अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुण्डी कारोवारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा प्रहरी सहायक निरीक्षकसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ, प्रहरी हवल्दार विष्णु दयाल चौधरी र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राजकुमार गरुङसँग मिलेर हुण्डी कारोबारीले ल्याएको २० लाखबाट सात लाख घुस लिएको आयोगको अनुसन्धानबाट खुलेको छ।
आयोगले प्रसनी तामाङ, प्रहरी हवल्दार चौधरी, जवान राय र गुरुङविरुद्ध सात लाख बिगो माग दाबी गरेको छ। बयानका क्रममा प्रसनी तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार ठहर गर्दै कावासोती नगरपालिका–५ बस्ने सोनाम तामाङविरुद्ध पनि आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।