राजनीति
पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितका लागि राष्ट्रिय एकता भएको बताएका छन। जहाँ भए पनि राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने पनि उनले बताए।
प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै देउवाले कालापानी पूर्वको भूमि नेपालको भएकोमा कुनै शंका नभएको भन्दै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र कूटनीतिक प्रयासबाट फिर्ता ल्याउनेमा प्रमुख प्रतिपक्षी दलले समर्थन गर्ने र साथ दिने प्रतिबद्धता जनाए ।
देउवाले भने, ‘सुगौली सन्धि १८१६ अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि स्पष्ट छ र चिनियाँ नक्सामा पनि कुटियाङ्दी भन्ने उल्लेख छ । त्यसको अर्थ काली नदी भन्ने हुन्छ । काली नदी पूर्वको भाग नेपालको हो भन्ने स्पष्ट छ र दुईमत छैन।’
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारको संशोधन विधेयको समर्थन गर्ने निर्णय गरेको पनि पूर्वप्रधानमन्त्री देउवाले जानकारी दिए ।