राजनीति
पछिल्लो समय चरम बिवादको भुमरीमा फसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले वारपारको संकेत देखिन्छ ।
नेकपा भित्र जबजब संकट आइपर्छ, तबतब संकटमोचनका लागि दुई नारीको सक्रियता बढ्न थाल्छ । आफु विवादित बनेरै भए पनि तिनै दुई नारीले नेकपाभित्रको संकट पटक पटक टार्दै आएका छन् ।
पछिल्लो पटक पनि उनै दुई नारीका कारण नेकपाको संकट पर धकेलिएको छ । पदीय मर्यादा नाघेरै भए पनि उनीहरुको सक्रियताले नेकपाभित्रको विवाद बारम्बार सल्टिँदै आएको छ, यद्यपि विवादको दीर्घकालीन समाधान निस्कन बाँकी नै छ ।
पदीय मर्यादा र दायित्वको कुरा गर्ने हो भने दुवैले सक्रिय राजनीतिमा कुनै प्रकारको भूमिका निर्वाह गर्न पटक्कै मिल्दैन । अर्थात्, उनीहरुको पद र मर्यादाले कुनैपनि राजनीतक गतिविधिमा प्रत्यक्ष संलग्न हुन छुट दिएको छैन । तर, उनीहरुकै पहलका कारण नेकपालाई दुर्घटनाको जोखिमबाट बारम्बार जोगाउँदै आएको प्रस्टै देखिन्छ ।
नेकपालाई दुर्घटनाबाट जोगाउन भूमिका खेल्दै आएका ती दुई नारी अरु कोही नभएर राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी हुन् ।
राष्ट्रपति पदमा निर्वाचित हुनु अघि भण्डारी तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष थिइन् । संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्ने दायित्वका साथ शीतल निवासको चौघेरामा सीमित भए पनि उनले नेकपाभित्रको विवादलाई बारम्बार शीतल निवासमा प्रवेश गराएकी छन् । अर्थात्, जबजब नेकपाभित्र विवाद हुन्छ र पार्टीको एकता संकटमा पर्न थाल्छ, उनले पार्टीका प्रमुख नेतालाई शीतल निवासमै बोलाएर छलफल गर्ने र आवश्यक निर्देशन दिने गरेको पाइन्छ ।
चिनियाँ राजदूत यान्छीले पनि नेकपाभित्र संकट देखिनासाथ कुटनीतिक मर्यादालाई समेत उपेक्षा गरी नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने र विवाद सुल्झाउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गरेको पाइन्छ । नेपालको राजनीतिमा यसअघि चिनियाँ दूतावासको सक्रियता यतिविघ्न देखिएको थिएन जति यान्छीको कार्यकालमा देखिएको छ ।
दृष्टान्तका लागि धेरै पछि फर्कनै पर्दैन । पछिल्लो मंगलबार र बुधबार यी दुई नारीको सक्रियताको लेखाजोखा गर्ने हो भने धेरै कुरा छर्लङ्ग हुन्छ । कार्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पेज लामो प्रस्ताव पेश गरेपछि त्यसमा चर्को असन्तुष्टि जनाउने प्रधानमन्त्री केपी ओली र उनको पक्ष ‘बरु नेकपा फुटोस्, त्यो प्रस्ताव फिर्ता नभएसम्म बैठक त के, संवाद नै हुनसक्दैन’ भनिरहेको थियो ।
अर्थात् सचिवालय बैठकको मिति नजिकिदै गर्दा पार्टीभित्रको त्यो विवादले उत्कर्षका सिँढी उक्लदै थियो र विभाजनको डिलमै पार्टी पुगेको थियो । मंसिर ३ गतेलाई राखिएको सचिवालय बैठक बस्नुपर्छ र बस्नुपर्दैन भन्नेहरुको रस्साकस्सी चुलिदै जाँदा मंसिर २ गते अचानक राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई भेटका लागि निम्ता गरिन् । मंसिर २ गते साँझ राष्ट्रपति भण्डारी र प्रचण्डबीच दुई घण्टाभन्दा बढी कुराकानी भयो । त्यसक्रममा राष्ट्रपतिले नेकपाभित्रको विवादबारे चासो राख्दै पार्टी नफुटाउन र दुवै अध्यक्षलाई मिलेर जान सुझाव दिइन् । उक्त भेटमा प्रचण्डले राष्ट्रपतिको सुझाव सुनेरमात्रै फर्किएको श्रोतहरुको दावी थियो । प्रचण्ड शीतल निवासबाट बाहिरिएको एक घण्टा नबित्दै राष्ट्रपति भण्डारीले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीतल निवास बोलाइन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पनि झण्डै २ घण्टा नै कुराकानी भयो । उनीहरुबीच के–के सम्वाद भयो भन्ने नखुले पनि नेकपाभित्रकै किचलोका बारेमा कुराकानी भएको प्रस्टै बुझ्न सकिन्थ्यो ।
ओली शीतल निवास पुग्नु अघि अर्की नारी अर्थात् नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले डेढ घण्टा बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सम्वाद गरेकी थिइन् । त्यसअघि उनले अन्य नेताहरुसँग समेत कुराकानी गरे पनि नेताहरुले त्यसलाई गोप्य नै राखेका छन् । बुधबार बिहानसम्म पनि सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले सचिवालय बैठकको केही घण्टाअघि मात्रै मन्त्रिपरिषद् बैठक सारेर सचिवालय बैठकमा सहभागी हुनुलाई तिनै दुई महिलाको भूमिकाले काम गरेको धेरैको बुझाइ छ ।
दुई महिलाको सक्रियता पहिले पनि
त्यसो त यी दुई महिलाको सक्रियता यस पटकमात्रै देखिएको होइन । यसअघि गत वैशाखमा पनि फुटको संघारमा पुगेको नेकपालाई यिनै दुई महिलाको सक्रियताले जोगाएको थियो, जतिबेला प्रधानमन्त्री ओलीले दुई विवादास्पद अध्यादेश ल्याएका थिए ।
पार्टीमा सल्लाह नै नगरी अचानक दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाका नेताहरुले सचिवालय बैठकमै ओलीको राजीनामा मागेका थिए । वैशाख १७ गतेको बैठकमा नेताहरुले ओलीको राजीनामा मागेपछि १८ र १९ गते राजदुत यान्छी र राष्ट्रपति भण्डारीले नेकपाका नेताहरुलाई भेटेका थिए । त्यसबेला नेकपाका नेताहरुबीच बहुमत संख्या कसले पु¥याउने भनेर हस्ताक्षर अभियान नै चलेको थियो ।
तर, फुटन लागेको नेकपा अन्ततः राजदुत यान्छी र राष्ट्रपति भण्डारीको पहलमा त्यतिबेला पनि जोगिएको थियो ।
ओलीको काउन्टडाउन सुरु
पार्टीभित्रको आन्तरिक किचलोको चेपुवामा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मागेको १० दिनको समय बिहीबारबाट काउन्टडाउन सुरु भएको छ ।
अबको नौ दिनमा उनले तयार पार्ने प्रस्ताव र बैठकमा हुने छलफलका आधारमा नेकपाको आगामी यात्रा तय हुनेछ ।
यो १० दिनको समय अर्थात् नेताहरुकै भनाइमा (कुलिग पिरियड) मा ओलीले प्रचण्डसहितका ५ जना सचिवालय सदस्यको तर्फबाट पेश भएको प्रस्तावको जवाफ तयार पार्न खर्चिने छन् । प्रचण्डसहितका नेताहरु भने ओलीको प्रस्ताव कस्तो आउला भन्ने पखाईमा बस्नुको विकल्प नरहेको बताउँछन् ।
त्यसो त उनले बुधबारको सचिवालय बैठकमा राखेको धम्कीपूर्ण अभिव्यक्तिबाट पनि नेकपाको एकतालाई बलियो बनाउने भन्दा पनि फुटतर्फ नै उन्मुख गराएको प्रस्टै बुझ्न सकिन्छ । यद्यपि १३ गते अघि नै नेकपाभित्रको राजनीति यसै हुन्छ भन्न सक्ने अवस्था छैन । यसबीचमा ती दुई नारीको भूमिका कस्तो रहन्छ भन्ने विषयले पनि नेकपाभित्रको विवादको भविष्य निर्धारण गर्ने जानकारहरु बताउँछन् ।