बेलिना थापा – लमजुङको उच्च क्षेत्रका पहाड तथा केही वस्तीमा हिउँ परेको छ । शनिबार सााँझ मस्र्याङदी गाउँपालिकाको सिउरुङ, घनपोखरा, भिरपुस्तुनको माथिल्लो क्षेत्र, क्व्होलासोंथर गाउँपालिकाको घलेगाउँ, भुजुङको माथिल्लो क्षेत्र, दोर्दी गाउँपालिकाको बराहपोखरी क्षेत्रमा हिउँ परको हो ।
स्थानीयका अनुसार सिउरुङमा वस्ती ढाकिने गरी हिउँ परेको थियो । अन्य ठाउँमा मानव वस्ती तथा वरपर केहीछिन हिउँ परेको थियो । हिउँ परेको ठाउँमा पर्यटक हिउँ खेलेर रमाएका थिए । स्थानीय पनि हिउँ खेल्ने गरेका थिए । सिउरुङमा यसबर्ष पहिलो पटक हिउँ परेको स्थानीयले बताएका छन् । पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङका अनुसार साँझ ५ बजेबाट गाउँमा हिउँ परेको थियो । हिउँले गाउँ पुरै ढाकिएको उहाँले बताउनुभयो । अत्याधिक चिसाका कारण छरछिमेकमा जान सकेका थिएनन् । घरबाट निस्कन मुस्किल परेको उहाँले बताउनुभयो । करिव ५ इन्च जति हिउँ जमेको थियो ।
पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले शनिबार ५ बजेतिर केही समय गाउँमा हिउँ परेको तर, हावाले उडाएको बताउनुभयो । घनपोखराका जितबहादुर गुरुङले गाउँमा केही समय हिउँ परेको बताउनुभयो । उहाँका अनुसार माथिल्लो क्षेत्रमा हिउँ परेको थियो । हिउँ परेसंगै गाउँमा चिसो बढेको स्थानीयले बताएका छन् ।
बेंसीसहर नगरपालिका १० साधुमा हिउँ परेर गाउँ ढाकिएको स्थानीयले बताएका छन् । खाँचे गाउँमा हिउँ परेको स्थानीय सोम तामाङले बताउनुभयो ।
रेडियो चौतारी स्रोत