राजनीति
सत्तासीन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रुपमा ‘हेग’मा पुर्याउने विचारसहित प्रस्तावलाई अन्तिम रुप दिएका छन्।
प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको र ओलीसँग असन्तुष्ट अन्य चारजना केन्द्रीय सचिवालय सदस्यहरुले समेत स्वामित्व लिएको प्रस्तावमा ओलीलाई भ्रष्टाचारलगायत गम्भीर आरोप लगाइएको थियो।
त्यसको प्रतिउत्तरमा ओलीलगायत उनी पक्षधरका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले बुधबार मध्यरातमा अन्तिम रुप दिएको ४० पाने प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको छ ।
यस्ता छन् ओलीले प्रचण्ड लाई लगाएका आरोप !
प्रचण्डले आफ्नो प्रस्तावमा ओलीबाट प्रदेशसँग सम्बन्धित विधेयकहरु बनाउँदा होस् वा कर्मचारी र आर्थिक विन्यास गर्दा होस् संघीयता विरोधी विचार प्रकट भएको आरोप लगाएका थिए।
कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्रै भएको व्याख्या गरेर ओलीले आफूलाई संघीय र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना विपरीत रहेको तथ्य प्रमाणित गरिरहेको आरोप लगाएका छन्।
ओलीले आफ्नो प्रस्तावमा प्रचण्डलाई ‘त्यतिबेला संविधान, शासकीय स्वरुप र संघीयताबारे तपाई के भन्नुहुन्थ्योरु के मान्यता राख्नुहुन्थ्योरु सबै हेक्का छरु’ भन्दै प्रश्न गरेको प्रस्ताव लेखनमा सहभागी अर्का एक नेता बताउँछन्।
शान्ति प्रक्रियामा किन बदमासी गरेको
ओलीले शान्ति प्रक्रियाका बेलासमेत प्रचण्डले बदमासी गरेको र पहिलो पल्ट उनी प्रधानमन्त्री हुँदा अनावश्यक रुपले राज्यको संवेदनशील संयन्त्रमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। यसबाट ओलीले प्रचण्डद्वारा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवालको बर्खास्ती प्रकरण कोट्याउन पुगेका हुन्।
ओलीले भनेका छन्, ‘निर्वाचन सफलताको उन्मादमा कहिले गिरिजाप्रसाद कोइराला त कहिले माधवकुमार नेपाललाई किन च्यापेकोरु उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनेट अघि मात्रै, संसदीय दलको कार्यालयमा तत्कालीन एमाले महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन नगर्ने किन भनेकोरु कसको इसारामा त्यो दाउपेच भयो ?
मेरो नेतृत्वको सरकार सात महिनामै किन ढाल्न खोजेको ?
ओलीले अघिल्लो पटक आफूले नेतृत्व गरेको सरकारको बाधक प्रचण्ड नै भएको प्रस्तावमा उल्लेख गरेका छन्। उनले नाकाबन्दी जस्तो प्रतिकूल अवस्थामा रााष्ट्रिय हितमा युगान्तकारी काम गरेको आफ्नो सरकार प्रचण्डले ढाल्न खोजेको आरोप लगाएका हुन्।
संविधान निर्माणको सहमति किन भंग गरेको
ओलीले प्रचण्डलाई संविधान निर्माणका लागि २०६९ जेठ २ गते गरिएको सहमति भंग गरेको आरोप पनि लगाएका छन्। यस्तै दोस्रो संविधानसभा निर्वाचनको हार स्वीकार्न नसकेर ‘फेस सेभिङ’का लागि छानविन समिति बनाएको भुलेको हो भन्दै प्रश्न गरेका छन्।
योसँगै ओलीले संविधानप्रति प्रचण्डले देखाएको निष्ठा सही नभएको आरोपसमेत लगाएका छन्। तर हाल पनि प्रचण्डलाई विभिन्न बहानामा संविधान संशोधन गर्न मन लागिरहेको पनि निष्कर्ष निकालिएको छ।
छोरीका लागि मतपत्र च्यात्ने काम किन गरेको ?
गत निर्वाचनमा नैतिकताविहीन तरिकाले चितवनमा कांग्रेससँग मिलेर आफ्नो छोरीलाई मेयरमा जिताउन मतपत्र च्यातेको आरोप ओलीले प्रचण्डलाई लगाएका छन्। र, एकतापूर्व आफ्नै पार्टी माओवादी भागीदार रहेको कांग्रेसलाई थाहा नदिई एमालेसँग एकता सहमति गरेको सिलसिलेवार आरोप पनि ओलीले प्रचण्डलाई लगाएका छन्।
तपाईँले प्रधानमन्त्रीमा त्याग गरेको हो या लेनदेन मात्र
प्रचण्डले यसअघि कयौँ सार्वजनिक भाषणमा भन्दै आएका थिए, ‘मलाई प्रधानमन्त्री हुने अवसर थियो। तर मैले पार्टी एकताका लागि त्यो अवसरमा त्याग गरेको हो । ओलीले त्यसको प्रतिउत्तरमा प्रचण्डले प्रधानमन्त्रीमा त्याग नगरेको बताएका छन्।
‘त्यो बेला लेनदेन भएको थियो। तपाईँलाई प्रधानमन्त्री बन्ने मौका प्राप्त भएको होइन। स्मरण गर्नुहोस्,’ उनले प्रस्तावमा भनेका छन्, ‘१६ सिट भएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले सबैभन्दा ठूलो पार्टीलाई बाहिर राखेर सरकार बनाउन गलत हुने अडान लिएपछि मात्रै घटनाक्रमले सहज मोड लिएको हो ।
‘चुनाव चिह्नको सहमति २४ घण्टा नबित्दै किन तोडेको
ओलीले २०७४ साल असोज १७ गते आफूहरु दुबै चुनावी गठबन्धन र पार्टी एकताको सहमतिमा पुग्नु राजनीतिक तस्बीर बदल्ने दूरगामी घटना भएको तर एउटै चुनाव चिह्न सूर्यमा लड्ने भन्दै गरेको सहमति प्रचण्डले २४ घण्टा नबित्दै तोडेको आरोप पनि लगाएका छन्।
म पनि कार्यकारी अध्यक्ष होइन र ?
प्रचण्डले ओलीबाट पटक–पटक आफ्नो कार्यकारी अधिकार खोसिएको दाबी गर्दै आएका थिए । त्यसबाट आफू अपमानित भएको उनको निष्कर्ष छ। उनले आफ्नो प्रस्तावमा भनेका छन्,‘ एकातिर तपाईँ कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउनु पर्यो भन्नुहुन्छ।
अर्कोतिर एक नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ। यसलाई हलो अड्काउने र गोरु चुट्ने बाहेक अरु के हो ? तर ओलीले आफूहरु दुबै अध्यक्ष कार्यकारी भएको जवाफ दिएका छन् ।
म भ्रष्टाचारी भएको पुष्ट गर्न सक्नुहुन्छ
ओलीले आफू भ्रष्टाचार विरोधी भएको, प्रचण्डले नै भ्रष्टाचार गर्न खोजेको आरोप प्रस्तावमा लगाएका छन् । यो आरोपसँगै आफू भ्रष्टाचारी भनी कसैले लगाएको आरोप इतिहासको इजलासमा दर्ता नहुने दाबी पनि ओलीले गरेका छन्। प्रचण्डले आफ्नो प्रस्तावमा भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिशनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला नचालेको आरोप ओलीलाई लगाएका थिए।
ओलीले जनतासँग जनाएको प्रतिवद्धता अनुसार सुशासन दिन नसकेको प्रचण्डको आरोप थियो। प्रचण्डले प्रस्तावमा सोधेका थिए, ‘भ्रष्टाचारका अनेकौँ प्रकरण भए। यस्ता प्रकरणहरुमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्देष वा दोषी भए नभएको निर्क्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरु निर्दोष रहेको घोषणा गर्नुभयो ?