकारी जनता भ्रममा पर्नु हुदैन । दलाल संसदीय पुजिवादकाे असफलता भनेकाे उहीँ वा उस्तै सारकाे अर्को दलाल ब्यवस्था आउने भन्ने हुदैन । यसको बिकल्प भनेको अब नेपालमा बैज्ञानिक समाजवाद नै हाे । राणा शासन असफलताको बिकल्प बहुदल वा पञ्चायत भयो । पञ्चायत असफलताको बिकल्प राजतन्त्रात्मक संसदीय ब्यवस्था आयाे । त्यसको असफलता पछि दलाल पुजीवादी गणतन्त्र आएकाे हाे र अब यसको असफलताले नेपाललाई पछाडि फर्काउने हैन कि बरु शान्ति , समृद्धि , स्वाधीनता र सामाजिक न्याय सहितको बिकास हुनेे बैज्ञानिक समाजवादी ब्यवस्था तर्फ अगाडि बढाउने छ । हाम्रो पार्टी त्यसकै निम्ति बलिदान गर्न अग्रसर भएको छ । यसमा सबकाे साथ र सहयोग रहाेस भन्न चाहन्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार