logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मनसुन देशभर सक्रिय ,आवश्यक सतर्कता अपनाउन आग्रह


  • रासस
  • आइतबार, असार ७ २०७७

कास्की -केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो।

महाशाखाले आगामी २४ घण्टा देशको धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ।

ती क्षेत्रहरुमा नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा पश्चिमी वायुको प्रभाव र अन्य भू–भागमा मनसुनी वायुको असर रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार