logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नाकामा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण


  • राजनीति
  • शुक्रबार, साउन ९ २०७७

झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि अन्य थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएको थियो।

४८ जनामध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए। संक्रमण पुष्टि भएका उनीहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत छन्। संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी सीमा नाकासँगै क्वारेन्टाइनमा खटिएका थिए।

संक्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठ गाउँ स्थित कोभिड अस्पतालमा पठाइएको फोकल पर्सन चौलागाईले बताए। त्यसैगरी जिल्लामा शुक्रवार २५ जना संक्रमित थपिएका हुन्।

१८ जना सशस्त्रसहित बाह्रदशी गाउँपालिकामा तीन, झापा गाउँपालिका तीन र बिर्तामोड नगरपालिकाका एक जनामा संक्रमित थपिएका हुन्। स्थानीय तहमा थपिएका संक्रमित भारत लगायत तेस्रो मुलुकबाट आएका हुन्। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३४५ पुगेको छ। त्यसमध्ये २९८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार