हाम्रो मुलुकमा कम्युनिस्ट हु भन्ने धेरै नै भेटिन्छन् । अहिले सडक देखी सत्ता सम्म नै कम्युनिस्ट छन । तर दुर्भाग्य कतिपय नेताहरुले समेत नेपालमा कम्युनिस्ट पार्टीको स्थापना मिति र ब्यक्ति बाहेक कमैले जान्दछन ।
पहिलाे पटक नेपाल मा कम्युनिस्ट पार्टी स्थापना गर्दा राणाहरुकाे चर्काे शासन थियाे तर यसका बिरुद्ध मा पुष्पलाल ले सस्थापन गरेकाे नेपाल कम्युनिस्ट पार्टी काे पहिलाे पर्चा कस्ताे थियाे भन्ने जिज्ञासा बारे आज हामी उक्त पहिलाे पर्चा प्रस्तुत गर्दैछाै । कसरी नेपाली मजदुर श्रमजीवी तथा आधारभुत बर्गले उक्त अपिललाइ आत्मसात गर्न सके यसकाे प्रभावकारीतापनि त्यत्तिकै रहेकाे पाइन्छ त्यसैले नेकपाको पहिलो पर्चा लाइ यहा प्रस्तुत गरिएको छ ।
हेर्नुस् यस्ताे छ नेकपाकाे पहिलाे पर्चा
नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता–
अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ †
‘एकातिर नागरिक अधिकार लिई छोड्छौं’ भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कातिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरुमा राणा सरकारले घोषणा ग¥यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानुन, नियमावली जारी भयो । यो घोषणा हाम्रा ती वीर सहिदहरूको स्मृतिमा ठूलो अपमानको कुरा हो, जसले आफ्ना दाजुभाइ, दिदी–बहिनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा सङ्गठन गर्ने स्वतन्त्रता पाउनेछन् भनी हासीहासी दुश्मनको गोली छातीमा थापेका थिए, हासीहासीको तख्तामा झुलेका थिए । फेरि यो घोषणा नेपालका ती सपूतहरूका निम्ति ठूलो अपमानको कुरा हो, जो सभा–सङ्गठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन् । साथै, यो घोषणा हामी हजारौं नरनारीका निम्ति एउटा हाक हो, चुनौती हो, जसले राणाशाहीको अगाडि घुडा टेक्नुभन्दा अनेक किसिमको यातना सहनु, देश निकाला हुनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौं । अतयव हामी प्रत्येक नेपाली नरनारीले यस घोषणापत्रलाई लत्याई ‘कोतपर्व’ होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उल्टाउनेछौं भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नुपर्दछ ।
राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यसै घोषणाबाट छर्लङ्ग हुन्छ । घोषणामा भनिएको छ, ‘राणाशाहीको हुकुम प्रमाङ्गीबिना कुनै किसिमको सभा सङ्गठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छ । राणाशाहीका कर्मचारीहरूले (नोकरशाहहरूले) जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्नेछन्, चाहे त्यो सभा भरखरै सुरु भएको होस् अथवा आधा लम्किसकेको होस् ।’
राणाशाहीको स्वीकृतिबिना क्लब, मजदुर सभा (टे«ड युनियन), किसान सभा इत्यादि कुनै किसिमको सङ्गठन पनि खोल्ने अधिकार यस घोषणापत्रले अस्वीकार गरेको छ । यसकारण यस घोषणापत्रको वास्तविक मतलव राणा समर्थकहरूले राणाशाहीका कुकर्महरूको समर्थन गरी पर्दा राखी जनताको विरोधमा खडा हुने, सङ्गठित हुने र खोल्ने अधिकार पनि पाएका छन् ।
हुदाहुदा यस घोषणापत्रले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन । यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ । औषधिमुलोको पसल, सङ्घ संस्था इत्यादि खोल्नलाई पनि नानावलीका शर्तहरू यस घोषणापत्रले राखेको छ । राणाशाहीको चीले–आखा यस्ताहरूबाट पनि ओझल भएको छैन । यस्तो तिनको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न सुन्न मुश्किल छ ।
राणाहरूलाई भने यिनीहरूको मालिक तथा प्रभु आंग्ल–अमेरिकन साम्राज्यवादीहरूलाई जति पटक चाहियो उतिपटक भेट्ने स्वतन्त्रता छ । नेपाली जनतालाई संयुक्त तरिकाले शोषण गर्नका निम्ति भारतीय धन–कुवेर टाटा, बिडला, सिहानिया, गोयन्का, चमरियाहरूलाई राणाहरू इच्छामुताविक भेट्न सक्छन् । करोडौं भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नका निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरूलाई भारत पठाउनका निम्ति राणाहरू नेहरूलाई भेट्न सक्छन् । तर, हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरीहरूलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोर बजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन । हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने, सङ्गठित हुने अधिकार पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमतिबिना नै नेपाललाई विश्वयुद्धको बिउ छर्ने अमेरिकन साम्राज्यवादीहरूको र नेहरू आविष्कृत नवसाम्राज्यवादीहरूको हातमा सोभियत युनियन, नवप्रजातन्त्रहरू, आजाद, चीन र समस्त एसियाको स्वतन्त्रता आन्दोलनको विरुद्ध एउटा फौजी अखडा कायम गर्नका निम्ति नेपाललाई बेचेको छ ।