logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसिसि संसदले पास गरे घातक : नेता रावल


  • राजनीति
  • बिहिबार, माघ ९ २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाले आज जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताए । उनले भने, “एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ ।”

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ । उनले भने, “डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिन्छ ।”

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमको पर्यटन विकासका लागि प्रदेश मन्त्रालय सदैव अग्रसर रहेको बताए । उनले भने, “सुदूरपश्चिममा रहेका कला, संस्कृति, विभिन्न पर्यटन तथा धार्मिकस्थलको विकास र प्रचारप्रसारका लागि प्रदेश मन्त्रालय लागिपरेको छ, हामीसँग अथाह पर्यटन क्षेत्र छन्, सबैले त्यसको प्रचार गर्न जरुरी छ ।”

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले डोटीको पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढिरहेको बताए । उनले भने, “हामी पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खटिएका छौँ, यहाँका पर्यटकीय क्षेत्रको बारेमा देश विदेशमा चिनाउने छौँ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार