धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सु’साइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सु’साइड नोट फेला परेको पुष्टि गरे ।
घरबाट फेला परेको सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका छन् । विनय स्थानीय सरकारी स्कुलमा अध्यापन गराउँथे ।
बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले ।
काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हेलिएका हुन् ।
नदीमा हाम्फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ ।
त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित आदमघाटस्थित ससुराली जान भनेर काठमाडौँबाट २ बजे हिँडेपनि गोरखाको घ्याल्चोक पुगेका थिए ।
घ्याल्चोक पुगेर बाटोमा ससुराली घर जाने भन्दै उनीहरु गाडी गुड्ने पक्की पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।
