राजनीति
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा फुटे पुष्पकमल दाहाल प्रचण्ड समुहसंग पार्टी एकता गर्न तयार रहेको बताएका छन् ।
जसपाको वरीयता एक नम्बरमा रहेका संघीय परिषद् अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । प्रचण्ड र बाबुराम जनयुद्धका सहयात्री हुन् । भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ औ प्रधानमन्त्री हुन्। भट्टराईलाई पार्टीको उपाध्यक्ष र प्रधानमन्त्री प्रचण्डले बनाएका हुन् । तर, बैचारिक मतभिन्नता भएको भन्दै भट्टराई संविधान जारी भएपनि नयाँ शक्ति अभियानमा जुटेका थिए ।
उनीहरु फेरि मिलनको खोजीमा छन् । त्यो मिलन बिन्दु नेकपा फुट हुन सक्ने कतिपय नेताहरु बताउँछन् । नेकपाका शीर्ष नेताहरू लिखित रूपमै आपसमा पोल खोलाखोल गर्न थालेपछि नेकपाकै कतिपय नेताहरू अब पार्टी एकता अघि बढ्न नसक्ने निचोडमा पुगेका छन् ।
केन्द्रीय सदस्य विशाल भट्टराई शीर्ष नेताहरूको ध्याउन्न सत्ताकै वरिपरि भएकाले पार्टी गम्भीर संकटमा परेको टिप्पणी गर्छन् ।
‘पार्टी र सरकारको सत्ता कसले लिने भन्ने विवाद चुलिएर अहिले एकता नै संकटमा पर्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओलीको सफलतालाई आफ्नो असफलता देख्ने पार्टीका सिनियर कमरेडहरूकै कारण समस्या आएको हो ।’
भट्टराईले ओलीले लेखेको पत्रको जवाफी पत्रका रूपमा आएको दाहालको ‘आरोपपत्र’ फिर्ता नभए पार्टी फुट्न कुनै बेर नै नलाग्ने बताए ।
प्रचण्डलाई ईश्वरको धम्की : प्रस्ताव फिर्ता लिनेकी दुर्भाग्य भोग्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर उपप्रधानमन्त्री पोखरेलले प्रश्न गरे ।
शनिबार सामाजिक संजाल फेसबुकमार्फत पोखरेलले प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू भदौ २६ गतेको स्थायी कमिटीको निर्णय र पार्टी एकताको भावना विरूद्ध रहेको बताए ।
सहमतिका साथअघि बढ्नुपर्ने, पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “कि तँ छैनस् कि म छैन”, भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको उनको भनाइ छ ।
प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर प्रचण्ड कमरेडसहित नेकपा सबैले यसको छिनोफानो गर्नुपर्ने पोखलेरको जिकिर छ ।