पोखरा- अन्तर्राष्ट्रिय फुटबलबाट महिला राष्ट्रिय फुटबल टोलीका कप्तान निरु थापा र मनमाया लिम्बु सन्यास घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगतै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् ।
निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, उनको इच्छा भने पुरा हुन सकेन ।
सागको फाइनलमा पराजित भएसँगै हरि खड्काले पनि टोलीको मुख्य प्रशिक्षकबाट राजिनामाको घोषणा गरेका थिए । सागका अहिले सम्मका तीन पटककै फाइनलमा नेपाल भारतसँग नै पराजित भएको थियो ।